धनुषा । भाउजुसँगको अवैधसम्बन्धका कारणले श्रीमतीलाई आगो लगाएर खुलेको छ । धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनको उपचारका क्रममा १६ गते काठमाडौंमा मृत्यु भएको थियो ।
घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् ।
मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ । पक्राउ देवर–भाउजुबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
प्रहरीका अनुसार मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेशमा छन् । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।
मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।



















































































































































































































