२१ जेष्ठ २०८३, बिहीबार

 

बागलुङमा मात्र बाँचेको ‘जोगी नाच’

शिरमा मुकुट, हातमा कमण्डलु, घाँटीमा रुद्राक्षको माला । अनुहार र शरीरभरि विभिन्न रङले शिवजीको तस्बिर पोतिएको छ । शरीरभरि शिवलिंग र सर्पको आकृति देखिन्छ । एउटा हातले डमरु र घण्टी बजाउँदै अनि अर्को हातले लट्ठी टेक्दै गरेका । तल्लो भागमा गेरु वस्त्र लगाएका । सबै जना ढोलक र झ्यालीमा ताल मिलाएर नाच्छन् । कतिपयले जोगीले जस्तै घरघरमा पसेर भिक्षा मागिरहेका छन् ।

यो बागलुङ बजारमा प्रदर्शन गरिएको लोपोन्मुख जोगी नाचको दृश्यवर्णन हो । नाच संरक्षणमा स्थानीय नेवार समुदाय निकै सक्रिय छ । विशेषतः शाक्यहरूले मात्र नाच्ने नाच जगाउन समुदाय नै लागेको छ ।

२५० वर्ष पुरानो इतिहास

करिब अढाई सय वर्ष पुरानो जोगी नाच भक्तपुरबाट बागलुङ भित्र्याइएको हो । अहिले भक्तपुरमै लोप भइसकेको छ । बागलुङमा भने हरेक वर्ष प्रस्तुत गरिन्छ । यो नाच अहिले बागलुङमा मात्रै प्रचलनमा रहेको संस्कृतिविद् एवं शाक्य कल्याण समाज बागलुङका पूर्वअध्यक्ष मुकुन्द शाक्य बताउँछन् । ‘भदौरे जात्राका अन्य नाच नेवार र विशेष गरी शाक्य जाति भएका सबैजसो ठाउँमा पाइन्छ,’ उनले भने ।

भदौरे नाचअन्तर्गत जनै पूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म विभिन्न नृत्य देखाइन्छ । जोगी नाचको सुरुआत कसरी भयो भन्नेबारे कुनै विश्वसनीय प्रमाण भेटिएको छैन । ‘यो समयबाट नै सुरु भएको भन्ने अहिलेसम्म यकिन छैन,’ शाक्य भन्छन्, ‘पर्वतका राजाले व्यापार–व्यवसाय गर्ने र विभिन्न भाँडा–बर्तन बनाउने शाक्य र नेवार समुदायलाई भक्तपुरबाट ल्याएपछि बागलुङमा करिब सात पुस्तादेखि यो नाच नाच्न थालिएको सामान्य लिखतहरूमा भेटिन्छ ।’

मौलिक सीप र ताल

जोगीको भेषमा नाच्दा पनि सीप र ताल उत्तिकै आवश्यक पर्छ । यसको लागि तालिम नै लिनुपर्छ । भदौरे नाचका विभिन्न प्रकिया सकिएपछि अब तीर्थव्रत जानुपर्छ भनेर जोगी नाच नाच्ने गरिएको स्थानीय युवा मञ्जुल शाक्य बताउँछन् । उनी पनि जोगी नृत्य गर्छन् । ‘बर्खायाममा गर्ने सबै कामलाई हामी नृत्यमार्फत भदौरे जात्रामा देखाउँछौं,’ पत्रकारसमेत रहेका उनले भने, ‘अब सबै काम सकियो, तीर्थव्रतका लागि जाऔं भन्ने सन्देशस्वरूप जोगी नाच नाँच्ने गरिएको छ । त्यसैले यो अन्तिममा नाचिन्छ ।’

पहिल्यैदेखि नेवारी समुदाय व्यापारिक घरानाका रूपमा देखिन्छ । जहाँजहाँ व्यापार–व्यवसाय फस्टाएको छ, त्यहाँ नेवारहरूको उपस्थिति प्रशस्तै छ । बर्खा सकिएको संकेत गर्दै गाउँगाउँबाट मानिलाई बजारसम्म ल्याउन यो नाच प्रदर्शन गरिएको पाइन्छ । ‘भदौ लाग्दा गाउँघरमा सबै काम सकिएर चाडबाड आउन सुरु हुन्छ,’ शाक्यले भने, ‘नाच देखाएर मानिसलाई आकर्षण गर्ने र त्यसैको मेलोमा व्यापार बढ्ने भएकाले यस्तो नचाउन सुरु भएको किंवदन्ती छ ।’ यो नाच हेर्न गाउँबाट मानिसहरू ‘राममेला हेर्न जाने’ भन्दै सदरमुकाम आउने गरेका छन् ।

जोगाउन चुनौती

पूर्वजहरूको धरोहरका रूपमा रहेको जोगी नाच यहाँ पनि लोप हुने क्रममा छ । यसलाई जोगाउन आफूहरू लागिपरे पनि निकै गाह्रो भइरहेको मुकुन्द शाक्यले बताए । ‘अहिलेको प्रविधिको विकासले गर्दा यसलाई जोगाउन निकै चुनौतीपूर्ण बन्दै गएको छ,’ उनी भन्छन्, ‘अहिले रमाइलो गर्ने साधन प्रशस्त भेटिए । संस्कार–संस्कृतिका लागि कलाकार पाउनै गाह्रो छ । पुरानो पुस्ता सकिँदै जाँदा र नयाँ पुस्ताले सजिलै ग्रहण नगर्दा समस्या छ ।’ बसाइँ सराइको क्रम बढेको र नयाँ युवालाई पर्याप्त तालिम व्यवस्था गर्न नसक्दा जोगी नाच हराउने चिन्ता बढेको उनले सुनाए । ‘यो बचेको बागलुङमा मात्रै हो, कलाकार नभएपछि यहाँ पनि हराउने चिन्ता छ,’ उनले भने, ‘म्याग्दीले केही सिको गर्न खोजिरहेको छ तर तालिम दिन नपाउँदा सजिलो छैन ।’

नयाँ पुस्ता उत्पादन गर्ने योजना

‘दिनभरि नचाएपछि बेलुका भोकै पठाउन भएन । नाच्ने र बजाउनेका लागि केही खर्चको जोहो पनि गर्नैपर्छ,’ मुकुन्द शाक्यले भने, ‘त्यसैका लागि सडकमा नाचसँगै पैसा उठाउने गरिन्छ ।’ तालिम दिनका लागि नगरपालिकामा प्रस्ताव पठाएको उनले बताए । उनका अनुसार २०/२५ दिनको तालिम राखेर नयाँ पुस्ता उत्पादन गर्ने योजना छ ।

पुराना सांस्कृतिक नृत्यहरू हराउन नदिन आफूहरू सक्रिय भएको बौद्ध युवा संघ बागलुङका अध्यक्ष जोह्न वज्राचार्य बताउँछन् । ‘हामीले जोगाउनुपर्छ भने सक्रियता बढाएका छौं,’ उनले भने, ‘अहिले पढाइ र राम्रो अवसरका लागि यहाँबाट बाहिर जाने चलनले गाह्रो भइरहेको छ । पुरानो पुस्ताले संरक्षण गर्दै आएको संस्कृति संरक्षणमा हाम्रो पनि उत्तिकै दायित्व छ । अब नयाँ पुस्ता यसमा लाग्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung