भारतमा कहलिएका न्यायाधीश मानिन्छन् बीआर कृष्णा अय्यर । उनको पूरा नाम वैद्यनाथन रामाकृष्णा अय्यर हो । स्वतन्त्र भारतमा उनी केरल राज्यको पहिलो कानुनमन्त्री रहे । पछि सर्वाेच्च अदालतको न्यायाधीश बन्न पुगे । सुरुका दिनमा वामपन्थी राजनीतिमा आस्था राख्ने उनले न्यायसम्पादनमा त्यसको प्रभाव पर्न दिएनन् । सर्वोच्चमा सात वर्ष रहँदा उनले करिब ४ सय मुद्दा किनारा लगाए ।
उनले गरेका कतिपय फैसला अहिले पनि नजिर बन्ने गरेका छन् । खास गरी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र राजनारायणबीचको मुद्दा चर्चित छ । उनले प्रधानमन्त्री गान्धीलाई हराइदिएका थिए । यो फैसलाले भारतको न्यायप्रणालीमा छुट्टै इतिहास रच्न सफल भयो । सर्वाेच्चमा छँदा अय्यरले प्रत्येक साता एउटा न एउटा मुद्दाको फैसला गरेकै हुन्थे । यो तुलनात्मक रूपमा समकक्षीभन्दा दोब्बर काम हुन्थ्यो । वरिष्ठ अधिवक्ता प्रशान्त भूषणका पिता शान्ति भूषणका अनुसार अय्यर स्वच्छ दिल र दिमाग भएका छरिता न्यायाधीश थिए । उनले गरेको फैसलाले न्यायालयलाई कहिल्यै बदनाम गराएन ।
सर्वाेच्च अदालत (सुप्रिम कोर्ट) ले संविधानको पालना मात्र नभएर संरक्षण गर्ने हैसियत राख्छ । संविधानले प्रत्येक पल आफैंलाई सुरक्षित महसुस गरिरहेको हुन्छ । त्यसको पृष्ठभूमिमा न्यायाधीशहरूको विवेक र तजबिज रहन्छ । अय्यर त्यस्तै न्यायाधीशमध्ये हुन् । भारतमा उनको उपमा ‘महान् जज’का रूपमा छ ।
नियतिले एक दिन उनलाई लोकतन्त्रको सबैभन्दा ठूलो मालिक बनाइदियो । जब उनले लोकतन्त्र बचाउन निर्णय गर्नुपर्ने थियो, त्यो दिन बेन्च थिएन । तर अदालतमा उनी मात्र थिए । गान्धीविरुद्ध राज नारायणको केस आयो । इलाहाबाद हाई कोर्टले प्रधानमन्त्री गान्धीको चुनावी जितलाई असंवैधानिक ठहर गरिसकेको थियो । त्यसले भारतको शासन व्यवस्था नै कालो इतिहासमा बदलिएको थियो । संकटकाल लागू गरिएको थियो ।

हाई कोर्टको फैसलाले स्तब्ध कांग्रेस पार्टी, गान्धी, सरकार र कानुनमन्त्री एचआर गोखलेका बीच एउटै मात्र उपाय थियो । हाइकोर्टविरुद्ध सर्वाेच्चको ढोका ढकढक्याउने । मामिला अय्यरसामु पेस हुँदै थियो । एचआर गोखले र अय्यरबीच पुरानै दोस्ती थियो । त्यही नाताले गोखले उनीसँग भेट्न गए । तर अय्यरले उनलाई भेट दिएनन् । सरकारका तर्फबाट अदालतमा मुद्दा परेको जनाउँदै अस्वीकार गरिदिए । उनले कारण पनि दिए, ‘अहिले सरकारले दर्ता गरेको मुद्दा कोर्टमा छ । त्यसैले भेट गर्नु उचित छैन । तपाईंको आशय मैले बुझिसकेँ । माफ गर्नुहोला अहिलेलाई ।’
यता लोकतन्त्रमा संवैधानिक संकट आइपरेको थियो । अर्काे दिन बिदा रहेकाले त्यही दिन सुनुवाइको तिथि तय गर्नु थियो । बेन्चमा अय्यर एक्लै थिए । उनका लागि यो अग्निपरीक्षाकै क्षण थियो । बिदाको भोलिपल्ट अय्यरका सामुन्ने कहलिएका दुई वकिल उपस्थित हुँदै थिए । गान्धीका तर्फबाट नानी पालकीवाला र विपक्ष राजनारायणका तर्फबाट शान्ति भूषणले बहस गर्दै थिए । आफ्नो संस्मरणमा अय्यरले लेखका छन्– ‘पालकीवालाका तर्कबाट प्रभावित नभइरहन एकदमै मुस्किल थियो । उनको भाषा, तर्कशीलता र प्रमाण अकाट्य नै थिए ।
अर्का पैरवीकर्ता शान्तिभूषण पनि तुफानी तर्कसहित पैरवी गर्न मसहुर थिए । दुवैसामु यति तर्क र प्रमाण थिए, आगो भर्भराएजसरी घण्टौं प्रस्तुत गर्न सक्षम थिए ।’ अय्यरले दुवै पक्षका पैरवीकर्तासँग जिज्ञासा राखे– ‘कति समय आवश्यक पर्ला, बहसका लागि ?’ जवाफ थियो– २÷२ घण्टा ।
२÷२ घण्टाको समय यसरी निस्किँदै थियो, मानाैं त्यहाँ कौरव र पाण्डवबीच अन्तिम युद्ध हुँदै थियो । अय्यर र वकिलहरूले दिउँसो भोजन नै नगर्ने निर्णय गरे । बिहान १०ः३० मा सुरु भएको बहस साँझ ५ बजे मात्र सकियो ।
न्यायाधीश अय्यरले भोलिपल्ट फैसला दिने निर्णय गरे । ऐतिहासिक महत्त्वको मुद्दाको फैसला के होला भनेर देशैभर कौतूहल थियो । अय्यरले घर पुगेर राति फैसला लेखे । त्यसबीच उनलाई प्रलोभनसहित कैयौं अफर गरिए । उनका विश्वासपात्र न्यायाधीशहरू नै खटाइए । तर उनी आफ्नो विवेक र अडानबाट टसमस भएनन् । फैसला लेखे । साथै हजारौं कपी वितरणका लागि तयार गरे ।
बाहिरी दुनियाँ भोलिको व्यग्र पर्खाइमा थियो । तर त्यो कस्तो हुन्छ, अय्यरलाई मात्र थाहा थियो । उनले गोखलेलाई भेट अस्वीकार गरेकाले विपक्षीलाई आशाको झिल्को थियो । नभन्दै उनीहरूको दियोमा भोलिपल्ट तेल बनेर आयो फैसला । जीवनकै अहम् फैसला अय्यरले सहज भएर सुनाए । तर त्यसको असर असहज हुन पुग्यो ।

प्रधानमन्त्री इन्दिरा गान्धीको लोकसभा सदस्यता नै बाँकी रहेन । एकाएक भारतको संवैधानिक इतिहासमा कालो बादल मडारियो । अय्यरले आफ्नो जीवनीमा लेखेका छन्– ‘म यस संकटको अवस्थामा पर्न चाहन्नथेँ । गान्धीले मौलिक अधिकारको हनन गर्दै आपत्काल लगाएकोमा सहकर्मी न्यायाधीश पीएन भगवती र वाइबी चन्द्रचूड़ले त्यसलाई संवैधानिक ठहर गरेपछि विरुद्धमा उत्रिनु बाध्यता थियो ।’
भारतको स्वतन्त्रतापछि उनी एक मात्र यस्ता व्यक्ति बने जसलाई जेलको बन्दी जीवनसँगै मन्त्री र सर्वाेच्च अदालतमा न्यायाधीश बन्ने अवसर पनि प्राप्त भयो । सन् १९४८ मा कम्युनिस्ट गतिविधिमा लागेको आरोपमा उनी पक्राउ परेका थिए । तर मद्रास सरकारले आरोप पुष्टि गर्न नसकेपछि एक महिनामा रिहा गरिए । अय्यरका कति फैसला न्यायजगतमा मसाल बनेर चम्किरहेका छन् । साम्यवादी हुनुका बाबजुद उनी गान्धी र नेहरूबाट पनि प्रभावित थिए । भारतमा त्यति बेलासम्म कैदीलाई जन्जिरमा राख्ने चलन थियो । त्यसलाई उनैले बन्द गराएका थिए ।
(एजेन्सीको सहयोगमा )













































































































































































































