पर्वत । नेपाल अपाङ्ग उत्थान समाजको १३ औं साधरणसभा शनिबार सम्पन्न भएको छ । आगामी दिनमा प्रत्येक स्थानीय तहमा समाजको संजाल विस्तार गर्ने अठोटका साथ साधरणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल अपाङ्ग उत्थान समाज जिल्ला शाखाका संस्थापक अध्यक्ष एवं अधिवक्ता भोलानाथ शर्माको आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै शर्माले संजाल नै अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनुश्चित गर्ने बाध्यम बनेको बताए ।
उनले संजालले १७ वर्षदेखि जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकारको लागि लडेको बताउँदै आगामी दिनमा संघीयताको मोडेल अनुसार हरेक स्थानीय तहमा जानुपर्ने र सोही अनुसार अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी बाहिर ल्याउनुपर्ने बताए ।
अझै पनि समाज अपाङ्गता भएका व्यक्तिहरुलाई पापका रुपमा लिने गरेका कारण पनि अपाङ्गता भएका व्यक्तिहरु खुलेर बाहिर आउन नसकेको बताए ।
कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष राजेन्द्र पहाडी,जिल्ला अपाङ्ग संजालका अध्यक्ष यज्ञ पौडेल,तुल्सी गिरी, पत्रकार महेन्द्र केसी लगायतले बोलेका थिए ।
जिल्ला अध्यक्ष किशोर मनष्वीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्य समिति सदस्य चित्रबहादुर कुँवर र संचालन जगन्नाथ शर्माले गरेका थिए ।

कार्यक्रममा प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । सह सचिव संगिता पौडेलले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको हो । प्रतिवेदनमा आगामी कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । जसमा अबका दिनमा समाजले १३ वटा कार्यक्रमको लागि १२ लाख १० हजारको बजेट प्रस्ताव गरेको छ ।
बजेटको लागि साझेदारी निकायको पनि मापदण्ड संस्थाले बनाएको छ । स्थानीय निकाय, राष्ट्रिय अपाङ्ग महासंघ, सरोकारवाला निकाय, दातृ निकाय र आन्तरीक आयबाट माथि उल्लेखित कार्यक्रमहरु गर्ने योजना बनाएको छ ।



















































































































































































































