२१ भाद्र २०८३, आईतवार

 

बाङ्ग्लादेश: कसरी लाखौँ मान्छे बस्ने ढाका ठप्प भयो

बाङ्ग्लादेश गत एकहप्तादेखि अशान्त छ।

एउटा सडक दुर्घटनामा दुई विद्यार्थीहरूको मृत्यु भएपछि सुरु भएका विरोध प्रदर्शनहरू जारी रहेका छन्।

धेरैजसो युवाहरू सहभागी विरोध प्रदर्शनको माग सरकारले सडक सुरक्षाको अवस्थामा सुधार गर्न तत्काल कदम चालोस् भन्ने रहेको छ।

यो आन्दोलनले सरकार र विरोधीहरूबीच द्वन्द्वको अवस्था सिर्जना गरिदिएको छ भने एक करोड ८० लाख बासिन्दा रहेको राजधानी ढाकाका सडकहरूमा हिंसात्मक घटनाहरू भएका छन्।

घटनाक्रम यस्तो छ:

जुलाई २९ का दिन ढाकामा तीव्र गतिमा गुडिरहेको एउटा बसले किचेर ती दुई विद्यार्थीहरुको मृत्यु भएको थियो। अर्को यात्रुवाहक बससँग प्रतिस्पर्धा गर्दै तीव्र गतिमा चलाउँदा उक्त बसका चालकले नियन्त्रण गुमाएका थिए।

बाङ्ग्लादेश - हडतालतस्वीर कपीराइटAFP
Image captionघर फर्किन गरिएको आग्रहलाई विद्यार्थीहरूले मानेका छैनन्

अघिल्लो वर्ष मात्रै सडक दुर्घटनामा चार हजार पैदल यात्रुको मृत्यु भएको ढाकामा यो घटनालाई पनि अर्को नियमित दुर्घटनाका रूपमा बिर्सिने सम्भावना थियो। तर सामाजिक सञ्जालमा सो घटनाबारे चर्को रूपमा आक्रोश व्यक्त भएपछि विद्यार्थीहरूको विरोध प्रदर्शनको शृङ्खला सुरु हुन पुगेको थियो।

विद्यालयमा पढ्ने दशौँ हजार विद्यार्थीहरूले ढाकाका सडकहरू अवरुद्ध पारिदिए।

विरोध प्रदर्शनकारीहरूले ट्रक, बस र अन्य सवारीसाधनहरूलाई रोक्दै तिनका सवारी चालकको लाइसेन्स हेर्नुका साथै ती सडकमा गुड्न योग्य छन् कि छैनन् भनेर जाँच गर्न थाले।

हिंसा

केही दिनसम्म यस्ता विरोधप्रदर्शनहरु जारी रहेपछि राजधानीमा सवारी आवागमन ठप्प हुन पुगेको छ भने राजधानीबाट देशका अन्य भेगमा जाने लामो दूरीका बस सेवा पनि रोकिएका छन्।

शनिवारदेखि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेर धेरै किशोर प्रदर्शनकारीहरूलाई घाइते बनाएको आरोप लगाइएको छ।

बाङ्ग्लादेश - हडतालतस्वीर कपीराइटEPA
Image captionप्रहरी र प्रदर्शनकारीबीच भिडन्तहरू भएका छन्

तर अधिकारीहरूले भने त्यस्तो आरोपको खण्डन गरेका छन्।

सोमवार पनि प्रहरी र विश्वविद्यालयका विद्यार्थीहरूबीच क्याम्पस र आवासीय क्षेत्रमा झडपहरू जारी रहे। स्थानीय अस्पतालका एक चिकित्सकले ‘द डेली स्टार’ समाचारपत्रसँग कुरा गर्दै कम्तीमा ४० जनाको उपचार भइरहेको र तीमध्ये धेरैजसो विद्यार्थीहरू रहेका बताएका छन्।

सत्ताधारी अवामी लिग दलसँग सम्बद्ध विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लिग र प्रदर्शनकारीहरूबीच भिडन्त भएका विवरणहरू पनि प्राप्त भएका छन्।

उक्त छात्र सङ्गठनले पत्रकारहरूलाई आक्रमण गर्ने, उनीहरूको फोन र क्यामरा फुटाइदिने गरेको आरोप पनि लगाइएको छ। विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न गएका केही पत्रकारहरूमाथि कुटपिट भएको पनि बताइएको छ।

एक चर्चित अभियानकर्मी तथा फोटोपत्रकार शाहिदुल आलमलाई पनि पक्राउ गरी सामाजिक सञ्जालमार्फत् प्रोपोगान्डा र गलत समाचार फैलाएको भन्ने अभियोगमा मुद्दा चलाइएको छ।

उनले अलजजिरा टेलिभिजनलाई एक अन्तर्वार्ता दिँदै सरकारले विरोधप्रदर्शनकारीहरूमाथि गरेको दुर्व्यवहारको कडा आलोचना गरेका थिए।

बाङ्ग्लादेश - हडतालतस्वीर कपीराइटNURPHOTO/GETTY IMAGES
Image captionसत्ताधारी दलका समर्थकहरूले हिंसा मच्चाएको आरोप लगाइएको छ

एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी सङ्गठन एमनेस्टी इन्टर्न्याश्नलले उनको तत्काल रिहाइको माग गर्दै ‘विद्यार्थीहरूले गरेका शान्तिपूर्ण विरोधप्रदर्शनमा सरकारले गरिरहेको हिंसात्मक कारवाही तत्काल रोक्न पनि माग गरेको छ।

सरकारी प्रतिक्रिया

बाङ्ग्लादेश सरकारले विद्यार्थीहरूको माग सम्बोधन गर्न भन्दै सडकसुरक्षामा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

केही दिनदेखि थाती रहेको नयाँ सडक यातायात ऐनलाई सोमवार नै मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

प्रदर्शनकारीहरूलाई शान्त तुल्याउने प्रयासमा उसले सडक दुर्घटनामा मानिसहरूको नियतवश ज्यान लिने काम गर्नेविरुद्ध मृत्युदण्डको सजायको व्यवस्था गर्ने पनि बताएको छ।

तर अधिकारीहरुले प्रधानमन्त्री शेख हसिनाको सरकारलाई लाजमर्दो तुल्याउने गरि भइरहेको विरोधप्रदर्शन तत्काल अन्त्य हुनुपर्ने स्पष्ट पारेका छन्।

आइतवार बोल्दै प्रधानमन्त्री हसिनाले प्रदर्शनकारीहरूलाई आआफ्नो घर फर्कन आह्वान पनि गरेकी थिइन्।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung