
शान्ति ! शान्ति ! ! शान्ति ! ! !
लोग्नेले कुटिरहँदा, स्वास्नी ‘भक्तिनी’ बनिरहँदाको शान्ति कि !
दाइजो–‘दाबी’मा अबला बन्द ढोकाभित्र जलिरहँदा,
चिच्याइ नसुनिने ढोकाबाहिरको शान्ति कि !
जमिनदारले चुटिरहँदा, किसान हरुवा–चरुवा भैरहँदाको शान्ति कि !
साहुले धुतिरहँदा, ऋणी÷ग्राहकले तिरिरहँदाको शान्ति कि !
मालिकले डामिरहँदा, मजदुरले पिठिउँ थापिरहँदाको शान्ति कि !
‘उपल्ला !’ले हेपिरहँदा, ‘दलित !’ दलिइरहँदाको शान्ति कि !
छिमेकीले मिचिरहँदा, स्वाभिमान सरिरहँदाको शान्ति कि !
नेताले लुटिरहँदा, ‘प्रजा !’ ‘प्रभुभक्तिमा लीन’ बनिरहँदाको शान्ति कि !
रक्षकले भक्षण गरिरहँदा, याचकले ‘त्वं शरणम्’ गरिरहँदाको शान्ति कि !
तस्करले रजाइँ गरिरहँदा, देश निरीह बनिरहँदाको शान्ति कि !
तस्कर आरोपित (अधिकृत)ले लात्ता हानिरहँदा,
पत्रकारले नबोलि÷नलेखिरहँदाको शान्ति कि !
सिण्डिकेटले ताण्डव गरिरहँदा,
देश चाहिँ लाचार मात्र रहँदाको शान्ति कि !
कस्तो शान्ति ! ! !
आखिर हामीलाई कस्तो शान्ति चाहिएको छ !
माथि जस्तो निरपेक्ष ‘बुद्ध–शान्ति’ त चाहिएको छैन, हामीलाई !
अर्थात् मरेपछिको मुर्दा–शान्ति त चाहिएको छैन, हामीलाई !
हामीलाई चाहिएको त ज्वारभाटापछिको समुद्र–शान्ति हो ।
ज्वालामुखी निख्रिएपछिको दीर्घ शान्ति हो ः
‘अब त ज्वारभाटा नआउने निश्चित छ,
अब त ज्वालामुखी नआउने निश्चित छ’
भन्ने दिगो शान्ति चाहिएको हो ।
लोग्नेले कुट्न, अबला जलाइन, जमिनदारले चुट्न, साहुले धुत्न, मालिकले डाम्न
नियतसहित छाडेपछिको शान्ति,
‘उपल्ला’ले हेप्न ‘सनियत’ छाडेपछिको शान्ति,
कुनियतसहित छिमेकीले मिच्न छाडेपछिको शान्ति चाहिएको हो ।
नेताले लुट्न, रक्षकले भक्षण गर्न नियतसहित छाडेपछिको शान्ति,
तस्कर र सिण्डिकेट घोक्रेठ्याक लागेपछिको शान्ति चाहिएको हो ।
विद्रोह नभए त जताततै शान्ति नै शान्ति छ भन्ने लाग्ला,
तर बल÷विद्रोहले बर्बरता, निर्ममता, निरंकुशता,
हिंस्रकता, पाशविकता, अमानवीयता, …….
मत्थर भएपछिको शान्तिको स्वाद कस्तो लाग्ला !
नारी अधिकारविहीना हुँदा पनि शान्ति नै मानिएको थियो
तर पुरुष सरह अधिकार बढिरहँदाको शान्ति त
साँच्चिकै मीठो, गहिरो र दिगो लागिरहेको छ ।
बुद्धको सुझावमा, शान्तिको फगत् ठाडो मन्त्र जपेर होला त शान्ति !
शान्त तलाउ कल्पेर, भावुकतामा शान्ति खोतलेर होला त शान्ति !
कि माथिका यावत् करतुतहरू
कानूनतः (बलपूर्वक !) वा विद्रोहले ठेगान लागेपछि होला शान्ति !
शान्तिको रागालाप मात्र त, यावत् करतुतलाई उक्साउन नै हुनेछ,
देश÷जनलाई त मत्स्यन्याय होइन, समन्यायमा ः
सर्वहितको शान्ति चाहिएको हो ।