१० कार्तिक २०८३, सोमबार

 

ढोरपाटनका मेयर देवकुमारकाे याेजना : उत्पादनमा आत्मनिर्भर बन्ने

बागलुङ । ढोरपाटन नगरपालिकाबाट निर्वाचित मेयर देवकुमार नेपालीले नगरमा आर्थिक समृद्धिसँगै स्थानीय उत्पादनलाई व्यवस्थित बनाएर आयस्तरमा बृद्धि गर्ने योजना बनाएका छन् । आलु उत्पादनको पकेट क्षेत्र मानिएको ढोरपाटनबाट आलु निर्यात गर्ने उनकाे योजना छ । दुरदराजका बस्तीका बासिन्दालाई आत्मनिर्भर बनाउने धेरै योजना बनाएका छन् । उनका केही योजना महत्कांक्षी समेत छन् । तरपनि उनले स्थानीय स्रोतलाई पहिचान गरेर उत्पादन बढाउन ध्यान दिएका छन् । अहिलेसम्म खाद्यान्नमा परनिर्भर रहेको ढोरपाटनलाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्ने उनको योजना छ । कृषि उत्पादनलाई उनले जोड दिने बताए ।

नेपालको एकमात्र शिकार आरक्षण क्षेत्र उनको नगरपालिकामा पर्छ । त्यसले पनि उनलाई राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय निकायसँग जोड्ने कार्य भएको छ । ढोरपाटन क्षेत्रको पर्यटन विकासमा र त्यहाँको हरेक टोलमा मोटरबाटो बनाउने र स्तरोन्नति गर्न उनी लागि परेका छन् । ढोरपाटन शिकार आरक्ष आफ्नै नगरपालिकाभित्र पर्ने भएकाले त्यहाँबाट हुने आम्दानीलाई स्थानीय विकासमा खर्च गर्ने नेपालीको योजना छ । ‘ढोरपाटन नगरपालिका बनेपनि अहिलेसम्म त्यहाँको विकास अपेक्षित विकास हुन सकोको छैन् ।’ उनी भन्छन् ‘यहाँका बासिन्दाको मुहारमा परिवर्तन ल्याउने गरी विकासका कामलाई प्राथमिकता दिने छु ।’  यहाँको स्थानीय उत्पादनलाई बैज्ञानिक व्यवस्थापन गरी कृषिमा आत्म निर्भर बन्न जोड दिने  उनले बताए ।

खेलाडी देव कुमारको मेयरसम्मको यात्रा  

२०४५ सालतिर बुर्तिबाङ वरपर देवकुमारको चर्चा त्यतिबेला बढ्यो। जतिबेला उनी भलिबलको अब्बल खेलाडी साबित भए । तात्कालीन उत्तरगंगा माविका विद्यार्थी उनको चर्चा विं.सं. २०५० को दशकसम्म आइपुग्दा युवा पुस्तामा अझ चुलियोे । ‘देबकुमारले स्पाइक हानेपछि कसैले उठाउन सक्दैन’, त्यतिबेला बाग्लुङका युवामाझ एउटा भनाइ स्थापित भयो।

हुन पनि क्षेत्रीय तहमा भलिबल खेल्न गएका देवकुमार कहिल्यै रित्तो हात फर्किएनन्। उनी सधैँ देवकुमार कहलीरहे । भलिबल खेल्ने क्रममै रणसिंह किटेनीबाट एक मगर युवतीसँग विवाह गरे। पछि उनको चर्चाको विषय फेरियो। ‘दमईको छोराले मगर्नी विवाह ?’, उनी फेरि चर्चित बने। विवाह पछि देवकुमारले बुर्तिबाङमा एउटा फेन्सी पसल खोले। त्यतिबेला बुर्तिबाङमा नेकपा मसालको जगजगी थियो । संयोग माओवादीले बेनी आक्रमण गर्दा तिनै बराल बेनीस्थित नेपाल बैंकका हाकिम थिए। यी सबै संयोगहरु देवकुमारसँग साइनो राख्दैन तर यी विषयबिना उनको आर्थिक विश्लेषणको पाटो अपुरै रहन्छ ।

बुर्तिबाङको तल्लो बजारमा पक्की घरसहित उनले व्यापार सुरु गरेका थिए। त्यहीदेखि उनले राजनीति चाखे। उनको राजनीतिक पृष्ठभूमि मसालसँग जोडियो। सरल स्वभावका उनीसँग युवाको हिमचिम बढ्नु स्वभाविक थियो। धेरै समय उनी युवासँगै रम्थे। त्यसको अर्को सामाजिक पक्ष देखियो त्यो के भने देवकुमारका हकमा बुर्तिबाङ बजार जातीय भेदभावका विषयमा नरम बन्न थाल्यो। बुर्तिबाङ वरपर देवकुमारको हकमा केही छुवाछुतको कुरा उठाउन सक्ने स्थितिमा रहेन।

हो यसर्थमा छुवाछुत मुक्तिको दिशामा उनको योगदान महत्वपूर्ण रह्यो। त्यतिबेला कथित ‘उपल्लो जात’काहरुलाई ‘ओई र तँ’ भनेर सम्बोधन गर्ने हिम्मत उनीमा मात्रै थियो। २०५४ को स्थानीय चुनावपछि मसालबाट लीलबहादुर थापा मगर जिल्ला विकास समितिको सभापति बने। उनको हिमचिमबाट प्रहरी राशनको ठेक्कामा प्रवेश गरे देवकुमार । २०५५ देखि देवकुमारले बुर्तिबाङ छोडे। फेन्सी छोडेर हिँडेका देवकुमारले ढोरपाटनमा बसोबास गर्ने एक तिब्बतीयन युवतीसँग दोस्रो लगनगाँठो कसे । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले पोखरामा साइकल होलसेल पसल सुरु गरे।

बुर्तिबाङ वरपरका क्लब एवं गाउँका सामाजिक काममा दान गर्न उनी हेलिकप्टर लिएर जान थाले। त्यतिबेला पोखरामा उनलाई स्थापित गराउन गल्कोटका पुराना माओवादी कमरेड पहाड (मेखबहादुर विक) ले निकै सहयोग गरेका थिए। देवकुमार बुर्तिबाङमै हुँदा नेपाल बैंकमा सूर्य बराल (हाल सेवा निवृत्त) हाकिम भएर गएका थिए। उनीसँग देवकुमारको २०५५ तिर निकै राम्रो सम्बन्ध बन्यो। अहिले बित्त क्षेत्रमा देवकुमारको लगानी बढ्नुमा बरालको सुझाव सल्लाह हुनसक्ने धेरैले अड्कल गर्छन्।

पोखराबाट देव गुरुङले चुनाव जित्दा देवकुमारले ठूलै सहयोग गरेका थिए। गुरूङसँग उनले मित लगाए। पोखरामा देव गुरूङका भरपर्दा सहयोगी  देवकुमार बने ।  पार्टी विभाजनका क्रममा देवकुमार गुरूङसँगै रहे। पार्टी एकतापछि बागलुङका हिल, तारा, अर्गलमा वतर्मान गृहमन्त्री रामबहादुर थापा बादललाई हेलिकप्टरमा सयर गराउने देवकुमार नै हुन्। दोस्रो संविधानसभा चुनावमा बागलुङ क्षेत्र नम्बर २ बाट माओवादीका उम्मेदवार लीलबहादुर थापा मगरको चुनाबी अभियान खर्च उनले नै गरे । आर्थिक रुपले फड्को मार्दै गइरहेका बेला देवकुमारले जिन्दगीमा नसोचेको बज्रपात आइलाग्यो। ब्याडमिन्टनमा राष्ट्रिय खेलाडी बनिसकेका छोरा गुमाउँदाको पीडा उनले सहे ।

पहिलेदेखि समाजिक काममा अगाडि देखिने उनी त्यो घटनापछि अझ सक्रिए भए । महिनाको ४ पटकसम्म हेलिकप्टरमा शिक्षा, खेलकूद सामग्री, खानेपानी कार्यक्रम लिएर उनी बुर्तिबाङ पुग्न थाले। राजनीतिका अतिरिक्त संचारक्षेत्रलाई मैत्री व्यवहार गर्ने देव कुमार गण्डकी प्रदेशमा दलित समुदायबाट मेयर जस्तो गरिमामय पदमा निर्वाचत बन्ने पहिलो बन्न सफल रहे । ढोरपाटनको समाजको यर्थाथता र धरातलीय अवस्था बुझेका देव कुमार ५ बर्षे कार्यकालमा कुमारलाई थाती राखेर आफ्ना मतदाताका सामु देव बन्छन् बन्दैन ? उनको कार्यशैलीले निर्धारण गर्नेछ । कामना, उनको कार्यकालमा विकास, सुख, समृद्धि र एकताले ढोरपाटनको नामाकरण देव पाटन बन्न सकोस ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung