१० कार्तिक २०८३, सोमबार

 

छोराको स्मृतिमा सार्वजनिक धारो र सडक निर्माण

दुर्घटनामा परी निधन भएका छोराको स्मृतिमा बागलुङको एक परिवारले सार्वजनिक धारो र गोरेटो बाटो निर्माण गरिदिएका छन् ।
बागलुङ नगरपालिका वडा नं. ३ खहरे निवासी बुवा दुर्गाबहादुर खत्री र आमा गौरा कुमारी खत्री सहित उहाँहरुको परिवारले स्वर्गीय छोरा हिराबहादुर खत्रीको स्मृतिमा सार्वजनिक खानेपानी धारा र गोरेटो बाटो निर्र्माण गरिदिएका हुन् ।

२०३९ साल चैतमा जन्मिएका हिराबहादुर खत्रीको २०५५ जेठ १७ गते दुर्घटनामा परी निधन भएको थियो । स्वर्गीय खत्रीका भाई भीमबहादुर खत्री, बुहारी सावित्री खत्री, भतिज भोजराज खत्री, बहिनी धनमाया खड्का र भीमा खत्री सहित परिवारले ९७ हजार ७ सय ५१ रुपैया खर्च गरेर धारा र बाटो बनाएका हुन् ।

खहरेका करिव २० परिवारले खानेपानी र सरसफाईका लागि प्रयोग गर्ने उक्त खानेपानी धारो निर्माणका लागि स्थानीय हिराबहादुर कार्की र उजेली कार्कीको परिवारले जग्गा निशुल्क प्रदान गरेको थियो ।

पानीको मुल भएको उक्त स्थानमा ट्यांकी र धारो निर्माण पछि स्थानीय वासिन्दालाई खानेपानी र सरसफाईमा सहज हुने स्थानीयले बताएका छन् ।

खत्री परिवारबाट निर्मित खानेपानी धारो र गोरेटो बाटोको सोही परिवारकी सदस्य समेत रहेकी सांसद मनकुमारी के.सी.ले शुक्रवार उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै सांसद केसीले स्वर्गीय भाईको सम्झनामा परिवारका तर्फबाट गरिएको सामाजिक कार्यले आफुलाई अत्यन्तै खुशी तुल्याएको बताउनु भयो ।

विकास निर्माण लगायतका काम गर्दा खानेपानीका थुप्रै स्रोतहरु हराउने अवस्था सिर्जना भएको भन्दै उहाँले पानीका मुहानहरुको संरक्षणका लागि स्थानीयको सक्रियतामा जोड दिनुभयो ।

हरेक परिवारले समाजमा एउटा एउटा योगदान गर्न सक्ने हो भने विकास निर्माणमा समेत सहजता आउने भन्दै उहाँले सरकार र जनताबीच सहकार्य हुन सकेमा मात्रै विकासले गति लिने बताउनु भयो ।

कार्यक्रम स्थानीय समाजसेवी लालबहादुर खत्रीको अध्यक्षता, खत्री परिवारका सदस्य प्राध्यापक मनबहादुर खत्रीको स्वागत र रामकाजी भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung