८ कार्तिक २०८३, शनिबार

 

राष्ट्रिय सहकारी बैंकका संचालक उप्रेती सम्मानित

राष्ट्रिय सहकारी बैंक लिमिटेडका तर्फबाट प्रतिनिधित्व गर्दै एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को उपाध्यक्षमा निर्वाचित के.बी. उप्रेती सम्मानित हुनु भएको छ ।

कर्मणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरले संस्थाको १८ औं वार्षिक साधारणसभाको अवसर पारेर शनिवार सहकारी बैंकका सञ्चालक उप्रेतीलाई सम्मान गरेको हो ।

लामो समयदेखि सहकारी अभियानमा क्रियाशिल उप्रेतीले नेपालको सहकारी अभियानलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गर्नु भएको र हालै भारतमा सम्पन्न नेडाकको साधारणसभाबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकाले सम्मान गरिएको संस्थाका अध्यक्ष कृष्णबहादुर महतले बताउनु भयो ।

राष्ट्रिय सहकारी बैक स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै १५ वर्षसम्म प्रवन्ध सञ्चालकका रुपमा कार्य गरी सहकारी बैंकलाई स्थापित गर्न सफल उप्रेती नेडाकको उपाध्यक्षमा निर्बिरोध चयन हुनु नेपाली सहकारी अभियान प्रतिको सम्मान भएको भन्दै अध्यक्ष कृष्णबहादुर महतले आगामी दिनमा पनि उप्रेतीवाट नेपाली सहकारी अभियानमा थप योगदान हुने विश्वास व्यक्त गर्नु भयो ।

दुइ वर्षे कार्यकाल रहेको नेडाकको हालको कार्यकारी समितिमा नेपालको अलावा भारत, बंगलादेश, चिन, इरान, फिलिपिन्स, थाइलेण्ड, श्रीलंका लगायत देशका प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको छ । नेपालको तर्फवाट नेडाकको उपाध्यक्ष पदमा निर्बिरोध निर्वा्चित हुने उप्रेती पहिलो व्यक्ति समेत हुनुहुन्छ ।

नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा २ कार्यकाल लेखा समितिका संयोजक, काठमाडौ जिल्ला सहकारी संघमा २ कार्यकाल अध्यक्ष समेत भइसक्नु भएका उप्रेतीले देशभरका सहकारीहरुको प्रवद्र्धनका लागि निरन्तर योगदान गर्दै आउनु भएको छ ।

यस भन्दा पहिला जिल्ला सहकारी संघ काठमाडौं, बचत तथा ऋण सहकारी संघ कास्की लगायत बुटवल, नेपालगञ्ज, बागलुङ लगायतका स्थानमा सहकारी अभियन्ता उप्रेतीलाई सम्मान गरिएको थियो ।

साधारणसभामा बोल्दै सम्मानित व्यक्तित्व के.बी.उप्रेतीले सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि सबैको सकारात्मक सहयोग र समन्वयमा जोड दिनु भएको थियो ।

नेडाक सन् १९६३ मा स्थापना भै भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा संचालित छ । एफएओ एनेक्स बैंककमा सचिवालय रहेको नेडाक, ९ एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung