
बागलुङ । जिल्लाकै जेठो विद्यालय विद्यामन्दिर माविको बालविकास कक्षामा निःशुल्क खाजाको व्यवस्था गरिएको छ । विद्यालयका पूर्वविद्यार्थी तथा नागरिक सञ्चार प्रालिका अध्यक्ष पुष्पमान श्रेष्ठले मंगलबार निःशुल्क खाजा कार्यक्रम शुभारम्भ गरे ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले बालबालिकाको दिगो तथा गुणस्तरीय शिक्षामा सघाउन ३० हजार रुपैयाँसमेत विद्यालयलाई हस्तान्तरण गरे ।
‘विद्यालयको आधारभूत जग बलियो बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न यो अभियान सुरु भएको हो,’ उनले भने ।
अब कक्षा १ र विशेष बाल कक्षाभन्दा थप एक कक्षा माथिकाले निःशुल्क खाजा पाउनेछन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवासचन्द्र राजभण्डारीले अध्यक्षता गरेको कार्यक्रममा प्रधानाध्यापक जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघका सचिव राम थापा अविरल, विद्यालय भवन निर्माण समिति सदस्य कृष्णराज शर्मा,
बागलुङ उद्योग वाणिज्य संघका सदस्य अर्जुन चोखाल, नेपाल उघोग वाणिज्य महासंघ केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठलगायत सहभागी थिए । कार्यक्रमको सञ्चालन विद्यालयका पूर्वविद्यार्थी मुकेश राजभण्डारीले गरेका थिए ।
बागलुङ नपा–३ राधाकृष्ण टोलस्थित १९९७ सालमा स्थापित विद्यालयमा पूर्वविद्यार्थी र शिक्षाप्रेमीहरूको सहयोगमा गत वर्षदेखि बालविकास कक्षा सुरु गरिएको हो ।
यस वर्ष थप कक्षाको तयारी हुँदै छ । अहिले बालविकास कक्षामा २५ र विशेष बालकक्षामा २० विद्यार्थी छन् । शिक्षिकाको तलब र खाजा पूर्वविद्यार्थीकै सहयोगमा जोहो हुँदै आएको छ ।
गत वर्ष ६ लाख रुपैयाँ खर्च लागेका कक्षाका लागि यस वर्ष १० लाख लाग्ने अनुमान गरिएको छ । उक्त रकम पूर्वविद्यार्थी, शिक्षाप्रेमी र अभिभावकबाट जुटाइनेछ ।