६ जेष्ठ २०८१, आईतवार

 

काठेखोलामा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

जिल्लाको काठेखोला गाउँपालिका— १, पाला करिनाकी ८२ वर्षिय नन्दकली किसान लौरो टेकेर आफ्ना नातिसँग बिहिबार गाउँपालिकाको अक्षेते बजार आईन । हातमा लौरी र नातिको साहारामा उनी ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य जाँच गर्नका आएकी थिईन ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिककालागि लक्षितगरी संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा किसानले आफ्नो स्वास्थ्य जाँच गराईन । उनलाई आँखा र पेटमा समस्या थियो, आफ्नै घर आँगनमा शिविर संचालन भएर डाक्टरसमक्ष आफ्ना समस्या राख्न पाउँदा उनले खुशी व्यक्त गरिन्।

‘आँखा जाँचपश्चात चस्मा पनि लिएकी छु’ उनले भनिन, ‘बागलुङ बजारको अस्पतालमा जानका लागि समस्या थियो निःशुल्क जाँच गर्न पाउने भएपछि नाति केटालाई लिएर आएको छु । मेरो आँखाको समस्याबाहेक अन्य कुनै पनि छैन भनेर डाक्टरले भन्नु भएको छ । बेलैमा आफ्नो स्वास्थ्य अवस्था बारे थाहा पाएँ ।’ ‘अब त ढुक्क छु ।’

विपन्न समुदायकी किसान स्वास्थ्य जाँचका लागि हजारौं खर्च गरेर सदमुकाम धाउनुपर्ने थियो तर गाउँमा नैं शिविर सचालन भयो आफुले स्वास्थ्य जाँच गर्न पाउँदा उनलाई बल्ल देशमा विकास भएको महशुस गरेको बताईन ।

शिविरमा नाक, कान, घाँटी, मुटु, आँखा र सामान्य चिकित्सक सेवा प्रदान गरिएको थियो । बिहिबार उक्त शिविरबाट ३ सय जना विरामीले सेवा लिएको काठेखोला गाउँपालिका – १ का वडा अध्यक्ष खड्क थापाले बताए । ति मध्ये १ सय जनालाई चश्मा वितरण गरिएको थियो । शिविरमा अधिकांस विरामी प्रेसर, सुगर, नाककान र आँखाका रहेका गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकालले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले बागलुङको काठेखोला गाउँपालिकामा मात्र हैन, प्रदेश भित्रका १० जिल्लामा जेष्ठ नागरिककालागि लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । मन्त्रालयले मनाङ बाहेकका अन्य जिल्लामा शिविर संचालन गरेको स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले जानकारी दिए ।

मन्त्रालयको आर्थिक सहयोग र ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश र हरेक जिल्लाका स्वास्थ्य कार्यालयको समन्वयमा शिविर संचालन गरिएको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुशिला आचार्यले बताईन ।

कास्की जिल्लाबाट सुरु गरिएको अभियान अहिलेसम्म सात जिल्लामा सम्पन्न भईसकेको छ । म्याग्दी, पर्वत र मुस्ताङमा पनि जेठ २० गते भित्र शिविर संचालनका लागि तयारी भईरहेको आचार्यले बताईन । प्रदेश सरकारको ज्येष्ठ नागरिक लक्षित बजेटबाट हरेक जिल्लाका ज्येष्ठ नागरिकहरुलाई उपचारमा केही सहज पुर्‍याउने उद्देश्यले मन्त्रालयबाट शिविर संचालन गरिएको हो ।

हालसम्म शिविर संचालन भएको सात जिल्लामा १ हजार ५ सय ४० ज्येष्ठ नागरिकहरुको उपचार गरिएको छ ।

ज्येष्ठ नागरिकहरु समाजको धरोहर भएका कारण उनीहरुको स्वास्थ्यप्रति परिवार र समाजले चासो लिनुपर्ने काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । उनले उमेर ढल्कँदै जाँदा ज्येष्ठ नागरिकहरुमा हरेक स्वास्थ्य समस्या बढदैं जाने हुँदा स्वास्थ्यको ख्याल गर्नका लागि उपस्थित आमाबाबुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य दिपक प्रसाद तिवारी, ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष गुमानसिंह कार्की, सदस्य नरेन्द्र थापा, लगायतले बोलेका थिए । कार्यक्रम काठेखोला गाउँपालिका—२ वडा अध्यक्ष विद्यापती शर्माको अध्यक्षता गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुशिला आचार्यको स्वागत र अधिकृत देवी शर्माको संचालनमा सम्पन्न भएको थियो ।

शिविरमा धौलागिरी अञ्चल अस्पतालका डाक्टर रञ्जित सापकोटा, डा। शर्मिला ढकाल, गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुजु जम्मरकट्टेल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. लक्ष्मी अर्याल लगायतका चिकित्सकहरु उपचारमा सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्