चार महिनापहिलेसम्म बरेङ गाउँपालिका–२ हुग्दीशिरका हिराबहादुर पुन परम्परागत रूपमा स्थानीय जातका कुखुरा पाल्थे । अब भने व्यावसायिक रूपमै पालन गर्नुपर्ने दबाब परेको छ । आफ्नै नेतृत्वमा गाउँमा सञ्चालन गरिएको सामुदायिक घरबासले यस्तो अवसर जुराएको हो ।
सोही गाउँका अरू चार परिवारलाई पनि स्थानीय जातका कुखुरा जोहो गर्नुपर्ने बाध्यता छ । बाँझिँदै गएको बारी उर्वर बनाउनुपर्ने दबाब पनि छ । तिनमा कोदो फलाउनु छ ।
घरबासमा आउने पर्यटकले स्थानीय जातको कुखुरा र कोदोको ढिँडो (हलुवा) खोज्ने गरेकाले उनीहरूलाई व्यावसायिक कृषि गर्ने अवसर जुट्दै छ । पर्यटकले यी परिकारको मूल्य पनि राम्रै तिर्छन् । सिग्दी सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको चार महिना मात्रै भयो । अहिलेसम्म १ सय जनाभन्दा धेरै पुगिसकेका छन् ।
‘हाम्रो घरबासमा आउने सबैले कोदोको ढिँडो र लोकल कुखुराको झोल खाने भन्नुहुन्छ,’ पुनले भने, ‘टाढाटाढाबाट स्थानीय स्वादका लागि यहाँ आउने धेरै छन् ।’ केही दिनपहिला पोखराबाट बजारीकरणका लागि बरेङ पुगेको बतास कम्पनीको समूह बरेङडाँडामा रहेका होटलको बास छोडेर घरबासमा पुग्यो । उनीहरू लोकल कुखुराको झोल र कोदोको ढिँडो खानकै लागि गएका थिए ।
गुल्मीको सिमानासँग जोडिएको बरेङमा बागलुङ, पर्वत, पोखरा र गुल्मीबाट भन्दा धेरै पर्यटक बुटवलबाट आउने गरेका छन् । केही पक्की र कच्ची सडकको यात्रामा बरेङ पुग्ने सबैको रोजाइ स्थानीय खाना हुने गर्छ । ठूलो बजार नरहेको गाउँपालिकामा घुम्नदेखि कामविशेषले आउनेहरूको आश्रयस्थल बनेको छ घरबास ।
‘हामीसँग ठूलो बजार छैन न त सुविधासम्पन्न होटल छन्’ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘घुम्न र कामका लागि आउनेलाई सहज बनाउनकै लागि घरबास सञ्चालनमा ल्याएका हौं ।’
गाउँपालिकाले १० लाख रुपैयाँ खर्चेर घरबासमा सांस्कृतिक कार्यक्रमका लागि सभाहल बनाइदिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको अनुदान रकम पदमार्गमा खर्चिइएको उनले बताए । ‘हाम्रो प्राकृतिक सम्पदा कौडेको धुरी हो, त्यहाँ घुम्न जानेलाई सहजताका लागि पदमार्ग बनाएका छौं,’ शर्माले भने, ‘यस धुरीबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।’
यहाँँबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, कास्की, पर्वत र म्याग्दीसम्म देखिन्छ । सिग्दी घरबासमा एकै पटकमा ३० जनासम्म पर्यटक बस्न सक्छन् । स्थानीय जंगलमा पाइने अमिलो स्वाद भएको वनस्पति बाँकोको गुन्द्रुक यहाँको अर्को विशेषता हो । ‘कतिले त कुखुरा र ढिँडो खाएर गुन्द्रुक बोकेर जानुहुन्छ,’ घरबास सञ्चालक मीनबहादुर पुनले भने, ‘सिरम्ले मकैको पनि व्यापार बढेको छ ।’
घरबास सञ्चालनका लागि यहाँ जनशक्ति अभाव छैन । युवा पुस्ताको समेत चासो र सक्रियता रहेकाले अर्को घरबासको तयारी थालिएको गाउँपालिकाले जनाएको छ । ‘यसरी नै चाप बढिरह्यो भने अहिलेको घरबासले मात्रै धान्दैन, पर्यटन वर्ष २०२० मनाउनु छ,’ शर्माले भने, ‘हामीले वातावरण बनाइदिने हो । अर्को घरबास पनि चलाउने कि भन्ने छलफल भइरहेको छ ।’
घरबास सञ्चालनपछि आर्थिक गतिविधि बढेको र केहीले रोजगारीसमेत पाएको शर्माले बताए । बरेङका अग्ला पहाडहरूबाट धौलागिरि, माछापुच्छे«, अन्नपूर्णलगायत दर्जनौँ हिमशृंखला देख्न सकिन्छ । मनमोहक सूर्योदय र सूर्यास्तको दृश्यसमेत देख्न पाइने भएकाले पर्यटक आउने गरेको स्थानीय पुष्पा पुनले बताइन् । कौडेधुरीनजिकै डाँडामा भ्यु–टावर निर्माण गरिएको छ । सत्यवती मन्दिर, पौराणिक दरबारका अवशेष र प्राकृतिक सम्पदा यहाँका मुख्य आकर्षण हुन् ।
















































































































































































