२६ भाद्र २०८३, शुक्रबार

 

धार्मिक र पर्यटकिय गन्तव्यःपञ्चकोट

बागलुङ बजार देखि आधा घण्टाको बस यात्रापछि पुगिन्छ पञ्चकोट । बागलुङ नगरपालिका—६ स्थीत पञ्चकोटको एकिकृत विकासको काम सुरु भएपछि यो ठाउँ जिल्लाकै पर्यटकीय एवं धार्मिक गन्तव्यको रुपमा विकास हुन थालेको छ । अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को नेतृत्वमा २०७१ सालमा बृहत महायत्र आयोजना गरेर निर्माण थालिएको पञ्चकोटको भौतिक संरचनाहरु मध्ये केहीले पूर्णता पाएसंगै अहिले त्यहा पुग्नेहरुको संख्या बढ्दो छ ।

लामो समयसम्म मुस्ताङको मुक्तिनाथ, चितवन र भारतमा समेत बसेर तपस्या गरेपछि बागलुङ फर्किएका मुक्तिनाथ बाबा कमलनयनाचार्यले आफ्नो जन्म ठाउँलाई धार्मिक तिर्थस्थलको रुपमा बदल्न देखेको सपनाले विस्तारै साकार रुप लिन थालेको छ ।
उनी भन्छन्,‘सालिग्राम पाईने विश्वमै एक मात्र नदि कालिगण्डकी किनार र यसआसपाको क्षेत्र पवित्र पुण्यभूमि र मुक्तिक्षेत्र भूमि हो । यहाँ सबैतिर भगवानको बास भएको ठाउँ छन् । मैले सबै देउताहरुलाई एकै ठाउँमा दर्शन गर्न मिल्ने गरी धाम बनाउने संकल्प परेको हुँ ।’ एक जना सन्यासी बाबाको सपनालाई साकार रुप दिनका लागि सबैले सहयोग पनि गरेका छन् । सुरुवातमा त्यो केबल मुक्तिनाथ बाबाको सपना भए पनि अहिले त्यो बागलुङको समृद्धिसंग जोडिएर आउन थालेपछि सबैले अपनत्व महसुस गर्ने वाताबरण बनेको हो । ‘यो ठाउँलाई पञ्चकोट धामको रुपमा विकास गर्दै गर्दा बागलुङ जिल्ला र साविकको समग्र धौलागिरिलाई नै राम्रो फाईदा पुग्छ,’ मुक्तिनाथ बाबा थप्छन्,‘विभीन्न धार्मिक स्थलहरुमा पुगेर दर्शन गर्न सकिने भगवान र देवी देउतालाई हामीले यहाँ एकै ठाउँ दर्शन गर्न मिल्नेगरी धामको परिकल्पना गरेका छौं ।’

पञ्चकोट धामको विकाससंगै बागलुङको भाग्योदय हुने पञ्चकोटका प्रतिनिधि अध्यक्ष एवं स्वामी मुक्तिनाथ बाबाका उत्तराधिकारी ऋषि प्रपन्नचार्य बताउँछन् । ‘लामो समयपछि स्वामी आफ्नो जन्म ठाउँ फर्कनुभयो, सायद बागलुङको लागि भाग्योदयको दिन पनि थियो,’ ऋषि प्रपन्नाचार्य भन्छन्,‘जन्मभूमि फर्किएपछि यसलाई धामको रुपमा विकास गर्ने स्वामीले संकल्प लिनुभएको हो ।’ पञ्चकोट विभीन्न पाँच वटा कोटहरुको एकिकृत विकासको रुप हो । त्यस क्षेत्रमा रहेको ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतिकात्मक रुपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामाकरण गरिएको ऋषि प्रपन्नार्यको भनाई छ । ‘सबै पाँच वटा कोटहरुमा जान सम्भव छैन, संसारकोट निकै टाढा पनि पर्ने भएकाले त्यहा सजिलै पुग्न पनि सकिदैन,’ उनले भने,‘अहिले संरचनाहरु बन्दै गरेको ठाउँ ताराजाल कोटको ठाउँ हो । सबै कोटहरुलाई एकै ठाउँमा विकास गरी पञ्चकोट नामाकरण गरिएको हो ।’

कोटहरु राजाहरुको ईतिहाँससंग पनि जोडिने गर्छन् । बाईसे चौबिसे राज्यहरुको पालामा राजाहरुले शक्ति आर्जनका लागि भन्दै दैवी शक्तिको पूजा गर्नका लागि विभीन्न कोटहरुको स्थापना गरेको विश्वास गरिन्छ । धार्मिक हिसाबले मुक्तिक्षेत्र र पुलत्स्य पुलह ऋषिले तपस्या गरेको ठाउँ भएको उनी बताउँछन् । नेपालमा भएका सबै गोत्रहरुको मूल पुरुषलाई पञ्चकोटमा स्थापना गरिने उनको भनाई छ । ‘हामीले सबै समुदायको मूल पुरुषलाई यहाँ स्थापना गरेर साझा धामको रुपमा विकास गर्नेछौं,’ उनले भने,‘आदिवासी जनजातिले पुज्ने र खस आर्य समुदायले पुज्ने सबै मूल पुरुषहरु यहाँ रहनेछन् । यो कुनै एक भगवानको धाम होईन ।’ पञ्चकोटलाई कुनै धार्मिक स्थल विशेषको विकल्पको रुपमा विकास गर्ने आफुहरुको सोचाई नभएको उनले बताए । ‘सबै धाम र धार्मिक स्थलहरुको आ—आफ्नै महत्व छ,’ उनले भने,‘हामी पञ्चकोटलाई पञ्चकोटकै रुपमा विकास गर्न चाहान्छौं । यसको छुट्टै महिमा र गरिमा स्थापित हुनेछ ।’
१४ करोडको पूर्वाधार निर्माण
पञ्चकोटमा अहिलेसम्म १४ करोड बढिको पूर्वाधार तयार भैसकेका छन् । २०७१ सालमा सञ्चालन गरिएको पहिलो महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्कोट निर्माणको कामले अहिले एउटा स्वरुप धारण गरेको छ । पञ्चकोटको विशेष आकर्षणका रुपमा एक सय आठ फिट अग्लो विश्वशान्ति कलश निर्माण गरिनेछ । त्यसका साथै अन्य विभीन्न धार्मिक संरचनाहरु निर्माण हुनेछन् र कतिपय निर्माण पूरा समेत भैसकेका छन् । हालसम्म करिब एक सय रोपनी जग्गा खरिद तीन तलाको अतिथी आवास गृह, रेलिङ सहितको पदमार्ग, गण्डकी माताको मन्दिर निर्माण पूरा भएको छ ।
शीश महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, ५ हजार ५ सय ५५ केजीको महाघण्टका लागि आवश्यक सरंचना तयार पार्ने कार्य सम्पन्न भैसकेको पञ्चकोटका निवर्तमान प्रतिनिधि अध्यक्ष नगेन्द्र शर्माले बताए । ‘हामीले १४ करोड बढिको भौतिक संरचना निर्माण गरिसकेका छौं,’ उनले भने,‘अझै पनि धेरै संरचनाहरु निर्माणको चरणमा छन् । त्यसका लागि विभीन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाउने अभियान चलिरहेको छ । अधिकाँस योजनाहरु करोड बढि लागतका छन् ।’ पञ्चकोट परिसरमा ढलान तथा मेसोनरी पर्खाल लगाउने काम सम्पन्न भएको उनले बताए । पञ्चकोटमा सम्पूर्ण संरचना निर्माणका लागि दुई अर्ब रुपैयाँ भन्दा बढि खर्च लाग्नेछ ।
‘गरुडनारायणको मन्दिर, हनुमानको मूति स्थापना, छिमेकी वडाहरु जोड्ने सडक निर्माण, खानेपानीको व्यवस्थापन लगायका कामहरु सम्पन्न भैसकेका छन्,’ उनले भने,‘विशेष गरी ठूलो भौतिक र धार्मिक संरचनाहरु ताराजालकोट रहेको ठाउँमा निर्माण भैरहेका छन्,’ उनले भने,‘त्यहाँ भन्दा माथि रहेको कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटमा पनि मन्दिर तथा अन्य संरचनाहरु निर्माणका काम थालिएका छन् ।’ पञ्चकोटमा भौतिक संरचनाको निर्माणसंगै गाईको संरक्षणका लागि बागलुङ नगरपालिका—५ मालिका र पर्वतको जलजला गाउँपालिका धाईरिङमा गौशाला निर्माण गरिएको छ ।
पर्यटकको पहिलो रोजाई
बागलुङ बजारदेखि करिब आधा घण्टाको बस यात्रापछि पुगिने पञ्चकोटमा अहिले घुम्न जानेहरुको संख्यामा समेत ह्वात्तै बृद्धि भएको छ । बागलुङ बजारमा आउने जो कोही पनि अहिले पञ्चकोट पुग्न लालायित देखिन्छन् । बाह्य पर्यटकहरुको संख्या न्यून भए पनि आन्तरिक रुपमा पाहुनाहरु त्यहाँ पुग्ने क्रम बढेको छ । यहाँ भित्रिने पाहुनाहरुको पहिलो रोजाई नै पञ्चकोट हुने गरेको छ । पछिल्ला दिनहरुमा पञ्चकोटमा कतिपय भौतिक संरचना निर्माण सम्पन्न भएसँगै दैनिक धार्मिक तिर्थयात्री तथा पर्यटकहरुको संख्या बढ्दै जान थालेको पञ्चकोटका पूर्व महासचिव वसन्तकुमार श्रेष्ठले बताए ।
‘अहिले पञ्चकोटमा घुम्ने जानेहरुको संख्या निकै नै बढेको छ,’ श्रेष्ठले भने,‘दैनिक सयौंको संख्यामा घुम्न आउनेहरु छन् ।’ विशेषगरी शनिबार र अन्य विदाका दिनमा घुम्न आउनेहरु बढि हुने गरेको उनले सुनाए । घुम्न आउने पर्यटकहरुको संख्या बढेसंगै आवत जावतका लागि सहज बनाउन सडकहरुको स्तरोन्नती समेत गरिएको छ । पञ्चकोट पुग्ने सडकको सबै सडक कालोपत्रे गर्नेगरी काम भैरहको बताईएको छ । पञ्चकोट धार्मिक दृष्टिकोणले मात्रै होईन दृश्यावोलोकनका लागि पनि निकै महत्वपूर्ण ठाउँ हो । पञ्चकोटबाट विभीन्न हिमसृङ्खलाहरु देख्न सकिन्छ ।
आर्थिक समृद्धिको आधार
स्थानीय तहको निर्वाचन पछि बागलुङ बजारको व्यापार व्यवसाय केही सुस्ताएको छ । पछिल्लो दिनहरुमा सुस्ताएका बागलुङलाई पञ्चकोटले गति दिने यहाँका स्थानीयको विश्वास छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी पञ्चकोट बागलुङ बजारको आर्थिक समृद्धिको आधार बन्ने विश्वास गर्छन् । ‘पञ्चकोट केवल धार्मिक तिर्थस्थल होईन, त्यो एउटा निकै महत्वपूर्ण पर्यटकिय स्थल पनि हो,’ भारीले भने,‘मुक्तिनाथ जाने पर्यटकहरुलाई पञ्चकोट पु¥याउन सक्यौं र एक रात बागलुङ बजारमा राख्न सक्यो भने मात्रै पनि यहाँको आर्थिक विकासको बलियो आधार तयार हुनेछ ।’
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारी अब पर्यटन नै बागलुङको मुख्य आयश्रोत हुने बताउँछन् । ‘अब गाउँबाट आउनेले बागलुङ बजार चल्ने अवस्था रहेन, पर्यटनको विकास नै अबको लागि मुख्य हुनेछ,’ उनले भने,‘त्यसका लागि पञ्चकोट, बागलुङ कालिका, ढोरपाटन लगायतका यहाँका पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा ध्यान दिनुपर्छ ।’
धार्मिक तथा पर्यटन स्थलनको विकास गर्छौं—नगरपालिका
बागलुङ नगरपालिकाले पनि यहाँको पर्यटन विकासका लागि काम गर्ने बताएको छ । उक्त प्रयास स्वरुप बागलुङ नगरपालिको आर्थिक जोखिम मोलेर यहाँको बलेवा एयरपोर्ट सञ्चालनमा ल्याएको छ । बलेवा एयरपोर्टले पर्यटकहरुलाई यहाँ भित्र्याउन सहयोग पुग्ने उसको विश्वास छ । यहाँको पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा काम गरिने बागलुङ नगरप्रमुख जनकराज पौडेल बताउँछन् । ‘हामीले पञ्चकोट लगायत यहाँको बागलुङ कालिका, भैरवस्थान भकुण्डे लगायत पर्यटन क्षेत्रहरुको विकासमा विशेष ध्यान दिएका छौं,’ पौडेलले भने,‘धार्मिक क्षेत्रहरुलाई पनि पर्यटनसंग जोड्ने हाम्रो प्रयास रहन्छ ।’
१. पञ्चकोटमा निर्माण भएको भौतिक संरचना ।
२. पञ्चकोटमा निर्माण भएको गरुडशिला मन्दिर ।
३. कारिकोट मन्दिर ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung