६ जेष्ठ २०८१, आईतवार

 

उत्कृष्ट दलित बस्तीलाई पुरस्कृत गरिने

बागलुङ । नगरमा रहेका दलित बस्तीहरुमा सरसफाई र मेलमिलापको वातावारण सिर्जना गर्न जैमिनी नगरपालिकाले उत्कृष्ट दलित बस्तीलाइ पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले बनाएको कार्यदलले गरेको सिफारिसका आधारमा उत्कृष्ट ठहरिएका तीन दलित बस्तीलाई पुरस्कृत गर्न लागिएको हो ।

यस बर्षको नीति तथा कार्यक्रममा प्राथमीकतामा राखेर अघि सारिएको सरसफाई कार्यक्रम अन्तरगत दलित बस्तीलाई पुरस्कृत गर्न लागिएको नगर प्रमुख इन्द्रराज पौडेलले बताए ।  यसबर्ष जैमिनी नगरपालिका–७ जैदीमा रहेको गगनपानी दलित बस्ती प्रथम, जैनपा–२ वोरडाँडा दलित बस्ती दोस्रो र वडा नं ५ मा रहेको कुसुण्डे दलित बस्ती तेस्रो भएका छन् । नगरभित्रका दशवटा दलित बस्तीहरुमा पुगेर नगरले बनाएको कार्यदलले बिभिन्न सूचक हरुका आधारमा बस्तीहरुको मुल्याङ्कन गरेको थियो ।

बस्तीको सुन्दरता, घर वरपरको सरसफाई, बस्तीमा बस्नेहरुको सरसफाई, छिमेकीबीच रहेको मेलमिलाप, घर वरिपरि रहेको करेसाबारी, दैनिक खानपानमा प्रयोग हुने बस्तुहरु, एक आपसमा सहयोगको भावना लगायतका सूचकहरुको आधारमा उत्कृष्ट बस्ती छनौट गरिएको पौडेलले बताए । यस बर्षको बजेटमा ७० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ । उत्कृष्ट तीन बस्तीलाई सोही रकमबाट पुरस्कृत गरिने छ ।

‘हाम्रो समुदायमा सुधारको वातावरण बनाउने प्रेरणा मिलोस् भनेर हामीले यो कार्यक्रम ल्याएका हौं’ पौडेलले भन्नुभयोे ‘पुरस्कृत हुने बस्तीहरुका कारण अन्य समुदायमा समेत सकारात्मक परिवर्तन गर्ने उत्प्रेरणा जाग्ने छ ।’ अनुगमनका क्रममा नगरभित्र रहेका सबै दलित बस्तीहरुमा सरसफाई र चेतनाको स्तर निकै माथि रहेको पाईएको कार्यदल सदस्य भेषराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्