नन्दप्रसाद, नन्दकली उपाध्याय आचार्य स्मृतिकोषबाट बागलुङको ओडारचौर स्थित देउराली प्राविका बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । शुक्रवार आयोजित एक कार्यक्रममा बागलुङ नगरपालिका ४ का अध्यक्ष धु्रबबहादुर केसीले बालबालिकालाई सामाग्री हस्तान्तरण गरे ।
आचार्यका छोरा शिवराम, पशुपति, यज्ञबल्लव र राजेन्द्रले २ लाख २२ हजार २ सय २२ रुपैयाँको लागतमा स्थापना गरेको कोषबाट बालबालिकालाई सामाग्री दिइएको हो । बिद्यालयमा २० बालबालिका अध्यनरत छन् । बालबालिकालाई शैक्षिक सामाग्री, खेलकुँद सामाग्री र जुत्तामोजा समेत हस्तान्तरण गरिएको थियो ।
यस अघि लायन्स क्लबले पनि सहयोग गरेकोले पोशाक भने नदिएको आयोजकले बताए । आमाबाबुको पुण्य तिथी पारेर बितरण गरेर अभिभावकहरुको सामाजिक सद्भावको भावनालाई सम्मान गरेको राजेन्द्र आचार्यले बताए ।
उक्त अवसरमा झरना केसी गुडिया कोषको व्याजबाट बालबालिकालाई दिवा खाजा खुवाउनका लागि संकलित ५ हजार ५८ रुपैयाँ पनि विद्यालयका प्रअ रामबहादुर केसीलाई हस्तान्तरण गरियो ।
कोषका तर्फबाट पशुपति शर्माको अध्यक्षता, कान्छा छोरा राजेन्द्र आचार्यको स्वागत र कोषका सचिव राजेन्द्र आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा लामो समय देखि शिक्षा, धार्मिक र सामाजिक क्षेत्रमा योगदान गरेका नङिन्द्र सुवेदी र देउराली प्राविमा १६ बर्षसम्म निजी श्रोतमा शिक्षण गरेकी भगवती शर्मालाई सम्मान गरिएको थियो ।



















































































































































































































