बागलुङ। सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो दशौं स्थापना दिवस नवाहव्यापी रुपमा माईरहेको सन्दर्भमा सातौं दिनको कार्यक्रम अन्तर्गत आईतबार बागलुङ बजारमा युवा गोष्ठि तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ ।
युवाहरुको वित्तीय चेतनामा अभिबृद्धि गरी फजुल खर्ची हुनबाट जोगाउने, बचतका तरिकाहरु सिकाउने र युवाहरु मार्फतनै देशमा उद्यमशिलता सिर्जना गर्न सकिन्छ भन्ने भावना जागृत गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको उद्घाटन सिवाईसी साकोसका सचिव वेद प्रसाद शर्माले गरेका थिए ।

उद्घाटनका क्रममा बोल्दै शर्माले युवाहरुले उद्यमशिलताका लागि स्पष्ट खाका लिई परियोजना सञ्चालन गर्न चाहेमा सिवाईसीले सधैँ साथ दिने बताएका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, लायन्स क्लव अफ पञ्चकोट बागलुङका सचिव श्रीकृष्ण पौडेल, स्वतन्त्र विधार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसका सचिव विष्णुराज पौडेल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा वित्तीय साक्षरता र सकरात्मक सोच सम्वन्धमा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्माले सहजिकरण गरेका थिए । कार्यक्रम पश्चात सहभागिहरुको तर्फबाट पुर्णवहादुर पुनले आफ्ना भनाईहरु राखेका थिए ।
५० जना युवाहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता सिवाईसी साकोसको युवा विकास उपसमितिका सदस्य ऋषीराम गौतमले गरेका थिए ।



















































































































































































































