३ कार्तिक २०८३, सोमबार

 

मनसुन दसैँसम्म नै रहने सम्भावना– जल तथा मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभागले केही दिनयता बङ्गालको खाडीबाट निरन्तर रूपमा जलवाष्पयुक्त हावा आइरहेकाले मनसुन दसैँसम्मै रहन सक्ने जनाएकाे छ ।

पूर्वी भागमा दक्षिणपूर्वी जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने अनुमान छ । विभागका अनुसार मनसुन सकिन जुन किसिमको वातावरण आवश्यक पर्थ्याे, अहिले त्यो देखिएकाे छैन ।

तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्नेमा अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताए ।
पश्चिमी वायु सक्रिय भएलगत्तै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्थ्याे तर यस वर्ष १० दिन ढिलो गरी ९ जुन (असार ५)  मा मनसुन भित्रिएको थियो । गत वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । यसअनुसार दसैँको सुरुआती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।

हाल देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung