२७ भाद्र २०८३, शनिबार

 

डाँडैमा भैरव महात्मय

पर्वत सदरमुकाम कुश्मा बजारबाट हिँड्दा साँढे ६ बजेको थियो । बाग्लुङ बलेवा र पर्वत कुश्मालाई जोड्ने गरी कालीगण्डकी नदीमाथि टाँगिएको यान्त्रिक पुल पार गरेर हामी अगाडि बढ्यौं । यात्राको गन्तव्य थियो बाग्लुङ बलेवामा अवस्थित प्रसिद्घ भैरवस्थान मन्दिरको दर्शन गर्नु । त्यसोत, भैरवस्थान पर्वत मालढुंगाहँुदै सवारी साधन मार्फत पनि जान सकिन्छ । तर, हामी पैदल हिँड्यौं । बलेवाबाट तीन घण्टाको ठाडोे उकालो पानी ट्याङकी, पैयूँपाटा हुँदै हामी करिब १० बजे मात्रै मन्दिर परिसर पुग्यौँ ।

विहानको समय भएकाले हाम्रो हिँडाइमा एकखालको स्फुर्ती थियो । बाटो वरपर बाक्लो घरबस्ती भएकाले गन्तव्य पहिचान गर्न कुनै कठिन भएन । मंसिरको महिना धान उठाउन किसानलाई आफ्नै किसिमको चटारो थियो । पूर्वबाट उदाएको कलिलो घामको प्रकाशले वारि बलेवाबाट हेर्दा कुश्माबजार सुनौलो देखिन्थ्यो । त्यस्तै, उत्तरतर्फ अन्नपूर्ण हिमश्रृङ्खला अन्र्तगतका हिमालहरु तरुण वयमा आफ्नो सौन्दर्य प्रदर्शन गरिरहेका थिए । बलेवा भैरवको छत्रछाँयाबाट हेर्दा वरिपरिका पहाडहरु बामपु्ड्के जस्ता देखिन्थे । उत्तरबाट बग्दै आएको कालिगण्डकीको नागबेली रेखी तल खोचमा लम्पसार परेजस्तो देखिन्थ्यो । सफा मौसमका कारण आकाश निमाम्य थियो ।

डाँडाको टुप्पोमा प्रख्यात भैरवस्थान मन्दिर भएकाले वरिपरिबाट बगि आउने शीतल हावाको स्पशले. मनमा आनौठौ हलचल पैदा गथ्र्याे । प्रकृतिको एकान्तिकपनमा मन लट्ठ थियो । भने, मन्दिर परिसरको वातावरण पनि उस्तै शान्त र आनन्नद उत्पन्न गर्ने थियो । टाढबाट आएका तीर्थालुहरु आ–आफ्नै ढंगले पूजाआजामा व्यस्त थिए । हामी पनि आफ्नै ढंगले फोटो खिच्यौँ र रमायौँ ।

डाँडाको केही समथर भागमा मन्दिर अवस्थित थियो । वरिपरि केही सल्लाका रुखहरु थिए । सल्लाको हरियो पृष्ठभूमिमा मन्दिर अति स्ुन्दर देखिन्थ्यो । भक्तजनहरु भजन–कीर्तनमा व्यस्त थिए । तिनका गीत र संगीतका धुनले मन्दिर परिसर गुन्जायमान थियो । नाँच्नेहरु रोमाञ्चक भई नाँच्दै थिए । माहोल रमाईलो बन्दै थियो ।
तीर्थालुको भीड बाक्लो थियो । यहाँ आइपुग्दा बिछट्टै आनन्द आइरहेको छ, अध्यात्मको संसारमा पुगेझैँ भइरहेको प्रतिक्रया व्यक्त गर्र्दै थिए पर्वत फलेवासबाट मन्दिर दर्शन गर्न पुगेका परशुराम सुवेदी । त्यस्तै, मन्दिर पूजा–आजामात्र नभई ध्यान, तप र जप गर्न पनि यो उपयुक्त थलो रहेछ भन्दै थिए, पर्वत कुश्माका प्रनिश गिरी । यहाँ त फेरिफेरी पनि म साथीहरुसँग आउने विचार गर्दैछु, उनको प्रतिक्रिया थियो ।

हाल यस मन्दिर धार्मिक मात्रै नभई पर्यटकीय स्थलका रुपमा पनि विकास भएको छ । बाग्लुङको अमलाचौर, तीन काउलेको टाकुरामा रहेको मन्दिरप्रतिको आस्था र विश्वास जीवन्त रहनुनै यस ठाउँको धार्मिक महत्वको प्रमाण मान्न सकिन्छ । तसर्थ टाढाटाढादेखि भक्तजन भैरव देवताको पूजा–अर्चनाका लागि यहाँ आउने गर्दछन् । ‘भैरव देवता समक्ष आइ दुःख आपत्तिको विनास र सुख, सम्पत्ति, सन्तान, आरोग्यता मिल्ने भएपछि हामी यहाँ आएका हौँ’, कास्की पोखराबाट मन्दिर दर्शनका लागि पुगेका विन्दु लामिछाने र उनको समूह बोल्दै थियो ।

यस ठाउँमा आएर भैरवको जुन कामनाले पूजा गरिन्छ त्यो कामना पुरा हुने विश्वास व्यक्त गर्छन् मन्दिरका पूजारी टेकबहादुर शाही । यही अटल विश्वासका साथ सयौँको संख्यामा श्रद्धालु भक्तजनहरु भैरव देवताको दर्शनका लागि त्यहाँ पुग्दा रहेछन् । यही उपस्थितीका आधारमा पनि यस स्थलको धार्मिक आस्था र महत्व कति उचो रहेछ भन्ने सहज रुपमा आंकलन गर्न सकिन्छ । मन्दिरमा रहेको एतिहासकि र कलात्मक सौन्दर्यता र यस वरपरको प्राकृतिक रमणीयताले जो कोहीलाई पनि मन्दिरसम्म तान्न सक्छ ।

मुलुकमै पाल्पा र बाग्लुङ बलेवामा मात्रै भैरव देवताको मन्दिर रहेको छ । नवदुर्गामा पञ्चबलि दिन र अन्य समयमा प्रत्येक हप्ताको मंगलबार यहाँ पूजा लाग्ने गर्दछ । अहिलेसम्म मन्दिरलाई व्यवस्थीत बनाउँन नसकेपछि हाल मन्दिरको व्यवस्थापनका लागि एक समिति बनाई पूजाआजा एवम् यहाँको भौतिक पूर्वधार निर्माणमा काम सुरु गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र बहादुर थापा बताउँछन् ।

१५ औं शताब्दीमा पाल्पाका राजा मणिमुकन्द सेनका पालामा दाजुभाईका विच झगडा परेपछि एक भाई छुट्टिएर बलेवामा आएको र भैरब पनि छुट्टिएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । पाल्पाका भैरवसँग छुट्टिएकाले दाजुभाईले देख्लान् भनेर यो मन्दिरमा गजुर राख्ने चलन छ । काल भैरवलाई रिसाह देवताका रुपमा पनि पूजा गर्ने गरिएको मन्दिरका पूजारी शाही बताउँछन् ।

हाल यस मन्दिर क्षेत्र साथै यस वरपरको स्थान विकासका लागि समितिले गुरुयोजना सहितका कामकार्य अगाडि बढाएको छ । पुरानै हिसाबले पूजा–आजा र पुरानै व्यवस्थापन आदि रहेको मन्दिरको गुठीमा समेत करिव वीस मुरी धान फल्ने खेत गुठी अन्र्तगत रहेको मन्दिर व्यवस्थापन समितिका सचिव गुरुदत्त पाठक बताउँछन् ।

यहाँ भैरव देवताको जति शक्ति र सिद्धि छ त्यो अनुसार अझँै प्रचारप्रसार गर्न नसकेको सचिव पाठकले बताए । २०४९ सालमा पुरानो अवस्थाको मन्दिरलाई पूर्ननिर्माण गरी अझ कलात्मक र सुन्दर बनाइएको छ । गुठी संस्थान अन्तरगत रहेको यस मन्दिरको पूजा व्यवस्थापनको काम हालसम्म गुठी संस्थानले गर्दै आएको छ । यसवर्ष पनि करिब तीनलाख रुपैयाँमा ठेक्का लागेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष थापाले बताए । गुठी संस्थानले कर संकलन गर्ने तर, मन्दिर व्यवस्थापनका लागि चाँसो नदिने गरेको उनको भनाइ छ । अब दीर्घकालीन गुरुयोजना बनाएर काम गर्दैछौँ अध्यक्ष थापाले भने– “गुरुयोजना अनुसार मन्दिरको भौतिक पूर्वाधारदेखि यहाँको पूजा–आजालार्ई पनि थप व्यवस्थीत बनाउँदै लगिनेछ ।” धार्मिक पर्यटकको आकर्षक गन्त्व्यका रुपमा मन्दिरको विकास गर्ने योजना मन्दिर व्यवस्थापन समितिले बनाएको छ ।

६ सय वर्ष पुरानो एतिहासिक महत्व बोकेको मन्दिर परिसरमा एउटा सत्संग सत्तल छ । त्यहाँ उपस्थित भक्तजन तथा भजनमण्डलीले होम, यज्ञ एवम् भजन–कीर्तन गर्ने गर्छन् । मन्दिरसम्म कच्ची सडक पुगे पनि नियमीत सवारी नचल्दा भक्तजनलाई असुविधा भएको महसुुस गरि समितिले छिमेकी गाविसहरु रायडाँडा, भकुण्डे, नारायणस्थान, पैयूँपाटा आदिसँग समन्वय गरि मन्दिरसम्म पुग्ने सडकलाई ग्रावेल गर्ने योजना बनाएको छ । यस अलवा मन्दिर उच्च पहाडी भागमा रहेकाले मन्दिरसम्म आउजाउका लागि केबुलकारको योजना पनि समितिले बुनेको छ । केबुलकार संचालन भए भक्तजनको आगमनमा अझँै बृद्धि हुने विश्वास गर्न सकिन्छ ।

पर्वत कुश्मादेखि बाग्लुङको बलेवा जोड्ने यान्त्रिक पुल, र हाल बनेको नेपालकै अग्लो कुश्मा–कैया झोलुङ्गे पुलले पनि भक्तजनको आवागमनमा सहज बनाएको छ । त्यस्तै, २०४२ सालदेखि बन्द अवस्थामा रहेको बलेवा विमानस्थल संचालनमा आए भैरवस्थान मन्दिरको मु्हार अझँै चम्किलो हुनेमा कुनै शंका छैन ।

फोटोः भैरवस्थान मन्दिर, पुजारत मन्दिरका पुजारी, भक्तजन र मन्दिर परिसरबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung