बागलुङ– गलकोट नगरपालिका–७ मल्मका चन्द्रबहादुर रामजाली उमेरले ७८ वर्ष पुगे । पत्नी सरस्वती ८० वर्ष । बुढ्यौलीले छपक्कै छोपेका उनीहरूलाई दैनिकी चलाउनै कष्ट छ । सहारा दिने कोही छैन ।
भएकी एउटी छोरी बिहे गरेर गएको वर्षौं भइसक्यो । उमेर छँदा मजदुरी गरेर गुजारा चलाएका उनीहरूलाई अहिले छाक टार्नै हम्मे छ । आम्दानी भनेको सरकारले दिने सामाजिक सुरक्षाअन्तर्गतको वृद्धभत्ता मात्रै हो । सम्पत्तिका नाममा खरको छानो भएको पुरानो गोठबाहेक केही छैन । त्यही पनि बर्खामा ठाउँठाउँबाट चुहिन्छ ।
‘पहिले सक्ने बेलामा गाउँघरमा परिश्रम गरेर गुजारा चलाएका थिए,’ स्थानीय मित्र खरेलले भने, ‘अहिले उनीहरूलाई दैनिकी काट्नै कठिन भएको छ । समयसमयमा छिमेकीले केही सहयोग त गरेका छन् । तर सधैं छिमेकीको भरले चल्दो रहेनछ ।’
तत्काललाई घुम्टे युवा परिवार वृद्ध दम्पतीको सहारा बनेको छ । सामाजिक क्षेत्रमा क्रियाशील संस्थाले उनीहरूलाई खाद्यान्न र बिस्तरा सहयोग गरेको छ । दुई बोरा चामल, दाल, नुन, तेल, चिनी, चियापत्ती उपलब्ध गराएको छ । यसबाट उनीहरूलाई केही समय गुजारा चलाउन सहज हुने भएको छ ।
‘समाजका दीनदुःखीको सेवा गर्ने हाम्रो कर्तव्य हो, सोही बुझेर उहाँहरूलाई सहयोग गरेका हौं,’ संस्थाका अध्यक्ष थम्मन थापा ‘सन्देश’ले भने, ‘यसपटक १० हजारबराबरको सामग्री सहयोग गरेका छौं, आउँदा दिनमा पनि हाम्रो क्लब उहाँहरूको सहारा बन्नेछ ।’
रामजाली दम्पतीको दयनीय अवस्थाबारे स्थानीय एफएम रेडियोमा समाचार सुनेपछि सहयोग जुटाएको थापाले बताए । ‘बिहान–बेलुका छाक टार्न दैनिक उपभोग्य सामग्री र न्यानो बिस्तराको अभाव रहेको सुनेपछि खाद्यान्न र कपडा सहयोग गरेका हौं,’ उनले भने ।
सहयोग सामग्री बुझेपछि चन्द्रबहादुरले संस्था आफूहरूको सहारा बनेको बताए । ‘उमेर ढल्कँदै गएपछि काम गर्न पनि गाह्रो हुँदो रहेछ, बिहान–बेलुका छाक टार्न पनि कठिन भयो,’ उनले भने, ‘क्लबले हामीलाई ठूलो राहत दियो, धेरै खुसी लाग्यो ।’ उनले संस्थाको थप प्रगतिको कामना गरे ।
२०४१ सालमा स्थापित उक्त संस्थाले स्थानीय स्तरमा तालिम, गोष्ठी, युवा जागरण, टोल सरसफाइ, जनचेतनामूलक कार्यक्रम, विकृति–विसंगति न्यूनीकरण अभियानसँगै खेलकुद, कलासंस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ ।



















































































































































































































