६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ बहुउद्देश्यीय सहकारीको १९औं साधारणसभा सम्पन्न

बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै संस्थाका संरक्षक देवबहादुर श्रेष्ठले सहकारीले पछिल्लो समय राम्रो प्रगति गरेको बताए ।

उनले सेयर सदस्यको आर्थिक स्तर उकास्न सघाउनुपर्नेमा जोड दिए । ‘पछिल्ला दिन यो संस्थाले राम्रो प्रगति गरेको छ,’ उनले भने, ‘आगामी दिनमा सेयर सदस्यहरूलाई प्रगति गर्न सिकाउन संस्था सक्षम बनोस् । ’

कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडाध्यक्ष लक्ष्मी बास्कोटा, निर्वाचन समितिका संयोजक अधिवक्ता काजी गाउँले श्रेष्ठ, ग्रिन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, एकता सहकारीका अध्यक्ष ध्रुवप्रसाद शर्मा, सेयर सदस्य साहित्यकार काजी रोसन, सल्लाहकार दिलबहादुर कार्की, सेयर सदस्य रामप्रसाद श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाकी कर्मचारी कल्पना शर्मा र प्रबन्धक यज्ञप्रसाद शर्मालाई सम्मान गरिएको थियो । सञ्चालकतर्फ सचिव योगनाथ शर्मा कँडेल र सहचिव उषा पौडेललाई सम्मान गरिएको थियो ।

संस्थाले गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ६४ लाख ९४ हजार ९ सय ३७ रुपैयाँ बचत संकलन गरेको छ । संस्थामा ६ सय ४९ सेयर सदस्यमार्फत १ करोड ६६ लाख ६० हजार सेयर पुँजी रहेको छ ।

संस्थाले गत वर्ष १ करोड ९ लाख ७ हजार ३ सय ४१ रुपैयाँ खुद मुनाफा कमाएको संस्थाका कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । अधिवेशनले फेरि अशोक गोविन्द राजभण्डारीकै अध्यक्षतामा सर्वसम्मत सञ्चालन समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष दुर्गादत्त आचार्य, सचिवमा हरिप्रसाद गौतम, सहसचिव उषा पौडेल, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा अर्जुन घिमिरे, रघुनाथ राजभण्डारी, निर्मला जीसी, दर्शनप्रसाद श्रेष्ठ, लक्ष्मी शाक्य, सरिता थापा, कृष्ण शर्मा र विश्वास राजभण्डारी निर्विरोध चयन भएका छन् । लेखा समितिको संयोजकमा रामचन्द्र शर्मा, सदस्यमा राजनकुमार श्रेष्ठ र विष्णुकुमारी लम्साल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्