११ कार्तिक २०८३, मंगलवार

 

उत्तरगंगा जलविद्युत आयोजनाको अध्ययन गर्दै प्राविधिक टोली

 

प्रस्तावित उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली बागलुङ आएको छ ।

आयोजनाको बातावरणीय प्रभाव मूल्याङ्कन, आयोजना प्रभावित क्षेत्रका बासीन्दाको राय र लगत संकलनका लागि प्राविधिक टोली आजोजना स्थलमा खटिएकोे नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको बातावरणीय प्रभाव मुल्याङ्कन र प्राभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजना भित्र पर्ने जग्गा, रुखलगाएतको लगत संकलनका लागि प्राविधिक टोली ढोरपाटन आएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका सहायक निर्देशक कृष्ण प्रसाद जोसी, बातावरण विभागका सह–निर्देशक अच्युत दवाडी, बातावरणविद् विनोद प्याकुरेल, सिभिल ईन्जीनियर कौशल घिमिरे र सिभिल ईन्जीनियर कैशल अन्सारी लगाएतको १० जनाको प्राविधिक टोलीले अहिले आयोजना स्थलको विस्तृत अध्ययन गरिरहेको छ ।

आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूची सहितको प्रतिवेदन बन तथा बातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययनका लागि प्राधिकरणको टोली आएको नेपाल विद्युत प्राधिकरणका सहायक निर्देशक कृष्ण प्रसाद जोशीले राससलाई बताउनुभयो ।

‘अहिले आयोजना अध्ययनकै चरणमा छ,’ सहायक निर्देशक जोशीले भन्नुभयो ‘आयोजनाले समाजमा पार्न सक्ने भौतीक, जैवीक, सामाजिक र सांस्कृतिक बातवरणको गंभिर अध्ययन गरिरहेका छौं ।’ प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वस्ती स्थान्तरणको संभावना, प्रभावितहरुलाई प्रदान गरिने मुआव्जा, स्थानीयको मागका विषयमा स्थानीयहरुलाई राय संकलन समेत गरिरहेको छ ।

उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना थोरै लगानीमा धेरै विद्युत उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको अध्ययन टोलीका सदस्य बातावरण विभागका सह–निर्देशक अच्युत दवाडीले बताउनुभयो । ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगंगा जलाशययुक्त आयोजना रहेको दवाडीको भनाई रहेको छ । वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) अध्यायन प्रतिवेदन भइसकेपछि आयोजना निर्माण गर्न अनुमति पत्र (लाईसेन्स) प्राप्त गरेर निर्माणको काम थालिने प्राधिकरणको भनाई रहेको छ । गण्डकी प्रदेशको समृद्धिका लागि आयोजनाले ठूलो भूमिका खेल्ने ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले बताउनुभयो ।

८२८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत आयोजनाको लामो समय सम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन । आयोजना रुकुम तर्फ खसाल्दा जम्मा ३५० मेगावाट उत्पादन हुनेभएपछि निसिखोलानै खसाल्ने निधो भएसंगै आयोजनाले गति लिएको छ ।

उक्त आयोजना निर्माण गर्नका लागि करिव ६०० घर धुरी विस्थापित हुनेछन् भने ५ हजार कित्ता जमिन प्रयोग हुनसक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ । ढोरपाटनमा रहेको उत्तरगंगा नदिको पानीलाई १ हजार ३५० मिटर तल निसिखोलामा खसालेर विद्युत उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ । आयोजना निर्माणका लागि करिव १२० अर्ब खर्च लाग्ने छ । जलाशययुक्त जलविद्युुत आयोजना निर्माण भएपछी बर्खा र हिउँदमा एकै किसिमको विद्याुत उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung