२ जेष्ठ २०८१, बुधबार

 

बडिगाडमा भेडाबाख्रालाई पिपिआर विरुद्धको भ्याक्सिनेसन

कमल पौडेल, बडिगाड ।
नेपाल सरकारको पिपिआर उन्मुलन कार्यक्रम अन्तरगत बागलुङको बडिगाड गाउँपालिकामा भेडाबाख्राको महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिनेसन कार्यक्रम सुरु भएको छ । बुधबारदेखि बडिगाड गाउँपालिकाको वडा नम्बर ९ र १० दर्लिङमा एकैसाथ भ्याक्सिनेसन कार्यक्रम सुरु गरिएको पशुसेवा शाखा प्रमुख बसन्त गौतमले जानकारी दिए ।

पिपिआर भेडाबाख्राको महामारी रोग भएको र रोग लागिसकेपछि उपचार नहुने र मृत्यूदर उच्च हुँदै गोठ सहित गाउँभरकै भेडा बाख्रा सखाप हुन सक्ने भएकोले राष्ट्रिय कार्यक्रम अनुरुप नै अनिवार्य भ्याक्सिन लगाउन लागिएको गौतमले जानकारी दिए ।

निशुल्क रुपमा गोठमै गएर सञ्चालन गरिने भ्याक्सिनेसन कार्यक्रममा गाउँपालिका भित्रका सबै पशु प्राविधिकहरुलाई परिचालन गरिएको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । माघ २५ गते भित्र बडिगाडमा भ्याक्सिनेसनको कार्यक्रम सम्पन्न गरिने र कुनै पनि समस्या भए गाउँपालिकाको पशुसेवा शाखा तथा पशुसेवा केन्द्रमा सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्