जिल्ला सदरमुकामदेखि ६५ किलोमिटर पश्चिममा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र घुम्टे लेक । जसलाई स्थानीय ‘गुराँसको पहाड’ पनि भन्छन् । घुम्टे सिद्ध भैरवको बसोबास भएको स्थान हो । विगतमा त्यहाँ मानिसहरु जाने र पूजा अर्चना गर्ने कारण पनि त्यही हो । बौद्ध जयन्ती अर्थात बैशाख पूर्णिमाको अघिल्लो दिन चतुर्दशीका दिन त्यहाँ पूजा अर्चना गर्ने र वरदान माग्नेहरुको घुँईचो लाग्छ । तर पछिल्लो समय घुम्टे पुग्ने उद्देश्य र चाहानाहरुमा पृथकता भेटिएको छ । थरी थरीका गुराँससंग रमाउने, घुम्टेको धुरीबाट देखिने मनोरम दृश्यको अवलोकन गर्ने, विभीन्न प्रजातिका पशुपंक्षी र जनावरहरुको दिनचर्या नियाल्न, अहिले घुम्टे पुग्नेहरुको अनेकौं चाहानाहरु हुने गर्छन् । पछिल्लो केही वर्ष यता गल्कोट घुम्टे पर्यटन विकास केन्द्रले नयाँ वर्षको अवसर पारेर लाली गुराँस महोत्सव समेत गर्दै आईरहेको छ । घुम्टे र आसपासको वनक्षेत्रमा चैत बैशाखमा दर्जन प्रजाति ढकमक्क गुराँस फुल्ने त्यहाँको मुख्य आकर्षणको पाटो पनि हो ।
गल्कोट घुम्टे पर्यटन विकास केन्द्रका बरिष्ठ उपाध्यक्ष राज थापा भन्छन्,‘गल्कोट घुम्टेलाई पर्यटन गन्तव्य स्थलको रुपमा विकास गर्न हामीले हरेक वर्ष लालीगुराँस महोत्सव गर्दै आएको छौं र यो वर्ष पनि यो कार्यक्रम सम्पन्न गरेका छौं ।’ हरेक वर्ष घुम्टे लेकमा हुने गुराँस महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै गएको उनको बुझाई छ । ‘घुम्टेको प्रचार प्रसार र लालीगुराँसको संरक्षणका लागि हामीले यो कार्यक्रम गर्ने गरेका हौं,’ उनी भन्छन्,‘त्यसले घुम्टे र लालीगुराँसप्रति धेरैको चासो बढाएको छ । अहिले अन्य समयमा पनि त्यहाँ पुग्नेहरुको संख्या बढ्दो छ ।’
बागलुङकै अग्लो धुरी घुम्टे जिल्लाकै अग्लो धुरीमा रुपमा लिईन्छ । यद्यपी घुम्टे भन्दा अग्लो धुरी अर्कै रहेको भन्ने पनि छ । समुद्र सतहदेखि १० हजार तीन सय ९३ फिट अग्लो धुरीमा घुम्टे अवस्थीत छ । अनि त्यही धुरीमा भगवान सिद्ध भैरवको मन्दिर । दुई अग्ला धुरी आमने सामने रहेको घुम्टेको एकतर्फ घना जङ्गल र अर्को तर्फ अनकन्टार चट्टान र पहराले भरिएको मनै कहाँलिने भीर छ । अग्लो धुरीको चट्टान माथि अवस्थीत मन्दिरमा पूजा अर्चना गरिने भएकाले कमजोर मुटु भएकाहरुका लागि घुम्टे लेकमा पुग्न सहज भने छैन ।
पछिल्लो समय त्यहाँ पुग्नका लागि पदमार्गहरु पनि निर्माण गरिएका छन् । जसले घुम्टे पुग्नका लागि केही सहज भएको छ । गल्कोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेत भन्छन्,‘सहज रुपमा घुम्टे जानका लागि तीन वटा पदमार्ग तयार भएका छन् ।’
आस्थाको धरोहर
घुम्टेमा अवस्थीत सिद्ध भैरको पूजा अर्चना र भाकल गर्नाले मनले आँटेको पूरा हुन्छ भन्ने जनविश्वास बलियो छ । जिल्लाको गलकोट क्षेत्रबाट ठूलो संख्यामा युवाहरु जापान अमेरिका र युरोपियन मुलुकमा पुगेका छन् । उनीहरुमध्ये ९५ प्रतिशत बढिले घुम्टे सिद्ध भैरवको भाकल गरेको र आफ्नो मनोकामना पूरा भएको बताउँछन् । ‘सिद्ध भैरव मन्दिर यहाँको आस्थाको धरोहर पनि हो । जहाँ बौद्ध पूर्णिमाको अघिल्लो दिन भैरवलाई बोको बलि र सिद्धलाई रोट चढाईन्छ,’ गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेरबहादुर थापाले भने,‘धार्मिक आस्था र विश्वासले पनि घुम्टेसंग यहाँको समुदायलाई जोडेको छ ।’ घुम्टेमा अहिले पूर्व झापादेखि नेपालका विभीन्न जिल्लाको मानिसहरु पुग्ने गरेका छन् ।
दृश्यावोलकनको गन्तव्य
घुम्टे पुग्ने मनसायले पहिलो पटक गलकोट पुग्नेहरु जो कोही पनि एक पटक नराम्ररी झस्किन्छन् । किनकी गल्कोटबाट घुम्टेको जून पाटो देखिन्छ, त्यो पूरै चट्टानी पहरोको टाकुरो मात्रै देखिन्छ । जब घुम्टेको धुरीमा पुगिन्छ, तब थाहा हुन्छ, त्यहाँ पुग्नुको आनन्द । भगवानप्रतिको आस्थावानहरुलाई त पूजा अर्चना गर्ने ठाउँ छँदैछ । भगवान नमान्नेहरु पनि त्यहाँ पुगेपछि निराश भएर फर्कनु पर्दैन । घुम्टेको धुरीबाट गुर्जा हिमालदेखि गणेश र मनास्लु हिमालसम्मका पूरै हिमश्रृङ्खला देख्न सकिन्छ । ‘यहाँबाट दर्जनौ हिमश्रृङ्खला एक साथ देख्न सकिन्छ,’ पर्यटन केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापा भन्छन,‘हिमाल पहाड र तराईलाई एकसाथ हेर्न मिल्ने ठाउँ हो घुम्टे लेक ।’ काठमाडौंको थानकोट देखि बुटवल भैरहवा, मोरङ, पाल्पा तानसेन र गुल्मी अर्घाखाँचीसम्मका ठाउँहरु गरी करिब करिब एक तिहाई नेपालको भूगोल घुम्टेबाट नियाल्न सकिन्छ । त्यसका साथै विभीन्न प्रजातिका चुराचुरङ्गी र वन्यजन्तुको आहार विहार पनि अर्को आकर्षणको माध्यम बन्छ । डाँफे, मुनाल, कालिज, मृग, घोरल, थार, बाघ र बँदेल लगायतका वन्यजन्तुहरु त्यहाँको वनमा पाईन्छ ।
गुराँस फुल्ने लेक
लेकाली ठाउँ भएकाले चैत बैशाखको समय यहाँ फुल्ने गुराँस अर्को आकर्षणको केन्द्र हो । घुम्टेमा रातो, सेतो, चमेली लगायत एक दर्जन प्रकारका गुराँसहरु फुलेको पाईन्छ । यद्यपी यसको वैज्ञानिक अध्ययन हुन सकेको छैन । २०७० साल यता गलकोट घुम्टे पर्यटन विकास केन्द्रले लालीगुराँसको संरक्षण र प्रवद्र्धन गर्दै आएको छ । घुम्टे लेकमा पाईने गुराँहरुको बारेमा अध्ययनको लागि पनि प्रयासरत रहेको वरिष्ठ उपाध्यक्ष थापा बताउँछन् । अहिले घुम्टे आसपासका क्षेत्रहरुमा लालीगुराँसको संरक्षण अभियान सुरु भएको छ । घुम्टे नजिकको क्षेत्रहरु मल्म, पाण्डवाखनी लगायतका ठाउँहरुमा रहेको व्यक्तिगत र सामुदायिक वनमा गुराँस नकाट्न र त्यसको संरक्षणका लागि पहल गरिरेहको उनले बताए । घुम्टेलाई गुराँसको पहाड घोषणा गर्न पनि माग हुँदै आएको छ । अहिले हरेक वर्ष चैत मसान्तको साँझ क्याम्प फायर र वैशाख १ गते राष्ट्रिय झण्डा फहराउने कार्यक्रम घुम्टेमा हुने गरेको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले वैशाख १ गतेलाई लालीगुराँस दिवस घोषणा गरी घुम्टे लेकलाई पर्यटकिय सूचिमा सूचिकृत गर्न नेपाल सरकारसंग माग गर्दै आईरहेको छ ।
कसरी जाने ?
काठमाडौंबाट दुइसय ७२ किलोमिटर र बागलुङ बजारबाट ६५ किलोमिटरको बस या जीप यात्रापछि घुम्टे लेको फेदमा पुगिन्छ । घुम्टे पुग्नका लागि चार वटा पदमार्गहरु रहेका छन् । सबै पदमार्गहरुमा करिब तीन हजार पाँच सय मिटरको उकालो चढेपछि घुम्टे धुरी पुगिन्छ । गाडीबाट ओर्लेपछि करिब तीन घण्टाको पैदल उकालो चढ्नैपर्छ । घुम्टे पुग्नका लागि हरिचौर—टेउवा, हिल—असौजे, पाण्डवखानी—सिद्धथान या मल्म—टोकरी गरी चारमध्ये जुनसुकै बाटो जान सकिन्छ । तथापी तुलनात्मक रुपमा मल्म—टोकरीको बाटो केही अप्ठ्यारो छ । बाँकी तीन वटा मार्गबाट सहजै घुम्टे पुगिन्छ । हरिचौर—टेउवा रेलिङ सहितको पदमार्ग बनाईएको छ । भीर पहरासंग डराउनेहरुका लागि यो सही बाटो हुनसक्छ । वनक्षेत्र भएकाले छ्वाङ्ग भिर नदेखिने पाण्डवखानी सिद्धथानको बाटो पनि उपयुक्त छ । हरेक वर्ष बैशाख पूर्णिको चतुर्दशीका दिन मात्रै १० देखि १२ हजार आन्तरिक तथा बाह्य पर्यटक घुम्टे पुग्छन् । गर्मी मौसम सुरु भएसंगै अन्य दिनहरुमा पनि त्यहाँ पुग्नेको संख्या दैनिक बढ्ने क्रममा छ ।
सुरक्षाको केही उपाय
घुम्टे चढ्नु जो केहीको वसको कुरा नहुन सक्छ । त्यसैले केही सावधानीहरु अपनाउनु जरुरी छ । होचो ठाउँबाट एकै पटक १० हजार फिट माथि पुग्दा लेक लाग्न सम्भावना बढि हुन्छ । त्यसैले लसुन, नुन र पानीको बोत्तल झोलामा राख्न नभुल्दा राम्रो । घुम्टेमा पाँचऔंले, पदमचाल्ने, सतुवा लगायत १०५ प्रकारका जडिबुटी पाईन्छ । जडिबुटीमध्ये विष पनि घुम्टेमा भेटिन्छ । त्यसैले घुम्टे जाँदै गर्दा आफुले नचिनको वनस्पती र झारहरु सकभर नछुनु नै उत्तम हुन्छ । घना जंगलमा बाटो छलिने सम्भावना पनि उत्तीकै रहने भएकाले सावधानी अपनाउनुपर्छ । चैत वैशाख र जेठको समयमा घुम्टेमा जूनकुनै बेला असिना पानी पर्न सक्छ, मौसमको ख्याल राख्नु महत्वपूर्ण हुन्छ । रेनकोट ब्यागमा भएर अझ राम्रो । घुम्टे धुरीमा एकै पटकमा तीन सय जना ओट लाग्ने मिल्ने गरी पाँच वटा सत्तल निर्माण गरिएका छन् । सम्भावित मौसमको खतरा थाहा हुनासाथ त्यो ठाउँमा जानु उपयुक्त हुन्छ । गाडीबाट ओर्लेपछि करिब तीन घण्टाको पैदल हिँड्नुपर्ने भएकाले शारिरिक रुपमा कमजोर व्यक्तिहरुका लागि सहज नहुन सक्छ ।
लोकसंस्कृतिको मजा
बौद्ध पूर्णिमाको अघिल्लो बिहान घुम्टेको धुरी चढ्नु मात्र घुम्टेको विशेषता होईन । त्यस क्षेत्रको लोकसंस्कृतिको मजा उठाउनु पनि अर्को पाटो हो । आधुनिक डिस्को र डान्स बारमा रमाउनेहरुका लागि खास नलाग्न सक्छ । यद्यपी लोकसंस्कृतिप्रति रुची राख्नेहरुको लागि भरपुर मजा उठाउने ठाउ छ । घुम्टे धुरीसंग सम्बन्धित घुम्टे साँईला यहाँको मौलिक लोक भाका हो । घुम्टे जाँदा र फर्कदा यो भाकामा गित गाउने चलन अझै पनि छ । फर्कदा पाण्डवखानीको सिद्धथानमा बसेर घुम्टेसाँईला गाउने चलन अझै पनि बाँकी छ । घुम्टे साँईलाका जानकारी स्थानी छम काउचा भन्छन्,‘घुम्टे साँईला यहाँको मौलिक लोक भाका हो, सालैजो पनि हामीले गाउने गर्छौं । सालैजो भन्दा यो केही पृथक छ ।’ घुम्टे साँईला मात्रै होईन परम्परागत सति घाँटु पनि त्यस अवसरमा पाण्डवाखानीमा नाँचिन्छ । सति घाँटु सिसाखानी र रिघामा पनि नाँचिन्छ तर पाण्डवखानीको घाँटु नाँच घुम्टे पुग्नेहरुका लागि नजिकको सांस्कृतिक गन्तव्य हुनसक्छ ।
अन्तमा
घुम्टे कुनै एक कारणले मात्र होईन फरक फरक कारणले पर्यटनको गन्तव्य बन्न सक्छ । खाँचो छ त त्यसको प्रचार प्रसार प्रवद्र्धन र विकास । विभिन्न जातका गुराँस फुल्ने घुम्टे लेकलाई ‘गुराँसको पहाड’ घोषणा गर्न केन्द्रले पहल गर्दै आएको केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ । मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र पर्यटनसँग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको केन्द्रले जनाएको छ । धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक हिसाबले समेत महत्वपूर्ण घुम्टेको विकासमा ध्यान दिन सके आर्थिक समृद्धिको यात्रामा सारथी बन्नेछ ।
तस्विरःराम थापा अविरल ।
















































































































































































