दक्षिण अफ्रिकामा उत्पत्ति भएको सलह किरा भारत हुदै नेपालमा प्रवेश गरेको छ। स्थानीय कृषकका अनुसार भारतसँग सीमा जोडिएका बारा र पर्सामा कीराका समूह देखिएका छन् ।
बैशाख महिनामा भारतको राजेस्थान, र हरियाणमा देखिएको भनिएको उक्त किरा यतिवेला एकाएक नेपालमा देखिएको छ । स्थानिय कृषक मार्फत नयाँ किसिमको किरा देखिएको जानकारी बाराका कृषि कार्यलयका कर्मचारीले कृषि मन्त्रालयमा जानकारी गराएका छन् ।
सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी गराएको बाराका कृषि कर्मचारीले जानकारी गराए । पर्साका स्थानिय युवा सञ्जय पटेलले किरा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिका क्षेत्रमामा देखिएको बताए ।
यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै कृषि मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको जानकारी गराएको छ ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो। सलह किरा (फट्याङ्ग्रा) वर्गको कीरा हो।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो कीराको नाम सलह दिएको हो । नेपालमा पाईने परम्परागत फट्याङ्ग्रा भन्दा केही भिन्न र झुण्डमा हिड्ने यो किराले बालीनालीमा आक्रमक रुपमा क्षति पुरयाउँछ ।
यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ खाइदिन्छ । यो किराको बथान एक दिनमा १ सय किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्ने किरा बिशेषज्ञ सुमन अर्यालको भनाई छ ।
किराको नेपाल प्रवेशको बिषयलाई लिएर कृषि मन्त्रालयले सर्तकताका उपाय कसरी अपनाउन सकिन्छ भनेर ध्यान आकृष्ट भएको जनाएको छ । मन्त्रालयका प्रवक्ताले शनिवार भएपनि मन्त्रालयका कर्मचारी र स्थानिय कर्मचारी बीच प्रबिधिमय छलफल गर्न लागेको जानकारी गराएका छन् ।













































































































































































































