२५ असार २०८२, बुधबार

 

सहकारीमा आवद्ध युवा महिलाहरुका लागि सञ्चालित लेखा व्यवस्थापन तालिम सम्पन्न

उद्यमशिलता मार्फत आयआर्जन गर्नका लागि सहकारीमा आवद्ध भएका र आवद्ध हुने तयारीमा रहेका फलेवास नगरपालिका पर्वतका युवा महिलाहरुका लागि सञ्चालित सहकारी लेखा व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ ।

युवा महिलाहरुलाई सहकारी मार्फत आत्मनिर्भर गराउन तथा उनीहरुलाई वित्तीय रुपमा साक्षर बनाई आर्थिक व्यवस्थापनमा सक्रिय बनाउने उदेश्यका साथ इन्प्रेड नेपालको आयोजनामा तालिम सञ्चालन भएको थियो ।

३ दिनसम्म सञ्चालित सहकारी लेखा व्यवस्थापन तालिममा पर्वतको फलेवास नगरपालिका वडा नं. ५, ६ र ७ विभिन्न समुह र सहकारी संस्थामा आवद्ध १६ देखि ३५ वर्ष उमेर समुहका २५ जना युवा महिलाहरुको सहभागिता रहेको थियो ।

समुह र सहकारीमा आवद्ध युवा महिलाहरुले जम्मा गरेको रकमलाई सहकारी संस्थामा कसरी व्यस्थित रुपमा परिचालन गर्ने, त्यसको लेखा कसरी राख्ने र थप आयआर्जन कसरी गर्ने जस्ता विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गर्नु भएको थियो । संस्था स्थापनासंगै वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम सहयोगी हुने उहाँको भनाइ छ ।

इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता लगायत सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका कार्यक्रम संयोजक टुकप्रसाद शर्माले जानकारी दिनुभयो ।

समुहमा आवद्ध महिलाहरुले गर्दै आएको बचतलाई संस्थागत रुपमा सहकारी संस्थामार्फत परिचालनका लागि संस्था स्थापना गरी दर्ता प्रक्रिया अगाडि बढाएका युवा महिलाहरुले सहकारी लेखापालन तालिमले संस्था सञ्चालनमा सहजता आउने बताएका छन् । वचतको कारोबार पहिलादेखि नै गरी रहेका छौ, त्यसलाई संस्थागत गर्नका लागि सहकारी आवश्यक भएकाले संस्था दर्ता गर्न लागेको प्रस्तावित खानीगाउँ महिला वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष प्रतिभा नेपालीले बताउनु भयो ।

समुहमा संकलित वचन परिचालन भन्दा सहकारीको फरक हुने भएकाले लेखा तालिममा सहभागी भएको खानीगाउँ युवा महिला सञ्जालका सचिव लिवियाना चौहानले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung