
सुमन जिसी
बागलुङ । नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष पुरा भएको अवसरमा बागलुङमा पनि विविध कार्यक्रम गरी ६२ औं राष्ट्रिय सहकारी दिवश कार्यक्रम मनाईएको छ ।
जिल्ला सहकारी संघ लि बागलुङको आयोजना र विषयगत सहकारी संघ तथा प्रारम्भीक सहकारी संस्थाहरुको सहयोगमा सहकारी दिवश कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।
विहान ७ बजेदेखी बागलुङ बजारको समिट चोकबाट जिल्ला स्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधि तथा कर्मचारीहरुको सहभागितामा प्रभातफेरीसहित बागलुङ बजार परिक्रम गरी कार्यक्रमको सूरुवात भएको थियो । कार्यक्रमको मुल समारोह ब्राउन आईज रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।
दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल नाराका साथ सम्पन्न सहकारी दिवस कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले गरेका थिए ।
उद्घाटनका क्रममा बोल्दै उप्रतीले बागलुङ जिल्ला गण्डकी प्रदेशकै सहकारीको उद्गम स्थल भएको बताएका थिए । बागलुङले सहकारीको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै उप्रेतीले केन्द्रिय तहका सबैठाउँमा बागलुङका सहकारीकर्मीहरु नेतृत्वमा पुग्नुले बागलुङले सहकारीको महत्व राम्रोसंग बुझेको उप्रेतीको भनाई थियो ।
कार्यक्रममा संघिय सांसद मनकुमारी केसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जिसी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेल लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रतिनिधि तथा विषयगत सहकारी संघका सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न उद्देश्यका सहकारी संस्था तथा सहकारीकर्मी व्यक्तिहरुलाई उत्कृष्ट काम गरेबापत पुरस्कृत तथा सम्मान गरिएको थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।