पत्रकार गणेश पौडेल बागलुङ नगरपालिकाको प्रेस संयोजकमा नियुक्त भएका छन् । बागलुङ नगरकार्यपालिका बैठकले उनलाई प्रेस संयोजक बनाउने निर्णय गरेको हो ।
नगरपालिकाको सूचना प्रवाहलाई व्यवस्थित गरि तथ्यपूर्ण जानकारी नागरिकस्तरमा पु¥याउने जिम्मेवारी सहित उनलाई प्रेस संयोजक नियुक्त गरिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । उनीले अहिले गोरखापत्र दैनिकको बागलुङ समाचारदाताको रुपमा काम गरिरहेका छन् ।
उनले नगरपालिकाको सूचना प्रवाहलाई व्यवस्थित गर्दै सञ्चार माध्यमलाई दिईने सूचना, विज्ञापन तथा विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउने काममा आफुले समन्वय गर्ने बताए । ‘नगरका सूचना प्रवाहलाई सरल र व्यवस्थित बनाउनुपर्ने छ । मिडियालाई समन्वय गरेर सत्यतथ्य सूचना, समाचार सहज रुपमा नागरिकसम्म लैजानुपर्ने, कार्यपालिकाका निर्णय बारे यथार्य सूचना सहि समयमा दिने जस्ता कामलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ,’ पौडेलले नयाँविश्वसँग भने, ‘यी कामलाई प्रभावकारी बनाउन मैले समन्वयकारी भूमिकामा रहेर काम गर्नेछु ।’
२०६० सालमा ढोरपाटन दैनिकको संवाददाता भएर पत्रकारिता सुरु गरेका पौडेल यसअघि धौलागिरी स्टार साप्ताहिको सह–सम्पादक, धौलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिकको कार्यकारी सम्पादक, धौलागिरी टेलिभिजनको सम्पादक, हिमालय टेलिभिजनको सम्वाददाता गरिसकेका छन् ।
उनी नेपाल पत्रकार महासंघ बागलुङको कार्यसमिति सदस्य र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुन् । बागलुङको भकुण्डेमा जन्मेका पौडेलले १२ वर्ष देखि जिल्ला सदरमुकाममा प्रत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । हक्की स्वभावका मानिने पत्रकार पौडेल आफुलाई लागेको कुरा भन्न र लेख्न डराउँदैनन् ।



















































































































































































































