प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङले जिल्लाको काठेखोला-२ भिमापोखरामा सेवाकेन्द्र विस्तार गरेको छ । यसअघि संस्थाले सदरमुकाम बागलुङ बजारबाट मात्रै सेवा प्रवाह गर्दै अाएकाे थियाे । भिमापोखरा बहुउद्देश्यीय सहकारी संस्था र प्रगति बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरणपछि त्यहाँ सेवाकेन्द्र राखिएकाे हाे ।
सहकारीले शनिबार भीमापोखरामा आयोजना गरेको अन्तरक्रियामा सहभागीहरूले सहकारी सदस्यकेन्द्रित व्यवसाय भएको भन्दै अब उत्पादनमुखी काममा लाग्नुपर्नेमा जोड दिए । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले सहकारी उत्पादनमुखी काममा लाग्नुपर्ने भन्दै आर्थिक रूपान्तरणका लागि आय आर्जन गर्नुपर्ने बताए ।
‘समृद्ध नेपाल, सुखी नेपालीको चाहना पूरा गर्न पनि उत्पादनमा नलागी सुखै छैन,’ अध्यक्ष थापाले भने, ‘पूर्वाधार र विकासका काम हामी गर्छाैं, तपाईं उत्पादनमा लाग्नुहोस् । बाटोघाटो र खानेपानीका काम हामीले गर्ने हो, बाँझा जग्गालाई हराभरा बनाउने काम तपाईंहरूको हो ।’
कार्यक्रममा प्रगति सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेलले कृषकसँग सहकारी कार्यक्रम उत्पादनमा जोडिनकै लागि अगाडि सारिएको बताए । किसानलाई सहुलियत दरमा लगानी गर्ने सहकारीको कार्यक्रम रहेकाले समूहगत रूपमा पनि काम गर्न सकिने उनले जानकारी दिए ।
उनले सेवा केन्द्रमार्फत भिमापोखराका सेयर सदस्यहरूलाई सुविधा प्रदान गर्न अब यहीँबाट दैनिक कारोबार गर्न लागेको बताए ।
उक्त अवसरमा काठेखोला–२ का अध्यक्ष विद्यापति शर्माले वडाका जनताले उत्पादन गरेका वस्तु संकलन गरी विक्रीको व्यवस्था मिलाउनुपर्ने बताए । जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले सहकारी पनि आर्थिक मेरुदण्ड भएकाले आयआर्जनमार्फत रूपान्तरण गर्नुपर्नेमा जाेड दिए ।
ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम, शिक्षक चन्द्रमणि शर्मा, सेयर सदस्य रामप्रसाद शर्मा, मुकुन्द कार्की, भीमबहादुर केसी, माया थापालगायतले सेयर सदस्यहरू आर्थिक उपार्जनका लागि पनि उत्पादनसँग जोडिनुपर्ने र त्यसका लागि सहकारीले सहजीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाबारे अतिथिहरूले सहजीकरण गरेका थिए । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव उदयचन्द्र चपाईले र स्वागत सेवा केन्द्रका प्रमुख नारायणदत्त रेग्मीले गरेका थिए ।



















































































































































































































