२९ बैशाख २०८२, सोमबार

 

यसरी सम्भव भयो मदन पुरस्कारमा ह्याट्रिक

नेपाली कला, साहित्य, लोकसंस्कृतिमा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको योगदान अतुलनीय छ । देशको सबैभन्दा सम्मानित मदन पुरस्कार तीनपटकसम्म प्राप्त गर्ने एक मात्र व्यक्ति हुन्, जोशी । उनका १० वटा प्रबन्ध तथा अनुसन्धानात्मक कृति, पाँचवटा नाटक, दुईवटा काव्य, पाँचवटा कथासंग्रह तथा नेवारी भाषाका समेत गरी ५० भन्दा बढी कृति प्रकाशित छन् । ९८ वर्षीय जोशीको पछिल्लो समय ‘नेपाली कलाको विकासक्रम’ कृति प्रकाशित भएको छ । नयाँ पत्रिकाका कृष्ण कट्टेलसँग जोशीले तीनपटकसम्म मदन पुरस्कार दिलाउने कृति लेख्दाको क्षण र पृष्ठभूमि बताएका छन् :

यसरी जन्मियो ‘हाम्रो लोकसंसकृति’
२००० सालमा म सरकारी जागिरे भएँ । जागिरमा लागेको एक वर्षपछिदेखि नै गाउँघरमा गएर त्यहाँको भौगोलिक स्वरूप, मानिसको आर्थिक र सामाजिक जीवन, घरेलु उद्योगको सम्भावना, ग्रामीण परिवेशमा पाइने नगदेबालीको अवस्थाबारे बुझ्ने र औद्योगिक सर्वेक्षण गर्ने अवसर मिल्यो । त्यसवेला म तनहुँ र लमजुङमा खटिएको थिएँ । दिनभरि काम गरेर बेलुकीपख गाउँघर डुल्न निस्किन्थेँ । बिदाको दिन गाउँघरमा हुने जात्रा र उत्सवमा पनि सरिक हुन्थेँ । मैले गाउँघरको परिवेश र संस्कृतिलाई नजिकबाट अवलोकन गर्न पाएँ ।

००१ सालतिर गाउँको परिस्थिति केही फरक थियो । दोस्रो विश्वयुद्ध चलिरहेको वेला थियो, त्यो । नेपाली दाजुभाइ पनि विश्वयुद्ध लड्न गएका थिए । कतिपय भिसी तक्माको आशले, कतिपय पैसा कमाउने लोभले र कतिपय बहादुरी देखाउन विश्वयुद्धमा गएका थिए । खासगरी पश्चिमतिरको मगर र गुरुङ गाउँतिर भारतको गोरखपुरबाट दलालहरू आउँथे । ब्रिटिसहरूले भारतमा शासन गरिरहेका थिए । भारत स्वतन्त्र नभएकाले ब्रिटिस इन्डियाको तर्फबाट लड्न उनीहरूले विभिन्न लोभ देखाउँदै नेपाली युवा लैजान्थे र तालिम दिएर युद्धमा पठाउँथे । कुनै–कुनै गाउँमा त ४५ वर्षभन्दा मुनि र १५ वर्षमाथिका युवाहरू नै हुँदैनथे । गाउँघरमा बुढाबुढी, केटाकेटी र महिला मात्रै हुन्थे । निकै दयनीय अवस्थालाई मैले नजिकबाट नियालेँ ।

गाउँघरका महिलाहरू घाँसदाउरा गर्न जाँदा जंगलमा विरहका लोकभाका गुन्गुनाउँथे । त्यसवेला लोकगीत, लोकसंस्कृति भन्ने चलन नै थिएन । उनीहरूले आफ्ना छोरा, श्रीमान् वा दाजुभाइहरू युद्धमा लड्न गएको सम्झनामा मन छुने गीत गाउँथे :

गाई पाल्यो रेलिमाई बनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई

महिला दिदीबहिनीको मुखबाट यस्ता गीतहरू सुन्दा मलाई अचम्म लाग्थ्यो । पढेलेखेका छैनन्, तर पनि भावनात्मक अभिव्यक्ति कसरी आयो ?
मनमा कति पीर परेको होला भन्ने लाग्थ्यो । छोराहरू युद्धभूमिमा गएको पीर उनीहरू अभिव्यक्त गरिरहेका हुन्थे । कसले कम्पोज गर्‍यो, कसले शब्द रच्यो भन्ने मलाई जिज्ञासा हुन्थ्यो । ब्रिटिसले जर्मनसँग नेपालीसमेत लगेर लडेको थियो । तर, त्यसको चोट नेपालका कुना कन्दराका महिला दिदीबहिनीको मनमा परेको थियो । उनीहरू प्रकृतिसँग कति नजिक छन् भन्ने अनुभूति मैले गरेँ ।

नकरा वनको न्याउली
तिमीभन्दा म छु नि वैरागी
तिमीलाई भन्दा मेरो छातीमा पीडा छ भनेर न्याउलीलाई इंगित गरेर दिदीबहिनीले गीत गाउँथे । प्रकृति र चराचुरुंगीसँग उनीहरू गीतमार्फत बोलेको अनुभूति गर्थे । त्यो वेलासम्म नेपाली साहित्यमा लोकगीत भनेर आएको थिएन । पधेँरोमा पानी भर्न जाँदा र कुर्दाको समयमा, मेलापात जाँदा, वनजंगलतिर दिनभर घाँसदाउरा काटेर फर्किएकादेखि चौतारीमा बसिरहेकासमेत गीत गाइरहेको अवस्थामा भेटिन्थे । म त ललितपुरमा जन्मिएको, हुर्किएको मान्छे, त्यो गाउँले जीवनशैली र भाकाले मेरो मन तान्यो । उनीहरूको गीतमा अलिकति साहित्यिक, दार्शनिक, सामाजिक व्यथा र मायाप्रीतिको विषयवस्तु मिसिएको हुन्थ्यो ।

के खायो के लायो होला
वनको जुरेली चरीले
अंग्रेजी साहित्यमा समेत जुरेली चरीबारे लेखिएको छ । जुरेलीलाई अंग्रेजीमा ‘नाइटिंगेल’ भनेर कविता तथा गीतहरू लेखिएका छन् । तर, गाउँघरमा गाइएका यस्ता गीतले मेरो मन छोयो । सुरुमा कार्यक्षेत्र परेर त्यहाँ जाँदा मलाई नरमाइलो लागेको थियो । जागिर छाडेर फर्किंदा राणाहरूले कारबाही गर्थे । तर पनि मन बुझाएर बसेँ । पछि, गाउँघरको यस्तै गीत, भाका, लोकलय, जीवनशैलीले मेरो मन उतै फुरुंङ भयो । त्यसवेला मैले बाँसको कलमले नेपाली कागजमा यी शब्दहरू टिपेँ । अहिलेको जस्तो कागज, कलम र मसी त्यो वेला थिएन । त्यस्ता गीत मैले जम्मा गरेँ । निर्धारित काम सकेर गाउँबाट ललितपुर नै फर्किएँ ।

सत्यमोहन जोशी, वरिष्ठ संस्कृतिविद्

त्यो वेला पत्रिकाको नाममा ‘शारदा मासिक’ मात्रै थियो । गाउँघरबाट संकलित गीतहरू छाप्न म पत्रिकाको कार्यालयमा पुगेँ । तर, त्यो दिन सम्पादक भेटिएनन् । मैले त्यहीँ दुईवटा गीतहरू छाडेर फर्किएँ । पछि ००३ सालमा शारदा पत्रिकामा ‘ग्रामीण गीत’ भनेर छापियो । त्यसवेलासम्म लोकगीत भन्ने गरिएको थिएन । शारदामा गीत प्रकाशित त भयो नै, सम्पादकले पनि केही लेखे । ‘शारदा पत्रिकाको इतिहासमा अहिलेसम्म कसैले पनि यसरी गाउँघरमा पुगेर गीत टिपेर ल्याएको थिएन, सत्यमोहन जोशीले तनहुँ र लमजुङमा काम गर्न जाँदा टिपेर ल्याएका गीत दिए, साहित्यको आधारभूमि र खोज साहित्यका लागि काम लाग्ने विषयवस्तु उपलब्ध गराएकोमा धन्यवाद्’ भन्दै लेखे । तर, ‘यी गीतहरू कहाँ, कसले कुन उत्सवमा गाएको, कसले लेखेको सबै कुरा उल्लेख भए राम्रो हुन्थ्यो’ भनेर पनि लेखियो ।

पत्रिकामा लेखिने सम्पादक ऋद्धिबहादुर मल्ल भए पनि भित्री रूपमा सबै काम गर्ने भने गोपालप्रसाद रिमाल थिए । लक्ष्मीप्रसाद देवकोटाले त्यसवेलासम्म ‘मुनामदन’ लेखिसक्नुभएको थियो । धर्मराज थापाको ‘वन चरो’ नामक कृति निस्किसकेको थियो । उनीहरूले ग्रामीण परिवेश र लोकभाकालाई टिपेर सिर्जना गरे पनि आफ्नै सिर्जनालाई अगाडि सारे । तर, गाउँघरको वास्तविक गीत र लोकभाकालाई समात्न सकेका थिएनन् । शारदा पत्रिकामा छापिएपछि मैले टिपेका गीतहरू कुन सन्दर्भमा गाइएको, कहाँ गाइएको, दाइँ गर्ने क्रममा गाइएको हो कि रोपाइँ गर्ने वेला, दोहोरी, रोधी, किर्तनमा वा मायाप्रेममा गाइने हो भन्नेबारे खोजीनीति गर्दै गएँ । लेखहरू लेख्न थालेँ ।

०१३ तिर नेपाली भाषा साहित्यको श्रीवृद्धिको निम्ति मदन पुरस्कारको स्थापना गरेको समाचार आयो । धेरै साहित्यकारले आफ्ना कृतिहरू दिए । मैले पनि गाउँघरबाट टिपेर ल्याइएका लोकगीत, त्यसको महŒवलगायतबारे ‘हाम्रो लोकसंस्कृति’नाम राखेर एउटा ग्रन्थ तयार पारेँ । त्यहीभित्र हाम्रो लोकगीत भनेर पनि लेखेँ । यही कृतिले मदन पुरस्कारकै इतिहासमा पहिलोपटक र मैले व्यक्तिगत जीवनमा पहिलोपटक मदन पुरस्कार पाएँ ।

‘नेपाली राष्ट्रिय मुद्रा’लाई
पनि मदन पुरस्कार
पहिलोपटक प्राप्त गरेको मदन पुरस्कार नै मेरो जीवनको सबैभन्दा ठूलो प्रमाणपत्र भयो । विभिन्न ठाउँमा जागिर खान त्यही प्रमाणपत्रले काम गर्‍यो । बिए पढ्दापढ्दै जागिर खान लागेकाले मसँग बिए पास गरेको शैक्षिक प्रमाणपत्र थिएन ।

०१५ मा आमचुनाव भयो । चुनावमा कांग्रेसको बाहुल्य भयो र सरकार उसैको बन्यो । कांग्रेस सरकारमा आएपछि प्रशासनिक क्षेत्रमा सुधार गर्ने क्रममा ‘पुरातत्व’ नामको अड्डालाई सक्रिय बनाउने भए । हुन त यो अड्डा ००९ तिरै खोलिसकिएको थियो । तर पनि ‘पुरातत्व तथा सांस्कृतिक विभाग’ भनेर सक्रिय बनाइयो । त्यसको निर्देशकमा मलाई मनोनीत गरिएको समाचार आयो । सबैले ‘तिमी डाइरेक्टर भयौ’ भनेर बधाई दिन थाले । मैले अर्कै कोही सत्यमोहन जोशी होला भन्ने सोचेको थिएँ । तैपनि सिंहदरबारमा बुझ्न जाँदा मलाई नै नियुक्त गरिएको भन्ने थाहा पाएँ । त्यो रात मलाई निद्रा लागेन । मैले त गाउँघरबाट गीत टिपेर ल्याएर कृति लेखेको न थिएँ, यो के जिम्मेवारी आइलाग्यो भन्ने सोच्न थालेँ । त्यसअघि मैले ‘पुरातत्व’ भन्ने शब्द सुनेकै थिइनँ, कामबारे त झन् कसरी थाहा हुनु ?

पुरातत्व विभागमा गएर काम गर्ने क्रममा मैले रातदिन मिहिनेत गरेँ । त्यसवेला वीर पुस्तकालय पुरातत्व विभागअन्तर्गत थियो । अहिले वीर पुस्तकालयलाई राष्ट्रिय अभिलेखालयका रूपमा रूपान्तरण गरिएको छ । त्यसवेलाको वीर पुस्तकालयको निरीक्षण गरेँ । वीर पुस्तकालयमा पुग्दा मलाई भव्य स्वागत गरियो । म भर्खरको ठिटो थिएँ । तर, पुस्तकालयमा संस्कृति पढेका विज्ञहरू, अभिलेख, इतिहासका विद्वानहरू थिए । उनीहरूले वीर पुस्तकालयका पुरातात्विक तथा ऐतिहासिक ग्रन्थहरू देखाउँदै गए । मैले पनि बुझेजस्तै गरी ‘एस एस’ भन्दै बहाना बनाएँ । एघारौँ शताब्दीदेखि प्रताप मल्ललगायत विभिन्न कालखण्डको दस्ताबेजहरू देखाए । एकै ठाउँमा भद्रगोल गरी राखिएको थियो ।

एउटा घैँटोभित्र पुराना मुद्राहरू पनि राखिएका रहेछन् । राजा मानदेवको पालादेखिको मानांक अर्थात् मुद्रा राखिएको रहेछ । मैले त्यसबारे खोजीनीति गरेर मानदेवदेखि त्यसवेलासम्मको मुद्रालाई वर्गीकरण गर्न लगाएँ । मानदेवदेखि महेन्द्रसम्मको मुद्रा संकलन गरेँ भने अर्कोतिर तिनै मुद्राहरूबारे लेखेँ । एउटा किताब नै बन्यो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न देशको आ–आफ्नै मुद्रा हुन्छन् नै । तर, हाम्रो मुद्रामा भने देवी–देवताको नाम, चित्र तथा मुद्रा बनाएको तिथिमिति लेखिएको हुन्छ ।
१ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि जनताबाट चुनिएर आएका प्रधानमन्त्रीदेखि सारा मन्त्रीहरू थुनामा परे । प्रशासनमा थपिएका कर्मचारी पनि झिकिए । सोही क्रममा मेरो निर्देशक पदसमेत गयो । तर, मैले ग्रन्थकै रूपमा मुद्राहरूबारे लेखेर राखेको थिएँ । त्यही टिपोटलाई ‘नेपाली राष्ट्रिय मुद्रा’ नामको पुस्तकको आकार दिएँ । मदन पुरस्कारका लागि दाबी गर्दा, अरू कसैले नगरेको काम गरेको भनेर मलाई नै ०१७ मा मदन पुरस्कार दिए ।

‘कर्णाली लोकसंस्कृति’
तयार गर्दा धेरै दुःख भयो
‘पुरातत्व तथा सांस्कृतिक विभाग’को निर्देशकबाट हटेपछि त्यत्तिकै बसिरहेको थिएँ । तर, खोइ कसले कहाँबाट सिफारिस गरेछ, मलाई राम्रो मान्छे भन्दै चीन जानुपर्ने जिम्मेवारी दिइयो । त्यसवेला चीनमा नेपाली भाषा पढाउनेहरूको माग भएको रहेछ । ‘लेक्चरर’ भएर नेपाली सिकाउन जाने अवसर मलाई पनि मिलेको थियो । हुन त त्यसवेला मसँगै प्राध्यापक चूडानाथ भट्टराई, कवि तथा लेखक डा. मोहनहिमांशु थापाको नामसमेत सिफारिस भएको थियो । तर, चीनबाट मेरो नाम स्वीकृत भएछ । ०२३ तिर नेपाली भाषा पढाउन भनेर म चीन गएँ र आफ्नो काम पूरा गरेर स्वदेश फर्किएँ । त्यो वेला नेपालमा साहित्यको फाँटमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले विभिन्न काम गर्न थालेको थियो । बालचन्द्र शर्मा उपकुलपति थिए । कुलपति राजा हुने चलन थियो । शर्माको देहान्तपछि बालकृष्ण सम उपकुलपति भए । त्यतिवेला प्रज्ञा प्रतिष्ठानमा राजा महेन्द्रले केदारमान व्यथितलाई कुलपति बनाए । उनको साहित्यमा त्यति धेरै देन त थिएन । तर, उनी राजनीतिक व्यक्तित्व थिए । उनी आइसकेपछि प्रतिष्ठानलाई नयाँ किसिमले अगाडि बढाउने सोच बनाए । उनको फुर्तीफार्ती र चहकमहकले विभिन्न नयाँ काम भए ।

प्रतिष्ठानमा सहप्राज्ञका रूपमा भर्ना गर्ने पक्रिया अघि बढ्यो । आठजना सहप्राज्ञ राजाको सिफारिसमा भर्ना गरियो । आठमध्ये एकजना म पनि थिएँ । चीनबाट फर्किएपछि राजकीय प्रज्ञा प्रतिष्ठानमा भर्ना भएँ । त्यतिखेर संस्कृतिको बारेमा कसले के गर्ने भनेर कुलपतिले हामीलाई सोधे । अरूले विभिन्न कृति लेख्ने प्रस्ताव राखे । मैले भने नेपाली भाषाको व्युत्पत्ति भएको थलो कर्णालीको सिँजाखोला उपत्यकामा गएर अध्ययन गर्छु भन्ने प्रस्ताव राखेँ । त्यहाँको लोक जनजीवन, लोकसाहित्य र लोकसंस्कृतिबारे अध्ययन गर्छु भनेँ । मेरो कुरा सुनेर कुलपतिसहित सबैले असम्भव कुरा भन्दै अस्वीकार गरे । तर, मैले त्यही क्षेत्रमा गएर अध्ययन गर्ने ढिपी कसेँ ।

पछि कुलपतिले मेरो प्रस्ताव स्वीकार गरे । त्यसपछि पाँचजनाको टिम बनाएर म कर्णालीको सिँजाखोला उपत्यकामा गएँ । यो ०२७ तिरको प्रसंग हो । सिँजाखोला पुगेर हाम्रो टिमले स्थानीयसँग त्यहाँको जनजीवन, भाषा, साहित्य, गीत, दैनिकीलगायत जन्मदेखि मृत्यु र रोजगारीबारे गहन अध्ययन गर्‍यौँ । सुरुमा त स्थानीयले हामीलाई सहयोग गरेनन् । हाम्रो बाटोखर्चसमेत ठग्ने प्रयत्न गरे । तर, पछि हाम्रो व्यवहार र उनीहरूकै हितमा काम गरेको महसुस गरेपछि ठूलो सहयोग गरे । त्यहीँबाट फर्किएपछि ‘कर्णाली लोकसंस्कृति’ ग्रन्थ तयार पारेँ । यही कृतिको तर्फबाट हाम्रो पाँचजनाको टिमले संयुक्त रूपमा ०२८ मा मदन पुरस्कार पायो ।-नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung