बागलुङ । अपराध अनुसन्धान गर्दा प्रहरीले धेरै तरिकाबाट अपराधीलाई नियन्त्रणमा लिने प्रयास गर्छ । यस क्रममा कहिलेकाँही प्रहरी आफै पनि प्रत्यक्ष आपराधिक घटनामा समेत संलग्न भएर अपराधीलाई नियन्त्रणमा लिन्छ । यस्तै अभिनय गरी प्रहरीले लागूऔषध सम्बन्धी कारोबारीहरुलाई नियन्त्रण गर्न खोज्दा उल्टै कारोबारीहरुले प्रहरीकै पैसा गायब गरेका छन् ।
यस्तो थियो घटना
बागलुङ प्रहरीले गत फागुनदेखि लागूऔषध दुर्व्यसनी अन्त्यका लागि अनुसन्धान टोली खटाएर सक्रिय रुपमा काम गरी सफलता समेत हात पारेको थियो । यस क्रममा एक दिन प्रहरीले लागूऔषधको व्यापारमा संलग्न व्यक्तिलाई रङ्गे हात पक्राउको योजना बुन्यो । त्यसैले प्रहरी लागूऔषध कारोबारीकोमा पुग्न आफै लागु औषध प्रयोगकर्ता भई खरिद गर्न भनी जिल्लाको सिमाना मालढुङ्गामा पुग्यो ।
प्रहरी निरीक्षक रामभक्त भट्टराईको अनुसन्धान टोलीले नियन्त्रणमा ल्याएको एक सेवन कर्तालाई लागूऔषध खरिद गर्नका लागि प्रहरीले साढे दश हजार रुपैयाँ दियो । प्रयोगकर्ताले प्रहरीकै अगाडि लागूऔषध खरिद गर्नका लागि उक्त रकम लागूऔषध कारोवारी राजकुमार भन्ने एक व्यक्तिलाई दिए । कारोबारी राजकुमारले लागुऔषध केही क्षणमा ल्याइदिन्छु भन्दै फोन नम्बर दिएर निस्के तर न राजकुमार लागूऔषध ल्याए न त उनको फोन नैं सम्पर्क हुनसक्यो । उल्टै उनी प्रहरीको पैसा लिएर भाग्न सफल भए । प्रहरीको कारोबारी आउला र रङ्गेहात समातौंला भन्ने सपना त टुट्यो नैं उल्टै पैसा समेत फस्यो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले मंगलबार कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा लागूऔषधका विषयमा आफूले गरेको कामको प्रगति सुनाउने क्रममा प्रहरीकै पैसा गायब भएको खुलासा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयल बागलुङले लागूऔषधमा फसेका युवाहरुलाई सुधार्न सक्रिय भएर लाग्ने क्रममा विभिन्न अनुभव बटुलेको हो । बागलुङ जिल्लाका प्रहरी उपरीक्षक कृष्ण हरि शर्माले विशेष टोली खटाएर लागूऔषध सम्बन्धी सचेतना, नियन्त्रण तथा लागूऔषध प्रयोगकर्ताहरुलाई सुधार्न तल्लिन भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाभर लागूऔषध सेवन गर्ने युवा–युवतीहरुको खोजी गर्ने, प्रयोगकर्ताको तथ्याङ्क संकलन गर्ने, लागूऔषध सेवन कर्ताको घरमै गएर अभिभावकलाई जानकारी दिने, सझाई बुझाई गर्ने जस्ता कार्यक्रमहरु गर्दै आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शर्माले जानकारी दिए ।
‘सामाजिक विकृतिको रुपमा रहेको लागूऔषध सजिलै नियन्त्रण गर्न सकिदैंन,’ शर्माले भने ‘सेवन कर्तालाई सम्झाउने, सुधार केन्द्र पठाउने, अभिभावकको जिम्मा लगाउने र लागूऔषधको कारोवारमा फसेकाहरुलाई मुद्दासमेत चलाउँदै आएका छौं ।’ लागूऔषध सेवन कर्ता र बेचबिखन गर्ने कुरा अलग कुरा भएको भन्दै शर्माले लागूऔषध बेचबिखन ठूलो गिरोह बागलुङमा नभएको दावी गर्दै खुद्रे व्यापारीहरु मात्र पाइएको जानकारी दिए । प्रहरी निरीक्षकसहितको टोलीले लागूऔषध प्रयोगकर्ता, ओसार पोसार लगायतको अनुसन्धान गर्दै युवालाई सुधार गर्न लक्षित कार्यक्रम पनि गर्दै आएको छ।
प्रहरीले विशेष टोलीनै खटाएर लागूऔषध रोकथाम तथा नियन्त्रण अभियान संचालन गरिरहेको जिल्लामा पहिलोपटक भएको प्रहरीले दावी गरेको छ । प्रहरीले हालसम्म जिल्लामा गरेको लागूऔषध अनुसन्धानकोक्रममा प्रहरीले पहिलो चरणमा ४० जनाको घरमा पुगी अभिभावको रोहवरमा सम्झाउने गरिएको थियो भने दोस्रो चरणमा २७ जना दुर्व्यसनीलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा ल्याइएका मध्ये १३ जनालाई अविभावकलाई जानकारी गराई जिम्मा लगाइएको, ६ जनालाई उनीहरुको उमेर तथा अवस्थालाई मध्यनजर गर्दै विभिन्न सुधारकेन्द्रमा पठाइएको र ८ जनालाई कानुन बमोजिम कार्वाहीको दायरामा ल्याइएको थियो । हाल प्रहरीले सेवनकर्ता तथा संभावित बिक्रीकर्ता गरी २० जनालाई तारिकमा राखेको बताएको छ ।
प्रहरीले लागूऔषध किनबेच तथा ओसार पोसार गर्न असहज होस भन्दै लागूऔषध प्रयोगकर्ताले प्रयोग गर्ने चारवटा मोटर साइकल समेत नियन्त्रण्मा ल्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘हामीले प्रयोगकर्ताको गहिराईसम्म पुगेर दुर्व्यसनीबाट हटाउने प्रयास गरिरहेका छौं ,’ शर्माले भने ‘केही प्रयोगकर्ताहरु पुरानै अवस्थामा समेत फर्काइएको छ। ’













































































































































































































