५ जेष्ठ २०८१, शनिबार

 

आदर्श सञ्चारको १४औं वार्षिक साधारणसभा सम्पन्न

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । यस वर्षदेखि एकाइगत रूपमा साधारणसभा थालेको सहकारीले शनिबार काठेखोला गाउँपालिकाको केन्द्र बिहुँमा कार्यक्रम गरेको हो ।

साधारणसभा उद्घाटन गर्दै संस्थाका पूर्वअध्यक्ष एवम् काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले समाजमा आर्थिक समृद्धिका लागि सहकारीले इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

पछिल्लो समय सहकारीको संख्या अधिक देखिएको र कतिपय सहकारी शिथिल अवस्थामा रहेकाले अब ‘मर्ज’ गर्नुपर्नेमा उनले जोड दिए ।

उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार डिलबहादुर कार्की, काठेखोला गाउँपालिका–७ वडाध्यक्ष प्रेम लामिछाने, भीमसेन क्याम्पस बिहुँका प्रमुख बालकृष्ण कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभाले सचिव ललिता थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीले पेस गरेको आर्थिक प्रतिवेदन र लेखा संयोजक थानेन्द्रप्रसाद गौतमले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मतिमा पारित गरेको छ

।अहिले आदर्श सहकारीमा २ हजार २ सय २८ जना सेयर सदस्य, ४ करोड ५१ लाख सेयर पुँजी, ३२ करोड निक्षेप र २८ करोड कर्जा लगानी भएको संस्थाका कोषाध्यक्ष कार्कीले बताए ।

कार्यक्रममा सम्पादक रामबहादुर जीसीले संस्थाको रणनीतिक योजना तथा सदस्यको भूमिका र वार्षिक योजनाबारे प्रस्ट्याउँदै अब आदर्शले आर्थिक कारोबारसँगै स्वास्थ्य, पर्यटन, कृषिलगायत क्षेत्रलाई जोडेर अभियान केन्द्रित गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्