८ कार्तिक २०८३, शनिबार

 

देशभरका सहकारीलाई शसक्त बनाउन हातेमालो गरौ – मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अर्थतन्त्रको महत्वपूर्ण खम्बा सहकारी क्षेत्रलाई सबल र सक्षम बनाउन सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई मंगलवार आफ्नै निवासमा वधाई ज्ञापन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशलाई समाजवादतर्फ लैजानका लागि सहकारीको महत्वपूर्ण भूमिका रहने भएकाले देशभरका सहकारीलाई सक्षम बनाउनका लागि मन्त्रालयले सहकारी बैंकसंग समन्वय गरेर काम गर्ने उहाँले बताउनु भयो । देशभर सञ्जाल भएको र वित्तीय रुपमा समेत सक्षम बन्दै गएको सहकारी बैंक र मन्त्रालयबीच समन्वय गरी मुलुकभरका सहकारीहरुलाई उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा केन्द्रीत गरिने मन्त्री अर्यालको भनाइ छ ।

सहकारी मन्त्री अर्यालले बैंकका सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै ४ वर्षे कार्यकालमा सहकारी क्षेत्रलाई समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा स्थापित गर्ने गरी क्रियाशिल हुन सुझाव दिएको बैंकका सञ्चालक रामबहादुर जि.सी.ले जानकारी दिनुभयो ।

वधाई ग्रहण पछि बोल्दै राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित अध्यक्ष के.बी.उप्रेतीले सहकारीहरुलाई शिक्षा तालिम, प्रविधि र वित्तीय सहयोग दिन सकेमा देशको आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीको भूमिका प्रभावकारी हुने धारणा राख्नु भयो ।

उहाँले राज्यले सहकारी क्षेत्रमा परिचालन गर्ने सम्पूर्ण बजेट सहकारी बैंकमार्फत परिचालन गर्ने नीति बनाएर अगाडि बढ्नु पर्ने सुझाव समेत दिनु भयो । सहकारीलाई सक्षम बनाउनका लागि बैंक निरन्तर लागि परेको भन्दै उहाँले सरकारसंग समन्वय गरेर अगाडि बढ्न बैंकको वर्तमान सञ्चालक समिति प्रतिवद्ध रहेको बताउनु भयो ।

बैंकको वर्तमान सञ्चालक समितिमा भुगोल, समावेशी नेतृत्व रहेको जानकारी गराउदै उहाँले देशव्यापी रुपमा सहकारी अभियानलाई अगाडि बढ्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बैंकको पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट के.बी.उप्रेतीको नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेती रहेको ३ सदस्यीय लेखा समिति निर्वाचित भएको छ ।

सञ्चालक समितिका सदस्यहरुमा सरिता भट्टराई, हरिहरनाथ योगी, रामबहादुर जि.सी, रामहरी बजगाई, ज्ञानबहादुर तामाङ, अमृता सुब्बा, पार्वती थापा मगर, केदार मानन्धर, ध्रुवनारायण यादव, माधवलाल देवकोटा, महेन्द्र कुमार गिरी, विश्वनाथ मण्डल, शिवा थापा र विजया धिताल निर्वाचित हुनु भएको छ । लेखा समितिका सदस्यहरुमा मित्रराज दवाडी र तारा गुरुङ रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung