१० कार्तिक २०८३, सोमबार

 

कमजोर नेतृत्व र बहुमतप्राप्त जनमत

- विचार

नेतृत्व राजनीतिक रूपमा मात्र नभई सामूहिक रूपमा गरिने जुनसुकै कर्म र व्यवहारका लागि आवश्यक पर्छ । परिवार, समाज, संस्था वा दलमा त झनै पर्ने नै भयो । जनमत वा बहुमतबाट छानिएको, चुनिएको वा स्वतः नेताका रूपमा अग्रसर हुने व्यक्ति नै नेतृत्वको हकदार हुन्छ र उसले जिम्मेवारी बहन गर्नुपर्छ ।

संसारभरिको नेतृत्व चयनकाे प्रक्रिया यही नै हो । राज्य सञ्चालनका दौरानमा पनि विभिन्न तहमा नेतृत्वको आवश्यकता पर्छ ।

राजा मरे पनि राज्य अड्कँदैन भन्ने उखानबाट बुझ्न कर लाग्छ, नेतृत्व एक छिन खाली हुने स्थितिमा पुग्दैन । कोही न कोही जन्मन्छ नै ।

तर आजको नेपाली समाजको अवस्था हेर्दा जुनसुकै कोणबाट नेतृत्वको दुर्दशा देखिन्छ । नेपालको विगतदेखि वर्तमानसम्मको परिस्थिति केलाउने हो भने सधैँ  कुशल नेतृत्वको संकट देखिन्छ । यो क्रम २००७ सालको क्रान्तिदेखि नै चलिआएको छ ।

हामी जसलाई नेता मान्छाैं, आँखा चिम्लेर नेतृत्वको जिम्मेवारी सुम्पन्छौँ, तिनले  कुशल तरिकाले सम्हाल्न नसकेकाे अवस्था छ । अहिले पनि हामीलाई अनेकौँ समस्याले गाँजेको छ । नेता बन्न के–कस्ता गुणको आवश्यकता पर्छ भन्ने कुरामा हामीले कहिल्यै विचार पुर्‍याएकै छैनौँ । फलतः हामीले नेतृत्वको अक्षमता अँगाल्दै आएका छाैं ।

नेपाल लामो समयदेखि एकल नेतृत्वकाे सरकारको अभ्यासमा रह्यो । त्यसले अपेक्षित विकास भने हुन सकेन । एउटै प्रजातान्त्रिक कालमा दलको बहुमतकाे सरकार पनि फापेन । यो नेपाली राजनीतिको कटु यथार्थ हाे। बेलाबखत बाध्यात्मक संयुक्त सरकार नेपालको विशेषता बन्न पुग्यो । सत्ता र स्वार्थकेन्द्रित राजनीति अर्को नयाँ राजनीतिक संस्कार बन्यो ।

अहिले बहुमतप्राप्त सरकार छ । तर दुईवर्षे कार्यकालमा पनि ऊ कतै न कतै मिल्ने र ढल्किने चरित्रमा मात्र रह्याे ।  अर्थात्, स्वतन्त्र र स्वायत्त शैलीमा स्वविवेक प्रयोग गरेर सरकारले काम गर्न सकेको छैन ।

यस्तो किन भयो त ?

यसको उत्तरकाे कल्पना यसरी गर्न सक्छाैं– ‘प्रतिपक्ष कमजोर भएर हो । नागरिक समाज नै मौन छ । सरकार तानाशाही बन्न खोजेर यस्तो भएको हो । विदेशी दबाब र हस्तक्षेप नै प्रमुख कारण हो । सरकार चर्चा मात्र चाहन्छ आदि ।’

हामी केमा चुक्यौँ ?

हामीले नेपाललाई समग्रतामा हेर्दा यसभित्रको मौलिकता के छ भनेर हेर्नुपर्छ । बहुसंख्यक जनता के चाहन्छन्,  समाजमा कुन कुरा/मुद्दाले प्रभाव पारेको छ भनेर हेर्नुपर्ने आवश्यकता छ । नेपालको संस्कृतिको मूल आधार के हो ? सहिष्णुताका आधार के हुन् ? त्यो हुनुपर्छ । र त्यसैअनुसार निर्णय गरियो भने चिरस्थायी नतिजा निस्कन्छ पनि ।

अर्कातिर राजनीतिक परिपक्वताको अभावमा विकासको मार्ग फराकिलो बन्न सक्तैन । नेपालमा आजसम्म मुलुकको सर्वांगीण विकासका लागि चाहिएको सही नेतृत्व कस्तो हो भन्ने सबालमा खासै बहस हुन सकेको पनि छैन ।

इतिहासले भन्छ, ‘नेपालको आजसम्मको शासकीय राजनीति सत्ताप्राप्तिको वरिपरि मात्र केन्द्रित रह्यो । नेतृत्व निर्माण वा विकासको सबालमा मनग्गे बहस हुनुपर्ने हो तर यस मुद्दामा न सार्वजनिक रूपमा न त राजनीतिक दलभित्र वा आन्तरिक रूपमै बहस भएकाे छ ।’

यो सत्य हो कि असल नेतृत्वबिना कुनै पनि राज्यको विकास सम्भव छैन । राज्यभित्रै पनि स्थानीय तहदेखि नै सक्षम नेतृत्व भयो भने मात्र राष्ट्रिय नेतृत्व शक्तशाली हुन्छ । अन्यथा नेतृत्वमा दुर्बलता आई सडकमा गाडी चलाइरहेको ड्राइभरले आत्तिएर भिरतिर गाडी लगेजस्तै देश पनि असहज परिस्थितिको जन्जिरमा पर्दछ ।

यसपछि देशका आर्थिक, सामाजिक र मानवीय सञ्जालहरूमा नै खलबल पुग्दछ । माथिका गन्थनलाई नीलाम्बर आचार्यको दुई वर्ष पुरानो एक भनाइले सायद पुष्टि गर्ला । आचार्य लेख्छन्–

‘नेतृत्व कुशल हुनुपर्छ । व्यवस्थापन दक्ष हुनुपर्छ । लक्ष्य प्रस्ट हुनुपर्छ । साधन र बाटो उपयुक्त अपनाउनुपर्छ। संस्था र पद्धति राम्रो र बलियो बनाउनुपर्छ । पद्धतिमा काम हुनुपर्छ । प्रक्रिया मिच्न हुँदैन । नियममा रहनुपर्छ– सफलता आउँछ ।’

हो, नेतृत्व नै राष्ट्रको सर्वोच्च भाग्यनिर्माता हो भन्नेमा दुईमत छैन । र, कमजोर नेतृत्व–निर्माण प्रक्रिया झन् घातक कुरा हो ।

०००

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung