२३ बैशाख २०८१, आईतवार

 

निसीखोला बचत तथा ऋण सहकारी र सिवाईसी एकीकरण हुने

बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसीखोला बचत तथा ऋण सहकारी र सिवाईसी बचत तथा ऋण सहकारी एकीकरण हुने भएका छन् ।  निसीखोला बचत तथा ऋण सहकारीको १० वार्षिक साधारण सभामा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकीकरण गर्न सर्वसम्मत निर्णय भएको हो ।

एकीकरण पश्चात एकीकृत संस्था सिवाईसी साकोसको कुल सम्पति १ अर्ब ८० करोड पुग्ने भएको छ ।

कार्यक्रममा निसिखोला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव भुमिराज आचार्यद्वारा प्रस्तुत आ .व.०७६/०७७ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र शाहीले प्रस्तुत गरेको ०७६÷०७७ आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि चण्डिप्रसाद शर्मा पौडेलले हाल देशभर सहकारी संस्थाहरु धेरै भएको र सबै सहकारी संस्थाहरुले सदस्यहरुको चाहना अनुरुप सेवा प्रदान गर्न नसक्ने भएकोले संस्था एकीकरण गरी अव्बल सहकारी संस्था बनाई सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

पौडेलले निसिखोला साकोसँग एकीकरण गरी त्यस क्षेत्रका सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि २०७७ माघ १ देखी सेवाकेन्द्र संचालन गरी सिवाईसी र निसिखोला साकोसको एकीकृत कारोबार शुरु गर्ने बताए ।

नेफस्कुनका संचालक एवं बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको प्रमुख आतिथ्यता, निसिखोला साकोसका अध्यक्ष हुतराज भुषालको अध्यक्षता रहेको कार्यक्रमको संचालन संस्थाका सचिव भुमिराज आचार्यले गरेका थिए ।

कार्यक्रममा सिवाईसी साकोसका उपाध्यक्ष गण्डकी थापा अधिकारी, कोषाध्यक्ष सीतादेवी सापकोटा कँडेल, संचालक सदस्य मेषलाल शर्मा , ढोरपाटन सदस्य सेवाकेन्द्र संयोजक कृष्ण केसी, प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्