नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको छ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन् ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनमा सरकारले सार्वजनिक बिदा नदिए पनि सरकारी सहभागितामै पृथ्वीजयन्ती मनाइँदैछ । राष्ट्रनिर्माताको राजकीय मान्यता दिँदै सरकारले पृथ्वी जयन्ती मनाएको हो ।
प्रज्ञा प्रतिष्ठान आयोजक रहेर पुस २७ गते बिहान कमलादीस्थित प्रज्ञा भवनबाट बाजागाजासहित सुरु भएको र्यालीमा उपप्रधानन्त्री मन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासहितका मन्त्रीहरु समेत सहभागी भएका छन् ।
प्रज्ञा भवनबाट अघि बढेको र्याली सिंहदरवारको मूलद्वार अगाडि रहेको बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक अगाडि पुगेर समापन हुनेछ । त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारी आफैं पुगेर पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।



















































































































































































































