नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नो भवन निर्माणका लागि दोस्रो तथा अन्तिम चरणको अभियान शुरु गरेको छ ।
दुई तले पक्की भवन निर्माण गरेर आकर्षक एवम् सुविधा सम्पन्न सभाहल निर्माणमा लागेको महासंघको अभियानमा इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङले १ लाख १ हजार रुपैयाँ प्रदान गरेको छ ।
दोस्रो चरणको अभियानका क्रममा बुधवार महासंघ भवनमा आयोजित बिशेष कार्यक्रमका बिच सहकारी संस्थाका अध्यक्ष एवम् ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उक्त रकमको चेक महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभयो । इमेज सहकारी संस्थाले गत आर्थिक बर्षमा संस्थाले आर्जन गरेको मुनाफाबाट सामाजिक उत्तरदायित्व स्वरुप उक्त रकम प्रदान गरेको संस्थाका अध्यक्ष एवम् मेयर नेपालीले बताउनुभयो ।
सहयोग हस्तान्तरण पछि बोल्दै मेयर नेपालीले मिडिया शक्तिशाली भएको उल्लेख गर्दै जनप्रतिनिधिलाई खवरदारी सँग सँगै आँफुहरुले गरेको सकरात्मक कार्यको खोजी तथा प्रचार प्रसार गरिदिनु पर्नेमा समेत जोड दिनुभयो । महासंघको भवन आकर्षक बनेको भन्दै निर्माणाधिन सभाहललाई पनि आधुनिक र सुविधा सम्पन्न हलको रुपमा निर्माण गर्न सुझाव दिनुभयो ।
यसका लागि ढोरपाटन नगरपालिकाको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मेयर नेपालीले यसअघि आफ्ना व्यक्तिगत तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिसक्नुभएको छ ।
महासंघका अध्यक्ष दिल शिरीषले सहयोगका लागि संस्थालाई कृतज्ञता व्यक्त गर्दै महासंघको संस्थागत विकास, जिल्लामा क्रियाशिल पत्रकारको क्षमता विकासमा पनि नगरपालिकाको तर्फबाट सहयोग सहकार्य गर्न आग्रह गर्नुभयो । आगामी बैशाख सम्ममा सभाहल निर्माण कार्य सम्पन्न गर्ने गरि योजना बनाएर काम अघि बढाइएको अध्यक्ष शिरीषको भनाई छ ।
महासंघको दुई तले भवन निर्माणमा ८० लाख खर्च भइसकेको छ । कुल १ करोड ३० लाख रुपैयाँको लागत अनुमान गरिएको भवनको सभाहल सहित सम्पूर्ण काम सम्पन्न गर्दा सम्म १ करोड भित्रै काम सक्ने योजना रहेको महासंघका कोषाध्यक्ष बिजय रानाले बताउनुभयो ।
दोस्रो चरणकै अभियानका क्रममा बागलुङको काठेखोला निवासी हाल जापानमा रहनुभएका युवा व्यक्तित्व तथा मोडेल गगां सुवेदीले पनि जन्मदिनको अवसर पारेर १० हजार सहयोग गर्नुभएको महासंघले जनाएको छ ।
महासंघले यसअघि हामी सबेको रहर, पत्रकार महासंघ बागलुङको घर अभियान क्रममा ७० लाख भन्दा बढी रकम संकलन गरेको थियो । भवन निर्माणका क्रममा अपुग रकम सहित बाँकी निर्माण कार्यमा लाग्ने रकमका लागि स्थानीय तह सहित सामाजिक सघं संस्था र व्यक्तिबाट दोस्रो चरणमा सहयोग संकलन गरिने अध्यक्ष शिरीषले बताउनुभयो ।
‘धेरैले महासंघको भवनमा सहयोग सद्भाव दर्शाउनुभएको छ, यस प्रति महासंघ आभारी छ,’ उहाँले भन्नुभयो, ‘अझै पनि अभियान सँग बिभिन्न कारणले छुट्नुभएका जोडिन बाँकी व्यक्ति सघं संस्था सँग सहयोगका लागि आग्रह गर्नेछौ ।’



















































































































































































































