८ कार्तिक २०८३, शनिबार

 

सहकारीमा आवद्ध युवा महिलाहरुलाई लेखा व्यवस्थापन तालिम

उद्यमशिलता मार्फत आयआर्जन गर्नका लागि सहकारीमा आवद्ध भएका र आवद्ध हुने तयारीमा रहेका फलेवास नगरपालिका पर्वतका युवा महिलाहरुका लागिे सहकारी लेखा व्यवस्थापन तालिम शनिवारदेखि शुरु गरिएको छ ।

युवा महिलाहरुलाई सहकारी मार्फत आत्मनिर्भर गराउन तथा उनीहरुलाई वित्तीय साक्षर बनाई आर्थिक व्यवस्थापनमा सक्रिय बनाउने उदेश्यका साथ इन्प्रेड नेपालकोय आयोजनामा तालिम सञ्चालन गरिएको हो ।

३ दिनसम्म सञ्चालन हुने सहकारी लेखा व्यवस्थापन तालिममा पर्वतको फलेवास नगरपालिका वडा नं. ५, ६ र ७ विभिन्न समुह र सहकारी संस्थामा आवद्ध १६ देखि ३५ वर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको छ ।

आयआर्जन बढाउन, त्यसबाट प्राप्त भएको पैसालाई वचत गर्न तथा समन्वय गरेर एक आपसमा सहयोगी भावनाको विकास गर्दै नेतृृत्व विकास, क्षमता विकास र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारी उपयुक्त देखिएकाले युवा महिलाहरुलाई सहकारीमा आवद्ध गराउने अभियान सञ्चालन गरिएको इन्प्रेड नेपालका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिनुभयो । सहकारी संस्थामा आवद्ध बनाएर उनीहरुलाई आर्थिक रुपमा सबल बनाउनका लागि लेखा व्यवस्थित गर्न आवश्यक रहेकाले सहकारी लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको शर्माले बताउनुभयो ।

महिलाहरुसग भएको श्रम, शीप र पूँजिलाई परिचालन गरी थप आयआर्जनका लागि सहकारी माध्यम उपयुक्त भएकाले युवा उमेरका महिलाहरुलाई सहकारीमा आवद्ध गराउने कार्य सह्रानिय भएको तालिमका प्रशिक्षक तथा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक रामबहादुर जिसीले बताउनुभयो ।

उहाँले सानो सानो पूँजि जम्मा गरेर ठुला ठुला काम गर्न सकिने भएकाले सहकारी संघ संस्थाबाट कर्जा लिएर आयआर्जनका विभिन्न काम गरी आम्दानी बढाउन, आम्दानी भएको रकम पहिला वचत गरी खर्च गर्न, सामुहिक रुपमा काम गरी खर्च कम गर्न तथा आयआर्जनका लागि नयाँ सोच र प्रविधि बारे जानकारी लिनका लागि सहकारी संस्थामा आवद्ध हुन जरुरी रहेको बताउनु भयो ।

विभिन्न समुहमा आवद्ध भई बचत गर्र्दै आएका महिलाहरुलाई सहकारीमा आवद्ध गराएर अगाडि बढाउन सकेमा वैधानिक रुपमा समेत सहजता हुने जिसीको भनाइ छ । समुह र सहकारीमा आवद्ध युवा महिलाहरुले जम्मा गरेको रकमलाई कसरी व्यस्थित रुपमा परिचालन गर्ने, त्यसको लेखा कसरी राख्ने र थप आयआर्जन कसरी गर्ने भन्ने विषयमा जिसीले सहजीकरण गर्नु भएको छ ।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता लगायत सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिने इन्प्रेड नेपाल पर्वतका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung