साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले धौलागिरिमा सञ्चार सहकारीको अवधारणा भित्र्याउने संस्थाका संस्थापक सचिव रामबहादुर जिसीलाई सम्मान गरेको छ ।
आदर्श सञ्चार सहकारी संस्थाको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशका तर्फबाट राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय सञ्चालकमा निर्विरोध निर्वाचित जिसीलाई संस्थाका तर्फबाट शुक्रवार वधाई ज्ञापनका साथै सम्मान गरिएको हो ।
संस्थाका संस्थापक अध्यक्ष तथा सांसद मनकुमारी केसी, संस्थाका निवर्तमान अध्यक्ष तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, सल्लाहकार डिलबहादुर कार्की लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरुले बैंकको सञ्चालकमा निर्वाचित जिसीलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरेका हुन् ।
धौलागिरि क्षेत्रमा सञ्चार सहकारीको अवधारणा भित्र्याउने, सहकारीमार्फत सञ्चार क्षेत्रको दीगो विकासमा निरन्तर लाग्ने तथा आदर्श सञ्चार सहकारीमार्फत सहकारी क्षेत्रको विकासमा निरन्तर लाग्ने जिसी राष्ट्रिय सहकारी बैंकमा आदर्शका प्रतिनिधित्व गर्दै निर्वाचित हुनु संस्थाका लागि महत्वपूर्ण विषय भएको संस्थापक अध्यक्ष केसीले बताउनु भयो ।
सहकारी क्षेत्रमा मात्रै होइन, राजनीतिक लगायत अन्य क्षेत्रमा समेत आदर्श सञ्चार सहकारीले नेतृत्व विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै सांसद केसीले यो सबै कामका लागि जिसीको भूमिका अग्रणी रहेको बताउनुभयो ।
काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले सहकारी क्षेत्रको विकाससंगै सहकारीमार्फत समृद्ध समाज निर्माणमा सबैसंग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।
संस्थाका सल्लाहकार डिलबहादुर कार्कीले सहकारीमार्फत बचत तथा ऋण बाहेकका क्षेत्रमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने विषयलाई स्थापित गर्न बैंकका सञ्चालक जिसी निरन्तर लागि परेको भन्दै आगामी दिनमा थप उन्नती प्रगतिको कामना गर्नु भयो ।
संस्थाका अध्यक्ष हुमाकुमारी जिसीको अध्यक्षतामा भएको वधाई तथा सम्मान कार्यक्रममा संस्थाका पदाधिकारी तथा सञ्चालक र कर्मचारीहरुले वधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरेका थिए ।
बैंकका सञ्चालक जिसीले सबैको सहयोग र प्रेरणाले सहकारी क्षेत्रमा थप क्रियाशिल हुन प्रेरित गरेको बताउनु भयो । उहाँले सहकारी क्षेत्रले दिएको माया, ममता र जिम्मेवारीलाई आफ्नो क्षमताले भ्याएसम्म इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैबीच हालै सम्पन्न नेपाल राष्ट्रिय शिक्षक संगठनको गण्डकी प्रदेश अधिवेशनबाट सदस्य पदमा निर्वाचित संस्थाका लेखा समितिका संयोजक थानेन्द्र प्रसाद गौतमलाई सोही अवसरमा वधाई ज्ञापन तथा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष, सल्लाहकार लगायत सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले गौतमलाई सम्मान गर्नु भएको थियो ।



















































































































































































































