४ जेष्ठ २०८१, शुक्रबार

 

दगाकोतको पूर्णिमा मेलामा सरायँको आकर्षण

बडिगाड (बागलुङ)
गण्डकी प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढाले मौलिक संस्कृति नेपालको पहिचान भएको भन्दै त्यसको संरक्षण र जागरणमा युवा लाग्नुपर्ने बताएका छन् । बडिगाड–१ दगामा पूर्णिमा मेला उद्घाटन गर्दै उनले गण्डकी प्रदेश पर्यटन, विद्युत् र कृषीको आधुनिकीकरणको माध्यमबाट समृद्ध बन्न खोजेको भन्दै त्यसका लागि व्यावसायिकतातर्फ लाग्न सबैलाई आह्वान गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णुप्रसाद भुसालले कलासंस्कृतिमा दगा अगाडि रहेको भन्दै त्यसको संरक्षणमा युवा खटिएकोमा प्रशंसा गरे । चिसापानी युवा क्लबले गरेको कार्यक्रममा परम्परागत रूपमा नाचिँदै आएको सराय नृत्य, भैलो, भजन, झाँकी प्रस्तुत गरिएको थियो । त्यस्तै २३ गतेदेखि चलेको मेलामा खुला पुरुष भलिबल प्रतियोगिता चलिरहेको छ ।

गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा प्रचलित सरायँ नाच बागलुङ पश्चिम बडिगाडका केही स्थानमा नाच्ने गरिन्छ । त्यसमध्ये दगाकोतमा पूर्णिमामा हुने सरायँ नाचलाई विशेष मान्ने गरिन्छ । वीररसयुक्त उक्त नाच विजयोत्सवका रूपमा नाचिन्छ । उक्त नाच हेर्न र नाच्न बागलुङका दगातुन्डाँडा, जलजला, सिसाखानी, रिघा, ग्वालीचौर तथा गुल्मीका पौदिअमराई, बामीटक्सार, मुसीकोटलगाएत स्थानका बासिन्दा पुग्छन् । दगामा डेढ सय वर्षदेखि सरायँ नाचिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्