बागलुङ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलाई आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले मंगलवार सम्मान गरेको छ ।
साविक धौलागिरि क्षेत्रको सहकारी अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका उप्रेती राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा निर्वाचित हुनु भएकोमा वधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।

संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले दोसल्ला ओढाएर बैकका अध्यक्ष उप्रेतीलाई सम्मान गरेका थिए । उनले सहकारी अभियानमा उप्रेतीले खेलेको भूमिका उल्लेखनीय रहेको र आगामी दिनमा थप सक्रियता र समन्वयका साथ सहकारी अभियानमा लाग्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष उप्रेतीले सहकारी बैंक सहकारी क्षेत्रको भरोशायोग्य संस्थाका रुपमा स्थापित भइसकेको र आगामी दिनमा यसका सेवालाई थप विविधिकरण गर्दै सहकारी क्षेत्रमार्फत राष्ट्रिय आयमा योगदान गर्ने गरी योजना बनाएर अगाडि बढिएको बताए ।
सूचना तथा सञ्चारका क्षेत्रमा आदर्श सञ्चार सहकारीले गरेको काम उल्लेखनीय रहेको भन्दै उनले यसको कार्यक्षेत्र विस्तार गरी सहकारी क्षेत्रलाई प्रभावकारी बनाउन सहयोग पुग्ने हिसावले सञ्चार सामग्री प्रकाशन प्रशारण गर्न सुझाव दिए ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाको बारेमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव ललिता थापालकाे रहेकाे थियाे ।




















































































































































































































