क्याथलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले बालबालिकामाथि यौनदुराचार गरिएको कार्यको निन्दा गर्दै एउटा भावपूर्ण पत्र लेखेका छन्।
बाल यौन दुराचारसम्बन्धी समस्या जह्रोबाटै उखेल्नका लागि सहयोग गर्न पोपले सो पत्रमार्फत् आह्वान गरेका छन्।
- यौनशोषणमा परेकाप्रति पोपको सहानुभूति
- क्याथोलिक विद्यालयका छात्रमाथि दुर्व्यवहार
- रोमन क्याथोलिक कार्डिनललाई दुई मुद्दा
अमेरिकाको पेन्सिल्भेनिया राज्यमा पादरीहरूले विगत ७० वर्षमा एक हजारभन्दा धेरै बालबालिकालाई यौनदुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि पोपको यस्तो भनाइ आएको हो।
अभियुक्तको बढुवा
पोप फ्रान्सिसले सो पत्रमा पीडितहरूले सहनुपरेको पीडाबारे उल्लेख गरेका छन् तथा घटना ढाकछोप गर्न गरिएको प्रयासप्रति लज्जा व्यक्त गरेका छन्।
अमेरिकामा क्याथलिक गिर्जाघरमा भएको दुर्व्यवहारसम्बन्धी अहिलेसम्मकै ठूलो छानबिनअनुसार पेन्सिल्भेनियाको बृहत् न्यायिक समितिले उक्त राज्यमा विगत ७० वर्षमा तीन सयभन्दा धेरै पादरीहरूले बाल यौनदुर्व्यवहार गरेको पत्ता लगाएको हो।
त्यसरी दुर्व्यवहारमा संलग्न हुनेहरू तथा त्यस्तो अपराध लुकाउनेहरूलाई पनि पछि गिर्जाघरमा बढुवा गरिएको सो छानबिनले पत्ता लागेको थियो।
तस्वीर कपीराइटGETTY IMAGESभ्याटिकनका एक अधिकारीका अनुसार पोप फ्रान्सिसले विश्वभरि रहेका १.२ अर्ब क्याथलिक इसाईहरूलाई सम्बोधन गर्दै पत्र लेखेको यो पहिलो पटक हो।
बाल यौनदुराचारसम्बन्धी विषयमा यसभन्दा अघिका पत्रहरू सम्बन्धित देशका बिशप वा सो देशका रोमन क्याथोलिकहरूलाई सम्बोधन गरेर लेखिएका हुन्थे।
छानबिन
सम्पूर्ण रोमन क्याथलिकहरूलाई सम्बोधन गर्दै लेखिएको सो पत्रमा पोप फ्रान्सिसले ‘स-साना बालबालिकामाथि हामीले स्नेह नदेखाएको र हामीले उनीहरूलाई परित्याग गरेको’ उल्लेख गरेका छन्।
आयर्ल्यान्डमा आयोजना हुन लागेको क्थाथलिक गिर्जाघरको अन्तर्राष्ट्रिय बैठकलाई सम्बोधन गर्नुभन्दा पाँच दिनअघि पोपले सो पत्र लेखेका हुन्।
बाल यौनदुर्व्यवहारसम्बन्धी आरोपहरू सार्वजनिक भएसँगै दुई अमेरिकी कार्डिनलहरूले बैठकमा सहभागी हुने उनीहरूको योजना स्थगन गरेका छन्।
अमेरिकी गिर्जाघरका लागि एउटा समस्या बनेको यो विषयको यही अन्त्य हुने नदेखिएको सम्वाददाताहरू बताउँछन्।
अन्य राज्यका अधिकारीहरूले पनि पादरीहरूबाट भएका भनिएका बाल यौनदुराचारबारे छानबिन थाल्न रोज्नसक्ने बताइएको छ।
वीवीसी नेपालीबाट
















































































































































































