२ जेष्ठ २०८२, शुक्रबार

 

युरो, डलर, पौण्ड र जिन्दगी

दीपेन्द्र केसी बेल्जियम

दुई वर्ष पुग्न आँटिसक्यो
युरोपको शिकारी जङगल पसेको ।

गिँलासभरि पीडा भरेर
पिइरहन्छ हर क्षण……..
……..र फेरि पिइरहन्छ
वान्ताले याद नछोपिञ्जेल
पल्टिन्छ बिस्तारामा
जगजीत सिंहका गजल
र नारायणगोपालका
सेण्टीमेण्ट अन गरेर ।

आँखा जोरेको क्षण
हाँस्दै आउँछे कान्छी छोरी अँगालोमा
काखैमा आउँछ छोरो
र प्रेयसी……
अनि सिङ्गो गाउँघर
बर्बराउँछ एक क्षण
एउटा अत्यासलाग्दो ऐँठनसँगै ।

बरर पीडा पोखिन्छ आँखाबाट
भेल बग्दो हो उता
राहत होइन
सान्तवनाका शब्द पनि पठाउन सकेको छैन
दुई वर्ष पुग्नै आँटिसक्यो
डलरको शिकारी जङगल पसेको ।

चार वर्ष पुग्नै आँटिसक्यो
पौण्डको शिकारी जङगल पसेको
एउटा पात पनि टिप्न सकेको छैन
जीन्दगीको टपरी गाँस्न ।
कति सिन्काहरु भाँचिइसके होलान् उता
टपारी गाँस्ने आकाङ्क्षामा
तिमीले दलिनमा सिउरिएका ।

व्यथाले लखेटेको भनँु कि ?
चितुवाले खेदेको भनँु?
झम्टिएको झम्टियै छ
लखेटिएको छु
खेदिएको छु
शिकारी आफैँ
शिकार भएर ।

एकै सास बिसाउन पाए सायद
पश्चात्तापको चौतारामा
निदाएर एक क्षण माफी माग्थेँ आफैँसँग
निवेदन हाल्थेँ वापसीको
अनि ,
सही गरिदिन्थेँ कायलनामामा
सपना देखेको अपराध स्वीकार गरेर
एवंरीतले घोषणा गरिदिन्थेँ
मलाई सपना देख्ने अधिकार छैन भनेर
र,
पठाइदिने थिएँ सन्देश
नढाँटी छोरा…..
नढाटी छोरी….
यसपालि साँच्चै म आउँदै छु
त्यतैतिर सालको पात खोजेर
सँगै टपरी गाँस्न् जिन्दगीको
किन कि अब त
डलर र युरोको शिकारी
जङगल पसेको दश वर्षै पुग्न आँटिसक्यो ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung