जैमिनी नगरपालिका– ७ जैदीकी ६८ बर्षिय कलावती पाध्या आफ्नै घर अगाडीबाट गाडि गुड्दा निकै दङ्ग छिन । नचिताएको ठाउँमा बाट सडका सरर गाडि गुडेको देख्न पाउँदा उनिमा निकै खुसी छाएको छ ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरसँग जोडिएपछि स्थानीय बासिन्दा औधी खुसी भएका छन् । यातायात सुविधा लिन डेढ–दुई घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताबाट गाउँलेले मुक्ति पाएका छन् । सदरमुकाम बागलुङ बजार आउन छिमेकी पर्वत जिल्ला हुँदै यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएसँगै स्थानियमा खुशियाली छाएको हो ।
गाउँको सडकमा मोटर चढेर आउने दक्षिण जैदी छिस्तीका स्थानियको आशा कालिगण्डकी करिडोरमा यातायात संचालन भए सँगै पूरा भएको हो । सडक निर्माणका लागि नेपाली सेनाले जिम्मा लिएपछि दक्षिण बागलुङले विकासमा फड्को मारेको छ । करिडोरको बागलुङ खण्डमा अहिले नियमित यातायात चल्न थालेका छन ।
बागलुङ खण्डमा ४ बेलीबृज निर्माण, प्रधानसेनापतीबाट उदघाट्न
करिडोरको बागलुङ खण्डको ३६ किलोमिटमा ४ वटा बेलीबृज निर्माण कार्यपनि सम्पन्न भएको छ । बागलुङ खण्ड अन्र्तगत ठेउलेखोला, पालुङखोला,चौरीखोला र लौंवाखोलामा पुल (बेलीबृज) निर्माण गरिएको छ । शुक्रबार जैमिनी नगरपालिका ७ जैदीमा रहेको लौंवाखोलामा निर्माण भएको बेलिबृजको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उदद्धाट्न गरेका छन । बेलीबृजको उदघाट्न गर्दै क्षेत्रीले स्थानिय जनसमुदाय र सवै राजनिति व्यक्तित्वको सहयोगले करिडोर निर्माणमा ठुलो टेवा पुगेको बताए । क्षेत्रीले स्थानिय सँग भने, ‘तर्पाइहरुको ठुलो सहयोगले हामीहरुले सजिलै सँग काम गर्न सक्यौं करिडोरले तपाईहरुको गाउँमा समृद्धि ल्याउनेमा हामीले विश्वास गरेका छौं ।’ बागलुङ खण्डमा पर्ने अन्य खोलामा निर्माण भएका पुलहरु यस अघिनै क्षेत्रीले उदघाटन गरेका थिए । ३० मिटर लम्बाई भएको, लौंवाखोला पुलमा २४ टनको क्षमता रहेको छ । लौंवाखोला पुल निर्माण सँगै बागलुङ खण्डमा वर्षा याममा पनि निरन्तर यातायात संचालन हुने कालिगण्डकी करिडोर निर्माण कार्यदलका प्राविधिक सुवेदार हरिशरण पोखरेलले बताए । गत माघ बाट निर्माण सुरु भएको पुल बैशाखमा सम्पन भएको थियो । बागलुङ खण्डका अन्य २ स्थानमा पक्की पुल निर्माणाधिन अवस्थामा रहेका छन । भने बाँकी ४ स्थानमा बेलीबृज निर्माण गरी सडक संचालन गरिएको छ । १५ करोडको लागतमा ५ वटा बेलिबृज र २ वटा काठेपुल निर्माण सम्पन्न भै सकेको निर्माण कार्यदलले बताएको छ । काठेपुल भएको स्थानमा सडक विभागले पक्की पुल निर्माणको कार्यपनि अगाडि बढाएको छ ।
तोकिएको समय आगाडि निर्माण कार्य सम्पन्न
सरकारले करिडोरको गुल्मी–बागलुङ ८० किमी सडक खन्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाले तोकिएको समय भन्दा आगाडि नै निर्माण कार्य सम्पन्न गरेको थियो । यन्त्रको प्रयोग गर्दा पनि पहाड काट्न नसकेपछि सेनाले ठूल्ठूला चट्टानयुक्त पहाड फोर्न बम (विस्फोटक पदार्थ) को सहायता लिई सडक निर्माण गरेको पोखरेलले बताए । करिडोरको बाटो पिच नै नभए पनि साइकल रोड भएकाले मालढुङ्गादेखी गुल्मीको रिडी सम्म साइकलमै जान सकिने गरि सडक निर्माण गरिएको छ ।
गाउँको चौतर्फी विकास
राष्ट्रिय सडक सञ्जालसँग जोडिएपछि गाउँको चौतर्फी विकास हुनेमा स्थानीय आशावादी रहेका छन् । सडकलाई उत्पादनसँग जोड्न सक्नुपर्ने सोही ठाउँका लक्ष्मीकान्त पौडेल बताउँछन ।
‘सडकले सबै विकासको ढोका खोलेको छ’ पौडेलले भने । ‘गाउँका हरेक उत्पादनलाई बजारसम्म जोड्न सकिने अवसर आएको छ ।’ बिरामीदेखि सर्वसाधारणको आवतजावतमा समेत सडकले ठूलो टेवा पुग्नेछ । पौडेललाई सपना जस्तो लाग्ने विकासले बागलुङ, गुल्मी लगायतका धेरै जिल्लाका कालीगण्डकी नदि किनार आसपासका गाउँका बासिन्दालाई उत्साह थपेको छ ।
दुर्गमलाई सुगम बनायो
पोखरा, मुग्लिङ, नारायणगढ र स्याङजा, पाल्पा हुँदै बुटवल पुग्न गाडीमा १२ घण्टा लाग्ने जिल्लाको दक्षिण क्षेत्रका बासिन्दा अब चार÷पाँच घण्टामै बुटवल पुग्ने भएका छन । कालीगण्डकी करिडोरले बागलुङ, गुल्मी लगायतका आसपासका क्षेत्रका बासिन्दालाई आर्थिक समृद्धिको नयाँ ढोका खोलेको छ । करिडोरले मुख्य सडक सञ्जालबाट बञ्चित रहेको जैमिनी ८ छिस्ती लाई सडक सञ्जालसँग जोडिदिएको छ नै यसका साथै जैदी, बिनामारे, अर्जेवा, कुश्मिशेरा, नारायणस्थान, अमलाचौर लगायतका दर्जन बढी स्थानलाई सुगम समेत बनाएको छ । करिडोरमा बागलुङ जैमिनीको कुश्मिसेरा देखी बुटबल हुँदै सुनौली सम्म सिधा बस संचालनमा आएका छन । बागलुङ, गुल्मीको रिडीदेखी पुर्तिघाट सम्मको ट्रयाक खुलेपछि बागलुङ, पर्वत, स्याङ्जा, गुल्मीका बासिन्दाको दैनिकी समेत फेरिन थालेको छ ।
ंअधिकांश गाउँ बजारमा परिणत
करिव ४ सय ३५ किमिको कालीगण्डकी करिडोर नेपालको आर्थिक समृद्धि र सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । सडक सञ्जाल जोडिए पछि करिडोरमा पर्ने जिल्लाका अधिकांश गाउँ बजारमा परिणत भएका छन । कालीगण्डकी नदी वारिपारिका दुई छिमेकी जिल्लाहरूको कृषि, पर्यटन, विद्युत, उद्योग र व्यवस्थित बसोबासका लागि थुप्रै अवसरहरू समेत अब सिर्जना हुने बागलुङ उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष बसन्त कुमार श्रेष्ठ बताउँछन् । गैंडाकोट देखि कालीगण्डकी किनारको मुस्ताङ सम्म नै बजार बसेको छ । जिल्लाका पुराना बजारमा भन्दा अहिले नयाँ बनेको बस्ती र सडक छेउमा बढी व्यापार हुन थालेको व्यापारीहरू बताउँछन् ।
चिन र भारतको सम्बन्धलाई सुदृढ बनाउने
करिडोरले छिमेकी राष्ट्र चीन र भारत बीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्नेछ । नेपालको दक्षिण सीमा भारतको सुनौलीदेखि र उत्तरी सीमा चीनको कोरलालाई जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा कालीगण्डकी करिडोरलाई लिइएको छ ।
भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४ सय ३५ किलोमिटर लामो छ । कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किमि, कागबेनीदेखि बागलुङसम्म ९५ किमि, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किमि, रिडीदेखि बुटवलसम्म ६८ किमि र बुटवलदेखि सुनौलीसम्म २५ किमि करिडोर अन्तर्गत पर्छ । करिब ३ सय २५ किलोमिटरमा अहिले सवारी सञ्चालनमा छन् । कोरलादेखि १७ किलोमिटर उत्तर गएपछि चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ । यी मध्ये बागलुङ र गुल्मी खण्डमा ८० किलोमिटर ट्याक नेपाली सेनाले नै खोलेको हो ।
धार्मिक पर्यटनका लागि उत्तम मार्ग
करिडोरको आसपासमा त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्ड जस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि समेत धार्मिक पर्यटक आउन लागिरहेका छन । कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम मानिएको छ । उत्तर–दक्षिण छोटो मार्ग पाएपछि सबै पर्यटकले यही मार्ग नै प्रयोग गर्नेछन् । यस खण्डमा यातायात संचालन सँगै आन्तरिक तथा बाह्र पर्यटकहरु आउन थालेको जैमीनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले बताए । अहिले सडक संजाल जोडिए सँगै यस क्षेत्र हुँदै बागलुङ कालिका, र मुक्तिनाथ जाने पर्यटकहरु बढदै गएका छन पौडेलले भने, ‘ यस क्षेत्रकोे आर्थिक समृद्धिका लागि करिडोर मुख्य मार्ग बन्ने विश्वास छ ।’ विशेषगरी धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त मार्ग बन्न सक्छ । लुम्बिनी आएका पर्यटकलाई मुक्तिनाथ लैजान र मुक्तिनाथमा आएकालाई लुम्बिनी पु¥याउन यो मार्ग उपयुक्त विकल्प रहेको पौडेलले बताए । हिन्दु र बौद्ध धर्मावलम्बीहरूले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन् ।
















































































































































































