एप्लाष्टिक एनेमिया रोगबाट पीडित पत्रकार बिजय रानाको उपचारको लागि युएस एकेडेमीका विद्यार्थीले आर्थिक सहयोग गरेका छन ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष समेत रहेका रानाको उपचारको लागि विद्यार्थीहरुले आफ्नो खाजा खर्चको रकमबाट कटाएर सहयोग गरेका हुन् ।
विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको सक्रियतामा जुटाईएको पाँच हजार पाँच रुपैयाँ रकम पत्रकार विजय राना बचाउ अभियानका संयोजक सिताराम थापालाई हस्तान्त्रण गरिएको हो ।
अभियानका संयोजक थापालाई जुनियस रेडक्रस सर्कल यूएस एकेडेमीका सभापति सुजन कँडेल र शिक्षक नायक भिम शर्माले संयुक्त रुपमा हस्तान्त्रण गरेका थिए ।
‘हामीले एक दिनको खाजा खर्च कटाएर जम्मा गरेको रकममा विद्यालयले पनि थप गरि दियो,’ जुनियर रेडक्रस सर्कल युएस एकेडेमीका सभापति कँडेलले भने, ‘सानो सहयोग गरेर भएपनि उहाँको जीवन पचाउने अभियानमा सहभागि बनौँ भन्ने भावले सवै मिलेर सहयोग गरेका हौँ ।’
रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुको पहलमा यस अघि पछि बाढी पहिरो र पीडितहरुको राहतका लागि आफुहरुले सक्दो सहयोग प्रदान गर्दै आएको सभापति कँडेलले जानकारी दिए ।
पत्रकार विजय राना बचाउ अभियानका संयोजक सिताराम थापाले साना विद्यार्थीले गरेको सहयोग प्रति धन्यवाद दिँदै विद्यार्थीले गरेको सहयोगले मानविय सेवामा महत्वपूर्ण सन्देश दिएको र उपचारमा सहयोग पुग्ने प्रतिक्रिया दिए ।



















































































































































































































