५ श्रावण २०८३, मंगलवार

 

जलजलामा प्रधानमन्त्रि कृषि परियोजनाकाे मकैको बिउ वितरण

बागलुङ। बडिगाड गाउँपालिकाको  जलजलाका स्थानीय ३ सय ५६ कृषक परिवारलाई १५ क्वीन्टल मकैको बिउ वितरण गरिएको छ। प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तरगत भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश बाट बडिगाड गाउँपालिका मार्फत प्राप्त ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो।

जलजलालाई मकै पकेट क्षेत्रको रुपमा विकास गरि अर्को वर्ष ५० क्वीन्टल बिउ निर्यात गर्ने लक्ष्य सहित काम सुरु गरिएको मकैपकेट क्षेत्र संचालन समिति जलजलाका अध्यक्ष झविन्द्र वुढाथोकीले जानकारी दिए । कृषि ज्ञान केन्द्र, पर्वतको सिफारिसमा जिल्लाकै जैमिनि नगरपालिका वडा नं. १० वाट सो बिउ झिकाइ वितरण गरिएको वुढाथोकीले जानकारी गराए ।

साविक जलजला गाविसको वडा नं. १ देखि ५ सम्मको क्षेत्रमा सिमा किटान गरि सो कार्यक्रम संचालन गरिएको अध्यक्ष वुढाथोकीले वताए । मकैपकेट क्षेत्रको लागि विनियोजित १० लाख रुपैयाँ मध्ये झण्डै ९० हजारको बिउ आएको र बाँकी रकमको मकै खेतिसँग सम्बन्धित औजार खरिद गरिने बताए । गतवर्ष बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा मकैपकेट क्षेत्र घोषणा गरिएको बडिगाड गाउँपालिका वडा नं. १ दगातुन्डाडावाट २० क्वीन्टल विउ निर्यात गर्न सकिने भएको छ। दगातुन्डाडा कृषि समुहका अध्यक्ष भिमसेन वनका अनुसार यस वर्ष १५ क्विन्टल मनकामना ३ र ५ क्वीन्टल देउकी जातको मकैको बिउ विक्रि गर्ने गरि तयारी गरिएको छ। गत वर्ष ५ सय ४० केजि मुल विउ रोपिएको दगातुन्डाडा क्षेत्रमा यस वर्ष ८ क्वीन्टल मुल दगातुन्डाडा कृषि समुह रोप्ने तयारी गरिएको छ।

दगातुन्डाडा क्षेत्रलाई ४ ओटा क्लष्टरमा विभाजन गरि ३ कलष्टरमा मनकामना ३ र एक क्लस्टरमा देउती जातको बिउ रोपिने र बिउको शुद्धतालाई निकै ध्यान दिएको, अध्यक्ष वनले जानकारी दिए । ठूलो दाना सहित धेरै फल्ने देउती जातको मकै १५ सय मिटरसम्मको उचाइमा लगाउन सकिन्छ, भने मनकामना ३ उच्च पहाडि क्षेत्रमा समेत उत्पादन गर्न सकिन्छ। बडिगाड क्षेत्रलाई मकैमा आत्मनिर्भर गराउँदै निर्यात गर्न सक्ने बनाउने भन्दै गत वर्ष गाउँपालिकाकै सहयोगमा मकैपकेट क्षेत्र घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung