१३ कार्तिक २०८३, बिहीबार

 

केबलकारले जोडिँदै पञ्चकोट

बागलुङ। जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्य पञ्चकोट अब केबलकारले जोडिने भएको छ । बागलुङ नगरपालिकाको अगुवाइ र स्थानीयको सेयरमा बनाउन लागिएको केबलकारका लागि चिनियाँ कम्पनीले अध्ययनसमेत गरिसकेको छ ।

चीनको ‘बेइजिङ गुडयु रोपवे इन्जिनियरिङ कम्पनी’ले प्रारम्भिक अध्ययन गरी केबलकार बनाउन सकिने प्रतिवेदन दिएको हो । एक महिनाको अध्ययनपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत रुआन बिआइओले प्रतिवेदन सार्वजनिक गरेका छन् । ‘यो केबलकार बने भौतिक र धार्मिक महत्वका हिसाबले स्थानीयलाई नै फाइदा पुग्छ,’ उनले भने, ‘ठूला कम्पनीलाई लगानी गर्न लगाउनुभन्दा स्थानीयकै लगानी भए दिगो हुन्छ । नाफा गाउँमै रहन्छ ।’ कम्पनीले प्राविधिक काममा सघाउने जनाएको छ । केबलकार निर्माण र फिटिङ दुवै काम गर्दै आएको कम्पनीले चीन, भारत र बङ्गलादेशमा दर्जनौं योजना सम्पन्न गरेको बिआइओले दाबी गरे । नेपालमा भने पहिलोपटक आएको कम्पनीले काम थालेको एक वर्षभित्र केबलकार तयार पारिदिने प्रतिबद्धता जनाएको छ ।

साढे २ किमि केबलकारका लागि ७ सय १० मिटर उचाइको संरचना निर्माण हुनेछ । दैनिक ३ हजार जनासम्म आउजाउ गर्न मिल्ने भएकाले धार्मिक पर्यटक बढ्दा २ वर्षमा नाफा कमाउन सकिने कम्पनीका प्रतिनिधि बताउँछन् । कम्तीमा ५० करोड रुपैयाँ लागत अनुमान गरिएको परियोजना आसपासमा भौतिक संरचना, अन्य पर्यटकीय आकर्षणका क्षेत्रसमेत तयार पार्दा ८० करोड खर्च हुने जनाइएको छ । यसका लागि बागलुङ नगरपालिकाको वडा नं. ४, ५ र ६ तथा बजारबासीलाई १० हजारदेखि १ लाख रुपैयाँको सेयर किन्न आग्रह गरिने वडा नं. ४ का अध्यक्ष धु्रवबहादुर केसीले बताए । ‘यो अभियानले हाम्रो नगरको गौरव बढ्ने हो, त्यसैले सबैलाई बुझाएर लगानी गर्न भन्नेछौं,’ उनले भने, ‘विकासका सम्भावनाबारे सबैलाई बताउँदा यो सम्भव पनि हुनेछ ।’ सेयर संकलनबाट निर्माण गर्दा नाफा जिल्लामै रोक्न सकिने उनले बताए ।

केबलकार कम्तीमा ३० वर्ष सञ्चालन क्षमताको हुने जनाइएको छ । नगरप्रमुख जनकराज पौडेलका अनुसार १ सय ८ फिट अग्लो कलशसहित धार्मिक गन्तव्य निर्माण गर्न लागिएको पञ्चकोटको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । ‘यसमा केबलकार परियोजना थप सहयोगी बन्नेछ,’ उनले भने ।
पाँच वर्षदेखि सहायक पूर्वाधार निर्माण भइरहेको पञ्चकोटमा आगामी वर्ष मुख्य कलश निर्माण थाल्न गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले संघीय सरकारका लागि समपूरक कोषमा बजेट मागसमेत गरेको छ । मन्त्रालयले तेस्रो प्राथमिकतामा पञ्चकोटको पूर्वाधार निर्माणका लागि ३२ करोड रुपैयाँ अर्थ मन्त्रालयमा माग गरेको उद्योग, पर्यटन तथा वनमन्त्री विकास लम्सालले बताए । १० करोडभन्दा ठूलो रकमको योजनालाई प्रदेश सरकारले संघीय अर्थ मन्त्रालयमा समपूरक कोषका लागि सिफारिस गर्न सक्ने प्रावधान छ । डिपिआरमा ३२ करोडमा कलश बनाउने उल्लेख छ । तामाको कलश बनाइने भएकाले खर्चिलो हुने सर्वसिद्धिधाम पञ्चकोट निर्माण अभियानका प्रतिनिधि अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । यो स्थान पर्यटक आकर्षित गर्ने जिल्लाकै पहिलो गन्तव्य बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung