९ कार्तिक २०८३, आईतवार

 

समृद्धिको वैज्ञानिक निकाय सहकारी: पौडेल

बागलुङ। राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले सबैको अर्थिक समृद्धिको वैज्ञानिक आधार सहकारी भएको बताएका छन् । नेपाल सरकारको सहकारी विभागको सहयोगमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङको आयोजनामा भएको सहकारी ऐन २०७४ तथा सम्पत्ती सुद्धिकरण निवारण अभिमुखीकरण विषयक तालिमको उद्घाटन गर्दै पौडेलले देशको विकासका लागि सहकारीहरुले आफ्नो सदस्यहरुलाई समृद्धिको मार्गमा डोर्‍याउँनुपर्ने बताए ।

‘हामीलाई अब चाहिएको आर्थिक समृद्धि र विकास हो,’ उनले भने,‘त्यो सहकारीबाट सम्भव छ । सबैको सामुहिक विकासका लागि भूमिका खेल्न सक्ने संस्था भनेको सहकारी नै हो । त्यस अनुसार सहकारीहरुले आफुलाई अगाडी बढाउनुपर्छ ।’ नेपालका सहकारीहरुमा स्रोतको भन्दा पनि सोचको कमी भएका कारण समस्या भएको उनको भनाई छ ।

‘अहिले सहकारी संस्थाहरुमा प्रशस्त स्रोत छन्, तर सोचको कमीका कारण लगानीबाट अपेक्षाकृत सफलता हाँसिल गर्न सकेका छैनन,’ उनले भने,‘अब सोचमा परिवर्तन ल्याउनुपर्छ । आर्थिक विकासको लक्ष्य हाँसिल गर्ने सजिलो माध्यम नै सहकारी हो ।’ सहकारी अभियानलाई धक्का पुग्नेगरी आएका सहकारी ऐन र नियमावली सुधार हुने समेत उनले बताए । ‘अहिले पछिल्लो पटक आएका सहकारी ऐन र नियमावलीबाट सहकारीका साथीहरु धेरै नै डराए जस्तो लाग्यो,’ उनले भने,‘सहकारी ऐन सुधार भएर आउँछ । नियमावली पनि ९५ प्रतिशत सुधारिएको छ ।’

सहकारी अभियान चरम राजनीतिकरणमा परेको समेत उनको भनाई छ । ‘अहिले पनि सहकारी अभियानमा राजनीति हाबी छ, अब सहकारीकर्मीहरु राजनीतिमा जानु जरुरी छैन,’ पौडेल भन्छन्,‘हामीलाई चाहिएको समृद्धि हो । समृद्धि सहकारीबाट सम्भव छ । यो नै वैज्ञानिक निकाय हो ।’ सहकारी संस्थाहरुले उत्पादन गरेको वस्तुको ब्राण्डिङ र लेबलिङको समस्यालाई तत्काल सम्बोधन गर्ने प्रयास भैरहेको उनले बताए । ‘यहाँ अघि पनि कुरा उठ्यो सहकारीका उत्पादनको ब्राण्ड र लेबलिङका लागि समस्या छ,तपाईहरु ढुक्क भएर उत्पादनमा लाग्नुस् ब्राण्डिङ र लेबलिङको समस्या हल हुन्छ,’ उनले भने । सहकारी सम्बन्धी सचेतनात्मक कार्यक्रम गर्न चाहाने सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी विकास बोर्डले आर्थिक रुपमा पनि सहयोग गर्ने गरेको उनले जानकारी गराए ।

कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी अभियानमा राजनीतिकरण हाबी भएकै कारण सहकारी अभियान कमजोर बन्न पुगेको बताए । ‘हामीहरु कसरी सहकारी अभियानलाई अगाडी बढाउने भन्नेमा भन्दा पनि कुन पार्टीको व्यक्तिलाई नेतृत्व पुर्‍याउने भन्नेमा धेरै भुल्यौं,’ उनले भने,‘त्यस कारण पनि हामी कमजोर बन्न पुग्यौं र सरकार हामीले भनेकाे नमान्ने भएको छ ।’ सहकारी संस्थाबाट ऋण लिएर चुनाव लडेका सांसदहरु सहकारीको विरुद्धमा लागेको उनको भनाई छ ।

‘बैंकले विना धितो ऋण दिँदैन, चुनावमा सहकारीबाट विना धितो ऋण लिएर नतिरेका सांसदहरु सहकारीको विरुद्धमा छन्,’ उनी भन्छन्,‘ऋण नतिरेपछि प्रक्रिया अनुसार पत्रपत्रिकामा नाम छापिएपछि कतिपय सांसदहरु यसको विरुद्ध लागेका हुन् । सहकारी संस्थाहरुमा भनसुन् चल्दैन । नियम अनुसार जाँदा त्यस्तो भएको छ ।’ उनले सहकारी संस्थाहरु पनि आफु राम्रो बन्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए । ‘हामीले अर्कोलाई नराम्रो बनाउने भन्दा पनि आफु राम्रो बन्नेमा ध्यान दिनुपर्छ । आफु राम्रो भएर सदस्यहरुको विश्वास जितेर अगाडि बढेमा सहकारी संस्थाहरु गतिशील हुन सक्छन्,’ उनले थपे ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, प्रारम्भीक संस्थाका तर्फबाट गोपाल पौडेलले सहकारी अभियानलाई सार्थक र सफल बनाउनका लागि सबै सहकारी संस्थाहरु हातेमालो गर्न आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले जिल्लामा बहुउद्देश्यीय सहकारी संस्थाहरुले उद्देश्य अनुसार काम गर्न सुझाव दिए ।‘जिल्लामा अधिकांस बहुउद्देश्यीय सहकारी संस्थाहरु उद्देश्य अनुसार काम गरेका छैनन् पहिले उद्देश्य अनुसार काम गर्नुस्,’ शिरीषले भने,‘कतिपयले काम गर्ने प्रयास गरे पनि सफल देखिएको छैन । डुबेका छन् । यस विषयमा गम्भीर भएर समीक्षा गर्नुहोस् ।’

तालिमममा बागलुङ, म्याग्दी र पर्वतबाट गरी करिब एक सय बहुउद्देश्यीय सहकारी संस्थाबाट दुई सय बढिको सहभागिता थियो । तालिममा सहकारी ऐन सम्बन्धी बहुउद्देश्यीय सहकारी संघका केन्द्रीय अध्यक्ष सुरेन्द्र भण्डारी र सम्पत्ती सुद्धिकरण सम्बन्धी राष्ट्र बैंकका उप निर्देशक हरिकुमार नेपालले सहजीकरण गरेका थिए। धौलागिरिका बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई उद्देश्य अनुसार काम गर्न प्रेरित गर्ने र नयाँ सहकारी ऐनबारे जानकारी गराउने उद्देश्यले यो तालिमको आयोजना गरिएको बहुउद्देश्यीय जिल्ला सहकारी संघका अध्यक्ष दुर्गा कुँवरले बताए । संघकी जिल्ला उपाध्यक्ष कुशुम बुढाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव रुद्र केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung