५ श्रावण २०८३, मंगलवार

 

सुन्तलाको मुल्य बढाउन ‘भण्डारण गृह’ निर्माण

हरेक वस्तुको मुल्य मौसममा निकै सस्तो हुन्छ, मौसम अनुसार कृषि उपज उत्पादन गर्ने कृषकहरुले खासै राम्रो बजार नपाएको सन्र्दभमा यहाँका कृषकहरुले सुन्तालालाई बेमौसममा बिक्रि गर्नका लागि सुन्तलाको भण्डारण गृह (सेलर स्टोर) निर्माण गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका कृषक टोप बहादुर खड्काले ८ रोपनी क्षेत्रमा व्यवसायिक सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेका केहि सुन्तला मौसमानै बिक्रि गर्नुहुन्छ भने केही सुन्तला बगैचा नजिकै निर्माण गरिएको भण्डारण गृहमा राखेर चैत बैशाखमा महङ्गो मुल्यमा बिक्रि गर्दै आउनुभएको छ ।

तत्कालिन कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना अन्र्तगतको व्यवसायिक सुन्तला उत्पादन संकलन तथा भण्डारण उपआयोजना (प्याक्ट) कार्यक्रमले प्रदान गरेको १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारण गृहमा अहिले सुन्तला भण्डारण गरिएको कृषक खड्काले बताउनुभयो ।

‘अहिले सुन्तालाको बजार मुल्य ६० रुपैयाँ प्रति के.जी पर्दछ’ खड्काले भन्नुभयो ‘दुईमहिना पछि भण्डारण गृहमा राखिएको सुन्तलालाई १५० रुपौयाँ प्रति के.जीमा बिक्रि वितरण गर्न सकिने हुदाँ यसको निकै महत्व छ ।’ खड्काका अनुसार भण्डारण गृहमा दुई कोठामा १० टन सुन्तला भण्डारण गर्न सकिन्छ भने सुन्तलाको गुणस्तरका आधारमा श्रेणीकरण गर्ने छुट्टै कोठाको व्यवस्था छ ।

बेमौसममा सुन्तलाको मुल्य राम्रो पर्ने हुनाले भण्डारण गृहको महत्व बढेको कृषकहरुको भनाइ रहेको छ । माटो, बालुवा तथा गिटिको समिश्रणमा ढुङ्गाको गाह्रोले निर्माण गरिएको भण्डारण गृहमा चार महिना सम्म सुन्तला भण्डारण गर्न सकिने बताइएको छ । अहिले जहाँतही सुन्तला फल्ने भएका कारण सुन्तलाको मूल्य त्यति धेरै पर्दैन । बेमौसममा धेरै मूल्य पार्नका लागि बागलुङका सुन्तला किसानले आफ्नै घरमा पनि भण्डारण गृह समेत निर्माण गरेका छन् ।

अहिले जिल्लामा सुन्तला भण्डारणका लागि भण्डारण गृह निर्माण गर्ने लहरै चलेको छ । सिगाना सहित बिहुँका पशुपति कँडेल, भुकण्डेका सोमबहादुर थापा, रेशका चित्रबहादुर कार्की, दमेकका मणिभद्र सापकोटा लगायतले भण्डारण गृह निर्माण गरेका छन् । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजनाले बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको विहुँ र बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डेलाई सुन्तला जोन म्याग्दीमा समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung