बेनी । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले हिमपात पिडित कृषकहरुलाई राहत र क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद तुलाचनले एक महिनादेखिको हिमपातका कारण मुस्ताङको जनजिवन कष्टकर बनेको, यातायात, सञ्चार, विद्युत सेवा अवरुद्ध भएको, विकास योजना प्रभावित भएको र करोडौको पशुधनको क्षति भएको जानकारी गराए ।
सांसद तुलाचनले हिमपातका कारण कष्टकर बनेको स्थानीयबासीको जनजिवन सहज बनाउन र भेडा, च्याङग्रा तथा चौरी गाई मरेर नोक्सानी ब्यहोरेका कृषकहरुलाई सरकारको तर्फबाट राहत तथा क्षतिपूर्तीको व्यवस्था मिलाउन ध्यानाकर्षण गराउनुभयो । उपल्लो मुस्ताङमा हिमपातका कारण आहराको अभावमा सँयौ भेडा, च्याङग्रा र चौरीगाई मरेका छन् ।
यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य उर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको छ । सौर्य उर्जा स्टेशन चार्ज हुन नसक्दा गाउँ अन्धकार बनेको लोमान्थाङका रामबहादुर गुरुङले बताए । चार वर्षअघि चिन सरकारको एक करोड रुपैयाँ सहयोगमा सौर्य उर्जा परियोजना जडान गरेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा रहेको लोमान्थाङमा विद्युत आपूर्ति गरिएको थियो ।
‘सौर्य उर्जाको भर परेर वैकल्पिक व्यवस्था गरेका थिएनौ’ गुरुङले भन्नुभयो ‘परियोजना बन्द भएपछि उज्यालोका लागि बत्ति बाल्न, मोवाइल चार्ज गर्न, टेलिभिजन हेर्न पाएका छैनौ ।’
उक्त सोलार उर्जाबाट उपल्लो मुस्ताङका लोमान्थाङ, छोन्हुप, छोसेर र सुर्खाङ क्षेत्रका एक हजार ३६६ घरमा विद्युत सुबिधा पुगेको थियो । राष्ट्रिय प्रशारण लाइन नपुगेका उपल्लो मुस्ताङ क्षेत्रमा ३० वटा सोलार प्यानलबाट उत्पादित उक्त विद्युतले लोमाङथाङ क्षेत्र उज्यालो बनेको थियो । चिन सरकारले आफ्नै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सौर्य उर्जा स्टेशन मर्मतका लागि उनीहरुनै आउनुपर्ने भएकाले तत्काल मर्मत गर्न सक्ने अवस्था नरहेको लोमान्थाङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पेमा आङ्ग्या गुरुङले बताए ।



















































































































































































































