काठेखोला गाउँपालिका वडा नं. ६ बिहुमा सञ्चालित नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड आवद्ध शेयर सदस्यहरुले गत आर्थिक वर्षमा दुध विक्री गरेर पौने १ करोड रुपैया गाउँ भित्र्याएका छन् । संस्थामा आवद्ध १ सय ३३ जना शेयर सदस्यहरुले गत आर्थिक वर्षमा १ लाख २६ हजार लिटर दुध बिक्री गरेर ७७ लाख ८७ हजार १ सय ९१ रुपैया गाउँ भित्र्याएका हुन् ।
सदस्यहरुले उत्पादन गरेको दुध संस्थाले संकलन गरेर बागलुङ दुग्ध उत्पादक सहकारी संघ मार्फत विक्री वितरण गर्ने गरेका छन् । दुध संकलनका लागि संस्थाले आफ्नै भवन निर्माण गर्नुका साथै दुध ढुवानीका लागि गाडी समेत खरिद गरेको छ । संस्थाले सदस्यहरुलाई दुध, फलफूल, तरकारी उत्पादनमा केन्द्रीत गर्नुका साथै वचत र विमाको कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

१७ वर्ष पहिला स्थापना भएको संस्थाले हरेक वर्ष आफ्ना सदस्यहरुलाई दुध विक्री वितरण गरेर प्राप्त रकमबाट लाभांश समेत वितरण गर्दै आएको छ । दुधको पैसा प्रत्येक महिना सदस्यको वचत खातामा जान्छ, दुध विक्रीको आधारमा वार्षिक रुपमा बोनस समेत वितरण गरिदै आएको संस्थाका अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिए ।
संस्थाको बुधवार आयोजित १७ वार्षिक साधारणसभामा संस्थाका शेयर सदस्यहरुलाई ९ लाख २६ हजार २ सय ५५ रुपैया कारोबार बोनस वितरण गरिएको थियो । संस्थामा सबै ड्राई सिजनमा सबैभ भन्दा बढी दुध विक्री गरेर सबै भन्दा बढी बोनस पाउने झगराज कंडेललाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले बोनस रकम प्रदान गरेका थिए । उनले दुध विक्री गरे वापत २५ हजार १ सय ५४ रुपैया बोनस प्राप्त गर्नु भएको थियो ।

साधारणसभामा बोल्दै सांसद इन्द्रलाल सापकोटाले उत्पादनका क्षेत्रमा नमुना दुग्ध सहकारीले गरेको काम जस्तै देशभर काम गर्न सक्ने हो भने समृद्धिको अभियान सफल हुने बताए । सहकारीमार्फत उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा प्रदेश सरकार, स्थानीय तह र सहकारीबीच समन्वय हुनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले नमुना दुग्ध सहकारी संस्थाका शेयर सदस्यहरुले गरेको कामलाई काठेखोला गाउँपालिकाका विस्तार गर्ने योजना बनाएको बताए । साधारणसभामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु विकास अधिकृत डा.नारायणप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी, जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दिपक गौतम, काठेखोला गाउँपालिका वडा न.ं २ का वडा अध्यक्ष विद्यापती शर्मा, वडा नं. ६ का वडा सदस्य लिलाधर ढुंगाना, काठेखोला गाउँपालिका पशु विकास सेवा शाखाका रामकृष्ण सुवेदी, सेञ्चुरी बैंक दोविल्ला शाखाका प्रमुख सुशान्त न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष युक्तप्रसाद कंडेलको अध्यक्षता, उपाध्यक्ष बालानन्द कंडेलको स्वागत र सचिव जगुपति कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच एक जना व्यक्ति एउटा भन्दा बढी सहकारी संस्थाको सञ्चालक बन्न नमिल्ने सहकारी ऐनको प्रावधान अनुसार दोहोरो पदमा रहेकाहरुलाई दिएको राजिनामा स्वीकृत गरी सञ्चालक समितिलाई पूर्णता दिइएको छ । रिक्त उपाध्यक्ष पदमा पहलमान थापा, सहसचिवमा लक्ष्मी हमाल र सञ्चालकमा पार्वती कंडेललाई चयन गरिएको अध्यक्ष युक्तप्रसाद कंडेलले जानकारी दिए ।



















































































































































































































